सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बहुमत प्रतिनिधि जहाँ छन्, वास्तविक पार्टी त्यहीँ हुन्छ’

आइतबार, २७ पुस २०८२, १९ : ५०
आइतबार, २७ पुस २०८२

सारांश

  • पूर्वअर्थमन्त्री महेश आचार्यले विशेष महाधिवेशन पक्षधरको विजय भएको बताए।
  • उनले पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई नदी र पुलको संज्ञा दिए।
  • आचार्यले युवा नेताहरूले मुलुक र पार्टी रूपान्तरणको कार्यभार सम्हाल्नुपर्नेमा जोड दिए।

काठमाडौँ | नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीको विशेष महाधिवेशन पक्षधरको विजय भएको उद्घोष गरेका छन्। राजधानीमा सुरु भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले विधिको शासन चाहनेहरूको जित भएको दाबी गरे।

आचार्यले पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको सम्बन्धलाई नदी र पुलको संज्ञा दिँदै रोचक टिप्पणी गरे। उनले पार्टी नेतृत्व (पुल) र आम कार्यकर्ता (नदी) अलग भएर बस्न नसक्ने तर्क गरे। ‘पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची-महाकालीका प्रतिनिधिहरू नदीको रूपमा अर्कातिर हुने अवस्था रहन सक्दैन,’ उनले भने, ‘नदी र पुल सधैँ सँगै हुनुपर्छ, बहुमत प्रतिनिधि जहाँ छन्, वास्तविक पार्टी त्यहीँ हुन्छ।’

उनले यो महाधिवेशनले पार्टीभित्र विधान र विधिको पुनर्स्थापना गरेको जिकिर गरे। अबका दिनमा पार्टी हिजोको जस्तो ढर्रामा नचल्ने र कुनै पनि पदाधिकारीले बहुमत प्रतिनिधिको भावनालाई बेवास्ता गर्ने आँट गर्न नसक्ने उनको चेतावनी थियो। विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि यो उपस्थिति एउटा बलियो आधार बनेको उनले बताए।

कार्यक्रममा आचार्यले मुलुकको भविष्य र पार्टीको रूपान्तरणका लागि युवा नेताहरूले अबको कार्यभार सम्हाल्नुपर्नेमा जोड दिए। महाधिवेशनले तय गर्ने नयाँ विधिले नै आगामी दिनमा काँग्रेसलाई जनतामाझ बलियो बनाएर लैजाने विश्वास उनले व्यक्त गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप