सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

सोमबार, २८ पुस २०८२, २२ : १९
सोमबार, २८ पुस २०८२

 गाजा । गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको हत्या गरेपछि हमासले आफ्नो नेतृत्व पुनर्निर्माणका लागि आन्तरिक निर्वाचन गर्ने तयारी गरिरहेको छ । नेतृत्व चयनबारे हमासका एक नेताले एएफपीसँग भने, “जमिनको परिस्थितिले अनुमति दिएका उपयुक्त समयमा नेतृत्वको निर्वाचन गर्न आन्तरिक तयारी भइरहेको छ ।

नेतृत्वका लागि आन्तरिक निर्वाचन ‘सन् २०२६ को पहिलो केही महिनाभित्र’ हुने अपेक्षा गरिएको छ । सन् २०२३ अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको युद्धको क्रममा समूहको अधिकांश शीर्ष नेतृत्व ध्वस्त भएको छ।

युद्धले गाजा पट्टीलाई पनि तहसनहस पारेको छ, जसका कारण यहाँका २० लाखभन्दा बढी बासिन्दाहरू गम्भीर मानवीय अवस्थामा परेका छन् । नेतृत्व नवीकरण प्रक्रियामा नयाँ ५० सदस्यीय शूरा काउन्सिलको गठन पनि समावेश हुनेछ, जुन धार्मिक व्यक्तित्वहरूको प्रभुत्व रहेको परामर्शदाता निकाय हो।

यसका सदस्यहरू प्रत्येक चार वर्षमा हमासका तीन शाखाहरूः गाजा पट्टी, इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैङ्क र हमास आन्दोलनको बाह्य नेतृत्वद्वारा चयन गरिन्छ ।

नेतृत्वका लागि इजरायली जेलमा रहेका हमासका कैदीहरू पनि मतदान गर्न योग्य हुनेछन् । युद्धअघि आयोजित अघिल्लो चुनावको समयमा गाजा र वेस्ट बैङ्कका सदस्यहरू मस्जिदसहित विभिन्न स्थानहरूमा शूरा काउन्सिल छनौट गर्न भेला हुन्थे।

त्यो परिषद प्रत्येक चार वर्षमा १८ सदस्यीय राजनीतिक ब्यूरो र हमासको समग्र नेताको रूपमा काम गर्ने यसका प्रमुखहरू चयन गर्न जिम्मेवार हुन्छ । यस प्रक्रियासँग नजिक रहेको हमासको अर्को स्रोतले भन्यो, “हाम्रा जनताले जुन परिस्थितिबाट गुज्रिरहेका छन् यस समयमा राजनीतिक ब्यूरो चुनाव अनिश्चित छ ।

इजरायलले सन् २०२४ जुलाईमा तेहरानमा हमासका पूर्व प्रमुख इस्माइल हनियेहको हत्या गरेपछि उक्त समूहले गाजाका तत्कालीन प्रमुख याह्या सिनवारलाई आफ्नो उत्तराधिकारीको रूपमा चयन गरेको थियो ।

इजरायलले सिनवारमाथि अक्टोबर ७ को आक्रमणको योजनाकार रहेको आरोप लगाएको छ । उनी हनियेहको हत्याको तीन महिनापछि गाजाको दक्षिणी शहर राफामा इजरायली सेनाको आक्रमणमा मारिएका थिए ।

त्यसपछि हमासले इजरायलको निशानामा पर्ने जोखिमलाई मध्यनजर गर्दै चुनाव नभएसम्म एकल नेताको नियुक्ति स्थगित गर्यो र कतारमा रहेका पाँच सदस्यीय अन्तरिम नेतृत्व समितिको विकल्प रोजेको थियो ।

स्रोतका अनुसार अहिले दुई व्यक्तिहरू, खलील अल–हैया र खालिद मेशाल, राजनीतिक ब्यूरोको प्रमुखको रूपमा अगाडि देखा परेका छन् ।

अमेरिकास्थित गैरसरकारी संस्था काउन्टर–एक्सट्रीमिज्म प्रोजेक्ट (सिइपी) का अनुसार गाजाका बासिन्दा र युद्धविराम वार्तामा हमासका प्रमुख वार्ताकार ६५ वर्षीय हैयाले करिब सन् २००६ देखि वरिष्ठ भूमिकामा रहेका छन् ।

सन् २००४ देखि २०१७ सम्म पोलिटिकल ब्युरोको नेतृत्व गरेका मेशाल गाजामा कहिल्यै बसेका छैनन् । उनको जन्म सन् १९५६ मा वेस्ट बैङ्कमा भएको थियो ।

उनी कुवेतमा हमासमा सामेल भएका थिए र पछि जोर्डन, सिरिया र कतारमा बसेका थिए । सिइपीका अनुसार “उनले लामो समयदेखि हमासको राजनीतिक–सैन्य शाखाको विकासमा नेतृत्व गरेका छन् ।

उनी हाल आन्दोलनको विदेश विभागको प्रमुख रहेका छन् । गाजास्थित हमासका एक सदस्यका अनुसार “हैया प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउने प्रतिद्वन्द्वी फताहसहित अन्य प्यालेस्टिनी समूहहरूसँग उनको सम्बन्ध र उनको क्षेत्रीय स्थितिका कारण बलियो दावेदार मानिन्छन् ।

हैयालाई शुरा काउन्सिल र हमासको सैन्य शाखा, एजेदिन अल–कसम ब्रिगेड दुवैबाट समर्थन प्राप्त छ । अर्को स्रोतले बताएअनुसार अन्य सम्भावित उम्मेदवारहरूमा वेस्ट बैङ्क हमासका नेता जाहेर जबरिन र शुरा काउन्सिलका प्रमुख निजार अवादल्लाह पनि नेतृत्वका लागि दावेदार रहनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप