देउवाको नियति : पहिला कारबाहीमा परे, अहिले कारबाही गरे
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी विभाजनको स्थिति आएको छ, महामन्त्रीद्वयलाई निष्कासन गरिएको छ।
- देउवाकै पालामा पार्टी विभाजन भएको र उनले नेतृत्व छाड्न नमानेपछि विशेष महाधिवेशन बोलाइएको छ।
- देउवाको राजनीतिक जीवनमा पार्टी विभाजन, सत्ता राजनीति र विभिन्न घटनाक्रमको चर्चा गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जीवनमा गज्जबको संयोग जुरेको छ । ८० वर्ष लामो इतिहास बोकेको कांग्रेस दुई पटक विभाजन हुनमा उनी आफैँ एक कारक बने ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्यो । निष्कासनसँगै पार्टी औपचारिक रूपमा विभाजनतर्फ धकेलिएको छ ।
विशेष महाधिवेशन पक्षधरले पार्टीसँग सहमति नगरी समानान्तर अभ्यास गरेको, अनाधिकृत महाधिवेशन घोषणा गरेको, समानान्तर निर्वाचन तालिका प्रकाशित गरेको र पार्टीलाई हानि नोक्सानी गरेको आधार देखाएर थापा, शर्मा र मन्सुरलाई पार्टीबाट निष्कासन गरेको छ ।
यी गतिविधि पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) विपरीत रहेको ठहर गर्दै कार्यसमिति बैठकले उनीहरूलाई विधानको धारा २२ को उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
निर्वाचनको मुखमै पार्टी विभाजन केन्द्रित गतिविधि हुँदा पनि सभापति देउवाले विषयको गम्भीरतालाई समयमै सम्बोधन गर्न नसकेको देखिन्छ ।
विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएपछि पार्टी एकतालाई जोगाउन संस्थापन पक्ष र इतर पक्ष लगातार छलफलमा जुटेका थिए । तर इतर पक्षले देउवामाथि तत्काल नेतृत्व छाड्न दबाब बढाएको थियो । देउवाले नेतृत्व छाड्न अस्वीकार गरेसँगै वार्ता सहमतिमा पुग्न सकेन ।
भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि नेतृत्व छाड्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सुझाव दिएका थिए । विषम परिस्थितिपछि असोज २८ गते केन्द्रीय कार्यालय बसेको पार्टीको कार्यसमिति बैठकमा थापा र शर्माले विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए । तर इतरपक्षको माग अस्वीकार गरी वैशाखमा नियमित महाधिवेशन मिति घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
देउवा तिनै व्यक्ति हुन्, जसले २३ वर्षअघि अर्थात् २०५९ साल जेठ १२ गते पार्टी विभाजन गरी नेपाली कांग्रेस(प्रजातान्त्रिक) बनाएका थिए । त्यतिबेला प्रधानमन्त्री रहेका देउवाले पार्टीको निर्णय विपरीत संसद् विघटन गरेको भन्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई साधारण सदस्यसमेत नहरने गरी निष्कासन गरेका थिए ।
२०५८ साउनमा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवा माओवादीविरुद्ध सङ्कटकाल घोषणा, माओवादी नेताहरूको टाउकाको मूल्य तोक्ने निर्णयबाट निकै आलोचित थिए । उनले २०५९ साल जेठ ८ गते संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । पार्टीबाट कारबाहीमा परेसँगै रुष्ट भएका देउवाले महाधिवेशन आयोजना गरेर पार्टी विभाजन गरेका थिए ।
सोही वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले माओवादी द्वन्द्व समाधान गर्न नसकेको अभियोगमा ‘असक्षम’ संज्ञा दिँदै देउवा सरकार बर्खास्त गरी लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए । यद्यपि जननिर्वाचित सरकार अपदस्थ गर्ने राजा ज्ञानेन्द्रको कदमप्रति चौतर्फी आलोचना भयो ।
चर्को दबाबका बिच ज्ञानेन्द्रले २०६१ साल जेठ २० गते देउवा सरकारलाई पुनर्स्थापित गरे । यद्यपि सोही वर्ष माघ १९ गते देउवा सरकारलाई बर्खास्त गरी राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएका थिए । पहिला आफैँ कारबाहीमा परेका देउवाले अहिले निर्वाचित महामन्त्रीलाई कारबाही गरेर पार्टीलाई विभाजनको ढोकामा पु¥याएका छन् ।
२००३ साल जेठ ३१ गते डडेलधुरा जिल्लाको विकट असीग्रामस्थित रुवा खोलामा जन्मेका देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका थिए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै ठुलो योगदान दिए पनि पार्टी राजनीति र सत्ता राजनीति यात्रालाई सुखद बनाउन सकेनन् ।
कांग्रेसभित्र कोइराला परिवारको दबदबा रहँदा देउवाले पार्टीभित्र स्थायी गुट चलाउँदै आएका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी गृहमन्त्री बने । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री कोइरालाले संसद् विघटन गरी मध्यावधि घोषणा गरे । निर्वाचनमा कांग्रेस दोस्रो दल भएपछि देउवा संसदीय दलको नेता बने । २०५२ सालमा उनी राप्रपाको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए । उनी प्रधानमन्त्री भएको ६ महिनामा तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह घोषणा ग¥यो । देउवाको पहिलो कार्यकालमै देशले सशस्त्र द्वन्द्व, पजेरो काण्ड, सांसद किनबेच काण्ड लगायत झेलेको थियो । संसदीय राजनीतिमा भ्रष्टाचार र विकृति देउवाकै पालाबाट भित्रिएको तर्क गर्ने प्रशस्त छन् ।
नेपाली कांग्रेस र देउवा नेतृत्वको तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)बिच एकता भएको अवस्थामा समेत २०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेस ठुलो दल बन्न सकेन । २०६६ सालामा सभापति गिरिजाप्रसाद कोइरालाको निधन पश्चात् पार्टी सभापति बन्न खोजेका देउवा सुशील कोइरालासँग पराजित भएका थिए । २०७२ साल माघमा कोइरालाको निधनपछि फागुनमा भएको १३औँ महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भए ।
पार्टी नेतृत्वमा आएपछि झन् शक्तिशाली भएका देउवामाथि कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि कम्युनिस्टसँग मिलेर कमजोर पारेको आरोप लाग्यो । उनी माओवादीसँग मिलेर २०७४ मा चौथो पटक र २०७८ मा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भए । देउवा २०७८ साल मंसिर २८ गते दोस्रोपटक सभापति बने । पाँच पटक देशका प्रधानमन्त्री बन्न सफल देउवा जीवनको उत्तरार्द्धमा पार्टी विभाजनको कलंक झेल्नु परेको छ ।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ देखि २०७९ सालसम्म लगातार संसदीय निर्वाचन जित्ने देउवा एकमात्र राजनीतिज्ञ हुन् । तर कांग्रेस पहिलो पार्टी भएर पनि कम्युनिस्टसँग सहकार्य गरेर पार्टीलाई कमजोर बनाएको आरोप उनीमाथि लागेको छ । २०८१ असार १७ गते पार्टीका पदाधिकारीलाई समेत जानकारी नदिई केपी ओलीसँग सत्ता सहकार्य गरेकोमा पार्टीभित्रै उनको निकै आलोचना भयो । दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको गठबन्धन सरकारले समेत जनअपेक्षाकृत काम गर्न सकेन । सरकार गठन भएको एक वर्षमै आम जनतामा निराशा बढ्यो । चरम निराशाबिच तत्कालीन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी विद्रोहमार्फत भदौमा विष्फोट भयो । त्यसको प्रत्यक्ष मारमा देउवा र परराष्ट्रमन्त्री समेत रहेकी उनका पत्नी डा.आरजु राणा परिन् ।
जेनजी विद्रोहका क्रममा देउवा दम्पती आफ्नै निवासमै निर्घात कुटिएका थिए । देशका ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सार्वजनिक तथा कयौँको निजी निवास ध्वस्त भएको थियो ।
यिनै परिस्थितिका बिच कांग्रेसमा नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने मत बढ्दै गएको थियो । यद्यपि सभापति देउवाले प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गराउने र आफू पार्टी नेतृत्वबाट बाहिरिने अडान लिए । सोही कारण बहुमत महाधिवेशन प्रतिनिधिसहितको सहभागितामा गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशन आयोजना गरेका छन् । देउवाले विशेष महाधिवेशन पक्षधर तीन पदाधिकारीलाई कारबाही गर्दा विशेष महाधिवेशनको बन्दसत्रले भने नयाँ नेतृत्व चयनको तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण