सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रुसी आक्रमणबाट युक्रेनको खार्किवमा चार जनाको मृत्यु

मङ्गलबार, २९ पुस २०८२, १३ : ४६
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • खार्किवमा रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ, जसमा ६ जना घाइते भएका छन्।
  • रुसले युक्रेनी सहरहरूमा ड्रोन र मिसाइल आक्रमण तीव्र पारेको छ, जसमा अस्पताल र बालबालिकाको मेडिकल सेन्टरलाई समेत निशाना बनाएको छ।
  • ओडेसा लगायत अन्य क्षेत्रमा पनि आक्रमण भएको छ, जसमा आवासीय भवन, अस्पताल र किन्डरगार्टेनमा क्षति पुगेको छ।

खार्किव । युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा रुसले गरेको पछिल्लो आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार दिएको जानकारी अनुसार खार्किवको बाहिरी इलाकामा भएको यस आक्रमणमा अन्य ६ जना घाइते भएका छन्।

रुसले पछिल्लो समय युक्रेनी सहरहरूलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण तीव्र पारेको छ। खार्किवका मेयर इगोर टेरेखोभले रुसी लामो दूरीको ड्रोनले बालबालिकाको मेडिकल सेन्टरमा समेत प्रहार गरेको बताएका छन्।

उक्त प्रहारका कारण अस्पतालमा आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन। रुसी आक्रमणको प्रभाव दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रमा पनि देखिएको छ। क्षेत्रीय गभर्नर सेर्गी लिसाकका अनुसार रातभर भएका आक्रमणबाट आवासीय भवन, अस्पताल र किन्डरगार्टेनमा क्षति पुग्नुका साथै कम्तीमा पाँच जना घाइते भएका छन्।

मस्कोले युक्रेनका ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाउँदै दैनिक रूपमा ड्रोन र मिसाइल प्रहार गरिरहेको छ। गत हप्ता रुसले युक्रेनमा 'ओरेसनिक' ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि वासिङ्टन र किएभका अन्य सहयोगी राष्ट्रहरूले त्यसको कडा निन्दा गरेका थिए।

रुसले भने लिभिभ क्षेत्रको उड्डयन मर्मत कारखानामा गरेको आक्रमण आफ्नो राष्ट्रपति निवासमा युक्रेनले गर्न खोजेको आक्रमणको प्रतिक्रिया भएको दाबी गरेको छ। किएभले भने रुसी आरोपको खण्डन गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप