संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले
दाङ । पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवमा थारू जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरीसहित संस्कृति संरक्षणमा जुटेका छन् । पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको उनको भनाइ छ ।
आफ्नो मौलिक पहिचानका रूपमा रहेका थारू वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनको भनाइ ५ । थारूको पहिचानका रूपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाच पनि नाच्न सिकेका छन् । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो ।
नृत्यसँगै थारू जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउँदै आएको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने उनी बताउँछन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनले बताए ।
उनजस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारू जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उपमहानगरपालिका–१४ की आशा चौधरी बताउँछिन् । पछिल्लो समय फुर्सदको समयमा थारू नृत्य सिक्नेदेखि कार्यक्रमहरूमा सहभागी हुने गर्छन् । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु,” उनले भनिन्, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रूपमा केही आम्दानीसमेत हुने गरेको छ ।” यसले आफूलाई हौसला बढाउने काम गरिरहेको उनको भनाइ छ ।
थारू बस्ती बाक्लो भएका गाउँबाट पछिल्लो समय थारू समुदायका युवायुवती आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाको भनाइ छ ।
घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुग्ने बताए । “थारू समुदायको मौलिक संस्कृतिका रूपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ,” चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारू संस्कृति संरक्षणमा सघाउ पुग्नेछ ।”
थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले पनि नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । चौधरीले थारू कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताए । थारू समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार र स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बाबुबाजेले जोगाउँदै आएको थारू जातिको कला, संस्कृति संरक्षण र संवर्द्धनमा राज्यको सहयोग आवश्यक रहेको चौधरी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण