मङ्की टोपी लगाएका, खुकुरी र पेस्तोल भिरेकाले लुटे एसबिआई बैंकको घ्याङलेख शाखा
सारांश
- सिन्धुलीको एसबिआई बैंकमा ६-७ जनाको समूहले आक्रमण गरी ३ करोड १० लाख लुटेको घटना घटेको छ।
- लुटेराहरूले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर नगद लुटेका थिए, जङ्गलमा फेला परेको रकम प्रहरीले बरामद गरेको छ।
- प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ, र थप अनुसन्धानको लागि एसपी लालध्वज सुवेदी घटनास्थलमा खटिएका छन्।
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबिआई बैंकमा पुस २९ मा साँझ ६–७ जना प्रवेश गरे । गाउँपालिकाको केन्द्रमा सञ्चालित बैंकको शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की खाना पकाउँदै थिए । बैंकको अरू ३ जना कर्मचारी खाना खान बाहिर निस्केका थिए ।
लुटेराहरूले सुरक्षा गार्डलाई आक्रमण गरे । खाना खाएर फर्किएका अरू कर्मचारीलाई पनि हातखुट्टा बाँधेर बैंकमा भएको नगद लुटेर भागे । लुटेराले बाहिरबाट चुकुल लगाएर सुरक्षा गार्ड र कर्मचारीलाई भित्रै थुनेर भागेका थिए । प्रहरी पुगेर उनीहरूको उद्धार गरेको हो । सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बैंकबाट ३ करोड १० लाख लुटपाट भएको छ ।
सुरक्षा गार्ड रुद्रबहादुर कार्कीका अनुसार मङ्की टोपी लगाएर आँखा मात्र देखिनेगरी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूमध्ये दुईजनाले पेस्तोल देखाए, चारजनाले खुकुरी देखाएर गार्डलाई तर्साए । कार्की भन्छन्, ‘मैले प्रतिकार गर्न खोज्दा खुकुरीले हातमा हानेर घाइते बताए, हातखुट्टा बाँधेर लडाए ।’
कार्कीका अनुसार स्टिलको जस्तो देखिने पेस्तोल लुटेराहरूले प्रदर्शन गरेका थिए । लुटेराले फालेको रकमको एउटा बोरा जङ्गलमा फेला परेको छ । स्थानीयको सहयोगमा प्रहरीले एउटा बोरामा प्याक गरेको रकम जङ्गलबाट बरामद गरेको हो ।
लुटेराहरूले बनेपाबाट बिएडी–०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरेर लगेका थिए । सुमो प्रहरीले नियन्त्रणमा लिएको छ । सुमोका चालक भगत सिंह थापा सहित चार जनालाई पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिए । अरू ३ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
जङ्गलमा भेटिएको र लुटेराको साथबाट अहिलेसम्म १ करोड ८० लाख १० हजार नगद प्रहरीले बरामद गरेको छ । आरोपीहरू घ्याङलेखको वडा नम्बर–२ बाट पक्राउ परेका हुन् । बैंकको सुरक्षा गार्ड कार्कीका अनुसार लुटेराले उनलाई ‘नबोल’ भनेर मुख थुनेका थिए । कार्की भन्छन्, ‘नबोल भनेर मेरो मुख थुने, दुईजनाले पेस्तोल र ४ जनाले खुकुरी देखाए ।’
घटनाको अनुसन्धान र आरोपीहरूलाई पक्राउ गर्न एसपी सुवेदी घ्याङलेखकको हायुटार र बस्तीपुर क्षेत्रमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण