२५ वर्ष यताकै न्यून मूल्यवृद्धि लाग्यो उकालो
काठमाडौँ । कात्तिकमा २५ वर्ष यताकै न्यून अवस्थामा रहेको मूल्यवृद्धि दर मंसिरदेखि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा बढेर १.६३ प्रतिशत पुगेको हो ।
यसअघि कात्तिक महिनामा यस्तो मूल्यवृद्धि दर १.११ प्रतिशत थियो, जसअनुसार एकै महिनामा मूल्यवृद्धि दर ०.५२ प्रतिशत विन्दुले बढेको पाइएको छ ।
केही समयदेखि देशमा मूल्यवृद्धिदर घट्दो क्रममा थियो । कात्तिकको मूल्यवृद्धि दर २०५७/५८ सालपछिकै सबैभन्दा कम थियो, तर मंसिरमा बढेको हो ।
तीन वर्षदेखि बजारमा मूल्यवृद्धि तुलनात्मक रूपमा न्यून विन्दुमा छ । एक वर्षदेखि बजारमा मूल्यवृद्धि दर घट्दो क्रममा रहँदै आएको छ । गत मंसिरमा मूल्यवृद्धि दर ६.०५ प्रतिशत थियो, त्यसयता मूल्यवृद्धि वार्षिक विन्दुगत मुद्रास्फीति दर कात्तिकसम्म निरन्तर घट्दै आएको छ ।
- कुन महिना कति थियो मूल्यवृद्धि ?
राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ मंसिरदेखि मूल्यवृद्धि दर क्रमश: घट्न सुरु भएको हो । पुसमा ५.४१ प्रतिशत, माघमा ४.१६ प्रतिशत, फागुनमा ३.७५ प्रतिशत र चैतमा ३.२९ प्रतिशत मूल्यवृद्धि भएको थियो ।
यो गिरावट २०८२ सुरु भएपछि पनि जारी नै रह्यो, जसअनुसार वैशाखमा मूल्यवृद्धि दर २.७७ प्रतिशत, जेठमा २.७२ प्रतिशत, असारमा २.२० प्रतिशत, साउनमा १.८७ प्रतिशत, भदौमा १.६८ प्रतिशत, असोजमा १.४७ प्रतिशत र कात्तिकमा सबैभन्दा न्यून अर्थात् १.११ प्रतिशतले मुद्रास्फीति भएको थियो ।
तर मंसिरमा भने एक वर्षपछि पहिलोपटक मूल्यस्तर उकालो लाग्दै यो दर १.६७ प्रतिशत पुगेको हो । यो वृद्धिले एक वर्षदेखि निरन्तर घट्दै गएको प्रवृत्तिमा ब्रेक मात्रै लागेको छैन । मुद्रास्फीति दरभन्दा ब्याजदर माथि पुगेर नकारात्मक मुद्रास्फीतिको अवस्था आउने सम्भावनासमेत देखिएको छ ।

- कसरी बढ्यो मूल्यवृद्धि, कुन क्षेत्रमा कस्तो छ अवस्था ?
अहिले मूल्यवृद्धि हुनुमा दुई वटा कारण मुख्य कारण देखिन्छन् । पहिलो खाद्य तथा पेय पदार्थको मूल्य गिरावटमा आएको कमी र गैरखाद्य तथा सेवाजन्य क्षेत्रको मूल्यवृद्धि दर बढ्नु ।
कात्तिकमा खाद्य तथा पेय पदार्थको मूल्य ३.३२ प्रतिशत नकारात्मक रहेको थियो । मंसिरमा यो दर २.०५ प्रतिशत नकारात्मक रह्यो । मूल्यवृद्धि दर नकारात्मक नै रहे पनि यसको दरमा गिरावट आएका कारण औसत मुद्रास्फीति दर बढेको देखिन्छ ।
अर्कोतिर, गैरखाद्य तथा सेवा क्षेत्रको मूद्रास्फीति कात्तिकमा ३.६९ प्रतिशत रहेकोमा यो दर बढेर ३.७५ प्रतिशत पुगेको छ । ६४.५१ प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्रको मूल्यवृद्धि दर बढ्दा यसले पनि समग्र मुद्रास्फीतिलाई बढाएको देखिन्छ ।
खाद्य पदार्थमा मूल्यह्रास घट्नुमा खाद्य तथा पेय पदार्थ, तरकारी, घ्यु तथा तेल एवं चिनी तथा चिनीजन्य पदार्थको मुख्य योगदान छ । यो अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य गिरावटको क्रम कम भएको छ । कात्तिकमा ३.३२ प्रतिशत नकारात्मक रहेकोमा यो २.०५ प्रतिशत नकारात्मक अवस्थामा आएको छ ।
यसमध्ये तरकारीको मूल्य १४.४३ प्रतिशतबाट ८.५४ प्रतिशत नकारात्मक अवस्थामा झरेको छ । घ्यु र तेलको मूल्य सकारात्मक रहेकोमा यो दर बढेर ५.२५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुगेको छ । चिनीजन्य पदार्थको मूल्य ०.६१ प्रतिशत नकारात्मकबाट घटेर ०.३६ प्रतिशत नकारात्मक अवस्थामा झरेको छ । फलफूलको मूल्य कात्तिकमा २.२० प्रतिशत नकारात्मक रहेकोमा मंसिरमा १.०६ प्रतिशतमा झरेको छ ।
अन्न, दाल र गेडागुडी तथा मासु तथा माछाले भने मूल्य गिरावटमा थप सहयोग गरेको छ । कात्तिकमा अन्न ४.३९ प्रतिशत नकारात्मक रहेकोमा ४.६२ प्रतिशत नकारात्मक अवस्थामा झरेको छ । दाल तथा गेडागुडीमा ७.८५ प्रतिशत नकारात्मक रहेकोमा मंसिरमा ८.४३ प्रतिशत नकारात्मक अवस्थामा झरेको छ । अल्कोहलजन्य पदार्थको मूल्य ३.६१ प्रतिशतबाट ३.५६ प्रतिशतमा झरेको छ ।
अर्कोतिर कुल भारको ६४.५१ प्रतिशत हिस्सा ओगट्ने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि मंसिरमा ३.७५ प्रतिशत पुगेको छ, जुन कात्तिकमा ३.६९ प्रतिशत थियो । यस क्षेत्रमा यातायात र सञ्चार क्षेत्रले मूल्यवृद्धि बढाउन मुख्य भूमिका खेलेका छन् । यातायातको मूल्यवृद्धि १.८६ प्रतिशत पुगेको छ भने सञ्चार क्षेत्रमा १.४२ प्रतिशतको वृद्धि देखिएको छ ।
विविध वस्तु तथा सेवा समूहमा भने १८.५६ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको छ । यो अघिल्लो महिना १५.१७ प्रतिशत थियो । यसले उपभोक्ताको विविध खर्चमा ३.३९ प्रतिशतको थप भार थपेको देखिन्छ ।
बजारमा केही क्षेत्रको मूल्य भने स्थिर देखिएको छ । आवास तथा उपयोगिता १.१८ प्रतिशत, स्वास्थ्य २.५५ प्रतिशत, मनोरञ्जन र संस्कृति २.१० प्रतिशत, शिक्षा ७.५६ प्रतिशत र रेस्टुरेन्ट तथा होटल ३.१३ प्रतिशतको मूल्यवृद्धि दर कात्तिककै हाराहारीमा स्थिर छ ।

- किन बढ्न थाल्यो मूल्यवृद्धि ?
अहिले मूल्यवृद्धि दरमा सुधार हुनुको मुख्य कारण भारतको मूल्यवृद्धि रहेको देखिन्छ । अक्टोबरमा ०.२५ प्रतिशत रहेको मुद्रास्फीति दर नोभेम्बरमा ०.७१ प्रतिशत पुगेको थियो । डिसेम्बरमा यो दर १.६६ प्रतिशत पुगेको अनुमान गरिएको छ, यसको प्रत्यक्ष प्रभाव नेपालको मुद्रास्फीतिमा रहेको विश्लेषकहरू बताउँछन् ।
दोस्रो कारण, बेसलाइन प्रभाव हो । अघिल्लो समय कुनै वस्तुको मूल्य धेरै घटबढ भयो र अर्को समयमा त्यो रोकियो भने यसले दिशा परिवर्तन गरेको जस्तो अवस्था देखाउँछ, यसैलाई बेसलाइन इफेक्ट भनिन्छ ।
मंसिरको मुद्रास्फीति दरमा केही समूहको अवस्थाले यसैलाई संकेत गरो छ । खासगरी घट्दो मूल्यवृद्धि रहेका केही वस्तुको मूल्य घट्ने क्रम यसपटक कम भएको छ । मूल्य घटिरहे पनि यसले औसत मुद्रास्फीति दरलाई तलतिर तान्ने क्षमता भने घटाएको देखिन्छ, यही कारणले समेत मूल्य बढ्न थालेकोजस्तो देखिएको बताइन्छ ।
अर्थविद् नरबहादुर थापा भने फरक हिसाबले विश्लेषण गर्छन् । उनका अनुसार एक महिनाको तथ्यांककै आधारमा मुद्रास्फीतिको दिशाबारे विश्लेषण गर्नु हतार हुने बताउँछन् । उनका अनुसार कम्तीमा तीन महिनाको ट्रेन्ड हेरेपछि मात्रै यसको आगामी बाटो र कारणबारे व्याख्या गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण