कर्मचारीमाथि शृंखलाबद्ध आक्रमणले बैंकिङ क्षेत्रको कर्जा असुलीमा समस्या
सारांश
- बैंक तथा वित्तीय संस्थाहरू दोस्रो त्रैमासको अन्तिम चरणमा पुग्दा कर्जा असुलीका क्रममा कर्मचारीमाथि हिंसाका घटना बढेका छन्।
- दाङ, सुनसरी र सप्तरीमा भएका घटनाहरूमा कर्मचारीमाथि आक्रमण, दुर्व्यवहार र बन्धक बनाइएका घटना सार्वजनिक भएका छन्।
- बैंकर्स संघले यस विषयलाई गम्भीर रूपमा लिई सुरक्षाको लागि सरकारसँग स्पष्ट नीति र कार्यान्वयनको माग गरेको छ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू यतिबेला चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम चरणमा छन् । पुस मसान्त नजिकिँदै गर्दा बैंकिङ क्षेत्र सधैंझैं कर्जा असुली, लेखा मिलान, जोखिम व्यवस्थापन र वित्तीय विवरण तयारीको चटारोमा देखिन्छ ।
त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाका कारण यो समय बैंकहरूको लागि दबाबपूर्ण हुन्छ । यही विवरणले बैंकको नाफा–नोक्सान, कर्जा गुणस्तर, खराब कर्जा अनुपात (एनपीएल) तथा समग्र वित्तीय स्वास्थ्यको अवस्था देखिने भएकाले व्यवस्थापनदेखि कर्मचारीसम्म थप जिम्मेवार बन्नुपर्छ ।
तर यस पटक बैंकिङ क्षेत्रले सामान्य अवस्थाभन्दा फरक र गम्भीर चुनौतीको सामना गरिरहेको छ । त्यो हो- कर्जा असुलीका क्रममा बैंक कर्मचारीमाथि बढ्दो हिंसा, दुर्व्यवहार र संगठित आक्रमण । पछिल्लो केही महिनामा सार्वजनिक भएका घटनाहरूले बैंकिङ प्रणालीमै असुरक्षाको महसुस गराएको बैंकर्सहरू बताउँछन् ।
कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण
पुस २० गते दाङको घोराहीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कर्जा असुलीका क्रममा सांघातिक आक्रमण भएको घटना बाहिर आयो । बैंक कर्मचारी ट्रेड युनियनका अनुसार कर्जा असुलीमा खटिएका कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यसहित आक्रमण गरिएको थियो ।
त्यसको केही दिनपछि सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकको शाखामा पनि गम्भीर प्रकृतिको घटना भयो । बैंकभित्रै प्रवेश गरेर एक समूहले हुलहुज्जत गर्नुका साथै पेट्रोल प्रयोग गरी आगजनीको प्रयास भएको बैंकले जनाएको छ । कर्मचारीको जीउज्यानमै जोखिम पर्नेगरी भएको यो घटनाले सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ ।
यसअघि मंसिर अन्तिम साता सप्तरीको रूपनीस्थित ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाएर कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको बैंकले जनाएको छ । तर प्रहरीले प्रारम्भिक चरणमा जाहेरी लिन समेत नमानेको विषय बाहिर आएको थियो ।
कमजोर बन्दै कर्मचारीहरूको मनोबल
यी घटनाहरू सतहमा आएपछि बैंकका कर्मचारीहरूमा भय र त्रासको वातावरण बढ्दै गएको छ । कर्जा असुली बैंकिङ प्रणालीको अनिवार्य प्रक्रिया भएपनि अहिले कर्मचारीहरू फिल्डमा जान डराउने अवस्थामा पुगेको बैंकरहरू बताउँछन् । कतिपय शाखामा कर्मचारीले असुली भ्रमण नै स्थगित गर्नुपर्ने अवस्था आएको बताउँदै आएका छन् ।
यसको प्रत्यक्ष असर बैंकको कर्जा असुली, खराब कर्जा व्यवस्थापन र वित्तीय अनुशासनमा पर्न सक्ने खतरा बढेको छ । कर्मचारी सुरक्षित नहुँदा यसले बैंकिङ प्रणालीको नियमित सञ्चालनमै समस्या आउन सक्ने चिन्ता उनीहरूको छ ।
बैंकरहरूको संगठित पहल
लगातार भएका घटनापछि बैंकिङ क्षेत्र मौन बसेको छैन । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्य र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेले नेपाल बैंकर्स संघमा औपचारिक निवेदन दिएका थिए । यसपछि संघले विषयलाई गम्भीर रूपमा लिँदै बैंकिड सुरक्षाको विषयमा छलफलको पहल थालेको छ ।
नेपाल बैंकर्स संघको अगुवाइमा बैंकर्स, कर्मचारी प्रतिनिधि र सरकारी निकायबीच चरणबद्ध छलफल भइरहेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।
खासगरी संगठित रूपमा 'ऋण तिर्नु पर्दैन' भन्ने मानसिकता फैलाउने समूह र बैंक तथा कर्मचारीमाथि हुने आक्रमणबाट उम्किन राजनीतिक पहुँच प्रयोग गर्ने प्रवृत्तिबारे बैंकर्सहरुको चासो छ । बैंकर्स र कर्मचारीबिचको छलफलमा यस्ता घटनाले केवल व्यक्तिगत सुरक्षा मात्र होइन, समग्र वित्तीय प्रणालीको स्थायित्वमै असर पार्ने निष्कर्ष निकालिएको थियो । त्यसैले सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने र स्पष्ट नीति तथा कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको छ ।

यही विषय लिएर संघले अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरिसकेको छ । यस्तो छलफलमा बैंकिङ क्षेत्रमाथि हुने हिंसालाई गम्भीर अपराधको रूपमा लिई कडाइका साथ कारबाही गर्नुपर्ने, बैंकका कर्मचारीमाथि हुने आक्रमणलाई राष्ट्रसेवक कर्मचारीमाथि हुने आक्रमणजस्तै व्यवहार गर्नुपर्ने र यसका लागि प्रहरी प्रशासनलाई स्पष्ट निर्देशन दिनुपर्नेमा उनीहरूको जोड थियो ।
बैंकिङ क्षेत्रलाई निजी क्षेत्रमध्येकै सबैभन्दा बढी पारदर्शी क्षेत्रको रूपमा रहेको छ । यो क्षेत्रमा अहिले ५० हजार भन्दा बढी कर्मचारीले रोजगारी पाइरहेको नेपाल बैंकर्स संघको तथ्यांक छ । झण्डै ६ करोड निक्षेप खाता सञ्चालन गरिरह्को बैंकले २२ लाख भन्दा बढीलाई कर्जा दिएको छ । ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउँदै आधुनिकस्तरको भुक्तानी प्रणालीको बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
अहिले बैंकमा ७५ खर्ब रूपैयाँ भन्दा बढीको निक्षेप संकलन र करिब ५७ खर्ब कर्जा प्रवाह भएको अवस्था छ । बैंकिङ क्षेत्रमा प्रशस्त तरलता भएपनि अहिले लगानी हुन सकेको छैन । निजी क्षेत्रबाट कर्जाको माग अपेक्षित रूपमा नभइरहेको अवस्थामा यी घटनाले बैंकलाई समेत कर्जा विस्तारमा निरूत्साहित भएको बैंकरहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण