बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युरोप-अष्ट्रेलियाको सपना देखाएर यूएईका तालिम केन्द्रमा पुर्‍याउने ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

बुधबार, ३० पुस २०८२, २० : ५०
बुधबार, ३० पुस २०८२

सारांश

  • वैदेशिक अध्ययनको प्रलोभन देखाई विद्यार्थीसँग लाखौँ ठगी गरेको आरोपमा काठमाडौँका विभिन्न कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्।
  • पक्राउ परेका व्यक्तिहरूले विद्यार्थीलाई युरोप र अस्ट्रेलिया पठाउने भन्दै यूएईका अनधिकृत तालिम केन्द्रमा पठाउने गरेको खुलेको छ।
  • ठगीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ, जसमा प्रतिविद्यार्थी ८ देखि २२ लाख रुपैयाँसम्म असुलेको खुलेको छ।

काठमाडौँ । वैदेशिक अध्ययनको प्रलोभन देखाई विद्यार्थीसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न कन्सल्टेन्सीका पाँच जना सञ्चालकलाई पक्राउ गरेको छ। युरोप र अस्ट्रेलियाका विश्वविद्यालयमा 'क्रेडिट ट्रान्सफर' हुने भन्दै झुक्क्याएर यूएईका अनधिकृत तालिम केन्द्रमा विद्यार्थी पठाउने गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूले विद्यार्थीलाई फ्रान्स तथा अस्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजमा पठाउने र त्यहाँबाट सजिलै क्रेडिट ट्रान्सफर हुने आश्वासन दिने गरेका थिए। तर, विद्यार्थीलाई यूएई पुर्‍याएपछि भने त्यहाँको उच्च शिक्षा मन्त्रालय र कमिसन फर एकेडेमिक एक्रिडिटेसन (सीएए) बाट स्वीकृति नै नपाएका सामान्य तालिम केन्द्र हरूमा भर्ना गरिदिने गरेको खुलेको छ।

उच्च शिक्षाको सपना बोकेर यूएई पुगेका विद्यार्थीहरू अलपत्र परेको र आफूहरू ठगिएको भन्दै १३ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। कन्सल्टेन्सी सञ्चालकहरूले प्रतिविद्यार्थी ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौँ–३१ स्थित बेस्ट पाथ एजुकेसन प्राली चलाउने २९ वर्षीय कृष्ण थापा, कपिलवस्तु घर भई नारायण गोपाल चोकस्थित मर्सी एजुकेसन कन्सल्टेन्सी चलाउने रामचन्द्र टण्डन र काठमाडौँका सिटीहब एजुकेसन नेटवर्कका ३१ वर्षीय सुवास सिलवाल क्षेत्री छन्।

त्यस्तै, लाजिम्पाटस्थित कान्तिपुर एब्रोड कन्सल्टेन्ट प्रालीका दुई सञ्चालक दार्चुलाका ४८ वर्षीय हेमराज भट्ट र सिन्धुपाल्चोकका ४८ वर्षीय दामोदर ढकाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जनामाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप