बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

नक्कली भुटानी शरणार्थी प्रकरण : ३४ पटक पेसी चढ्यो, अन्तिम सुनुवाइको छैन टुंगो

मङ्गलबार, २९ पुस २०८२, २० : ००
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ।
  • पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत ३० जना विरुद्ध मुद्दा दायर भएको थियो।
  • अदालतले केही अभियुक्तलाई धरौटीमा छाडेको छ भने केही अझै थुनामा छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित बनेको छ । गत भदौ १८ गतेबाट निरन्तर सुनुवाइ गरी अन्तिम फैसला गर्ने भनिएपनि त्यस दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तारेख थाम्ने अवधि बाँकी भएकाले तारेखको म्याद गुजारेपछि पेस गर्न आदेश भयो ।
 
एकैपटक दुई महिनापछि कात्तिक २४ मा पुरक निवेदनमाथि सुनुवाइ भयो । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले हेर्दाहेर्दैमा रोखर कात्तिक २६ गत अन्य आदेश जारी भयो । मंसिर १४ मा साप्ताहिक पेसी तोकिएको उक्त मुद्दामा न्यायाधीश रामचन्द्र खड्काको इजलासले साक्षी बुझ्ने आदेश जारी गरेको थियो ।

त्यसपछि यो मुद्दामा पूरक र साप्ताहिक पेसी चढ्दै आइरहेको छ । पछिलो समय पुस २१ गते मणिराम न्यौपानेको इजलासमा परेको यो मुद्दाको पेसीमा अन्य प्रमाण बुझ्ने आदेश भएपछि अर्को पेसी भने तोकिएको छैन । 

यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०/०८१ मा मुद्दाले प्राथमिकता नै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा ३४ पटक पेसी सूचीमा चढिसकेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, कीर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध २०८० जेठ १० मा मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, संविधानसभा सदस्य आङ्टावा शेर्पा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३१ जनाविरुद्ध ठगी, कीर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराध अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो ।

सुरूमा गजेन्द्र बुढाथोकीसहितका व्यक्तिको जाहेरीका आधारमा ३० जनाविरुद्ध २०८० जेठ १० मा मुद्दा दायर भएको थियो । अर्को वर्ष २०८१ वैशाख ९ मा दाफुरी शेर्पासहितका व्यक्तिको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलालसहित ५ जना र गजेन्द्र बुढाथोकी सहितका व्यक्तिको जाहेरीका आधारमा २०८१ साउन २९ मा शरणार्थी प्रकरणका संदिग्ध पात्र बेचन झाविरुद्ध अदालतमा पूरक मुद्दा दायर भएका थिए । पछिल्ला दुवै मुद्दालाई सुरु मुद्दामै लगाउ गरेर अदालतले सुनुवाइ अघि बढाएको हो ।

अदालतमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र राईका छोरा निरज राईविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मासहित गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बू, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा दायर मुद्दा विचाराधीन छ ।

जिल्लाले थुनामा पठाएपछि बालकृष्ण खाँण लगायत उच्चबाट धरौटीमा छुटे

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २०८० असार १ गते एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई थुनामा पठाउन र गिरोहको नेटवर्कमा रहेका टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले थुनामा पठाउन दिएको आदेशविरुद्ध साउन २०८० मा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले २०८० मंसिर १५ गते न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हरिभक्त महर्जन, नरेन्द्र केसी, सन्दीप रायमाझी, टेकनाथ रिजाल र रामशरण केसीलाई धरौटी तथा टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई साधारण तारिखमा छाड्न आदेश दिएको थियो । उच्च अदालतले रायमाझीलाई ३० लाख, रिजाल, महर्जन र रामशरणलाई १५/१५ लाख, नरेन्द्र केसी र शमशेर मियाँलाई १०/१० लाख धरौटीमा छाडेको थियो ।

पूर्व गृहमन्त्री खाँणलाई पुर्पक्षमै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा उच्चका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि निर्णय अर्को पेसी तोकिएको थियो । २०८० मंसिर २८ मंसिरमा न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी केन्द्रीय कारागारबाट रिहा भएका थिए । उच्च अदालतबाट खाँण धरौटीमा छुटेपनि सो विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्न सक्ने ठाउँ थियो । 

तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण उच्च सरकारी वकिल कार्यालयले खाँणको हकमा म्याद गुजारेर पुनरावेदन गरेन । उच्च अदालत पाटनबाट खाँण धरौटीमा छुटेपनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी लिएर र अख्तियारले कागज गराएर साधारण तारेखमा राखेको थियो । 

उच्च अदालत पाटनले थुनामा पठाउने आदेशविरुद्ध पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित सात जना सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८१ वैशाख १३ गते आङ्टावा शेर्पा र गोविन्द चौधरीलाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने शमशेर मियाँलाई साधारण तारखेमा राख्न आदेश जारी भएको थियो । 

अन्यको हकमा उच्च अदालत पाटनको आदेश सदर गर्ने आदेश भएको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, विचौलियाको भूमिका खेल्ने सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला र उच्च अदालतबाट भएको आदेश सदर गर्ने आदेश दिएको थियो ।

यी हुन् शरणार्थी प्रकरणका अभियुक्त

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
तत्कालीन उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी
पूर्व गृहमन्त्री बालकृष्ण खाँण
हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ
तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी
तत्कालीन गृहसचिव टेकनारायण पाण्डे
तत्कालीन संविधानसभा सदस्य आङ्टावा शेर्पा
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा
तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई
तत्कालीन गृहमन्त्रीका थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राई
शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल
बिचौलिया दुलालकी पत्नी दीपा हुमागाईं
शरणार्थी प्रकरणका बिचौलिया सानु भण्डारी

गिरोहको नेटवर्कमा बसेर काम गर्ने अभियुक्तहरू

टंककुमार गुरुङ
मोहनराज राई
निरञ्जनकुमार खरेल
केशव तुलाधर
हरिभक्त महर्जन
महर्जनकी पत्नी लक्ष्मी महर्जन
राजेश अर्याल
विनीता सावदेन लिम्बु
सागर राई
आशिष बुढाथोकी
सुनिल बुढाथोकी
रामशरण केसी
सन्देश शर्मा
अशोक पोखरेल
गोविन्दकुमार चौधरी
धिरेन राई
बेचन झा
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप