विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
सारांश
- नास्टले स्वदेशमै विकसित 'मुनाल' उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ।
- यो उपग्रहलाई भारतको श्रीहरिकोटाबाट इसरोको रकेटमार्फत प्रक्षेपण गरिनेछ।
- 'मुनाल' को मुख्य उद्देश्य वनस्पति अनुगमन, प्रविधिको परीक्षण र एआईमा आधारित तथ्यांक प्रशोधन गर्नु हो।
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह (स्याटेलाइट) प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह आज (सोमबार) बिहान १० बजेर ३२ मिनेट जाँदा अन्तरिक्षमा प्रक्षेपण हुनेछ । यसको प्रक्षेपण छिमेकी मुलुक भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) को ‘रकेट’ मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा मुनाललाई अन्तरिक्षमा पठाउन लागिएको हो ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको यो उपग्रहको मुख्य उद्देश्य वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्यांक प्रशोधन गर्नु हो । विद्यार्थीहरूले आफ्नै देशमा बसेर यति ठूलो प्रविधिको विकास गर्नुले नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ आयाम थपेको छ ।
अन्तरिक्षमा पुगेपछि उपग्रहको सञ्चालन तथा नियन्त्रण ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ । भारतीय समयअनुसार १० बजेर १७ मिनेटमा र नेपाली समयअनुसार १० बजेर ३२ मिनेटमा हुने यो प्रक्षेपणका लागि नेपाली वैज्ञानिक र विद्यार्थीहरूको टोली उत्साहित देखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण