विशेष महाधिवेशनमा कांग्रेस गण्डकी सभापतिको फरक प्रस्ताव
सारांश
- कांग्रेस विशेष महाधिवेशनमा गण्डकी प्रदेश सभापति शर्माले पार्टीको आधिकारिक लाइनभन्दा फरक मत राखे।
- शर्माले गणतन्त्र र धर्मनिरपेक्षतालाई 'धोका' को संज्ञा दिँदै पुरानै विरासतमा फर्कनुपर्ने प्रस्ताव गरे।
- उनले कांग्रेसले कम्युनिस्टको एजेन्डा बोक्दा पहिचान गुमाएको र संवैधानिक राजतन्त्र ब्युँताउनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको आधिकारिक लाइनभन्दा फरक मत सहितको अवधारणा पत्र पेस गरेका छन् । उक्त अवधारणामा शर्माले २०६३ सालको परिवर्तनपछि अङ्गीकार गरिएको गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘धोका’ को संज्ञा दिँदै पुरानै विरासतमा फर्कनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
शर्माले देश अहिले ‘जेनजी’ आन्दोलनपछि सङ्कटको भुमरीमा फसेको र खरानीको थुप्रोमाथि उभिएको टिप्पणी गरेका छन् । उनले २०६३ को जनआन्दोलनपछि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र, समाजवादको ठाउँमा समाजवाद उन्मुख र सनातन धार्मिक स्वतन्त्रताको ठाउँमा धर्मनिरपेक्षता राखेर गम्भीर गल्ती गरिएको निष्कर्ष निकालेका छन् ।
उनले कांग्रेस नेतृत्वले शासन गर्ने अधिकार नभएका व्यक्तिहरूको समूहलाई ‘लोक’ हो भन्ने भ्रममा पारेर आन्दोलनको उपलब्धिलाई धोकामा बदल्ने काम गरेको आरोप लगाए । विगतका यी कमजोरी स्वीकार गर्दै जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको तर्क छ ।
अवधारणा पत्रमा कांग्रेसले कम्युनिस्टहरूको एजेन्डा बोक्दा आफ्नो मौलिक पहिचान गुमाएको उल्लेख छ । शर्माले गुमेको विरासत फर्काउन राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रता (हिन्दु राष्ट्र) पुनः बहाल गर्नुपर्ने माग गरे ।
उनले संवैधानिक राजतन्त्र ब्युँताउने प्रस्ताव पनि गरेका छन् । संवैधानिक नहुँदा फेरिएको ‘संवैधानिक तन्त्र’ लाई पुनः बहाल गर्न देशमा क्रियाशील सबै शक्तिसँग विचार विमर्श गर्नुपर्ने उनको जोड छ । यदि गणतन्त्र नै राख्ने हो भने पनि प्रतिक्रियावादीले उपयोग गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
विगतको महासमिति बैठकमा १२ सयभन्दा बढी सदस्यले धर्मनिरपेक्षता हटाएर सनातन धार्मिक स्वतन्त्रतामा फर्कन गरेको प्रस्तावलाई नेतृत्वले छलफलसम्म नगरी थन्क्याएको भन्दै शर्माले आक्रोश पोखे । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधिवत् रूपमा विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए । अहिलेको लोकतन्त्रमा नेता मालिक, कार्यकर्ता दास र जनता रैती हुने पद्धति विकास भएको भन्दै उनले यस्तो व्यवस्था नास हुने चेतावनी दिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण