बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्: सभामुख

बिहीबार, ०१ माघ २०८२, ०५ : ३२
बिहीबार, ०१ माघ २०८२

सारांश

  • देवराज घिमिरेले चाडपर्वले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गरे ।
  • उनका अनुसार माघे सङ्क्रान्तिले लोकतान्त्रिक मूल्य र एकतालाई बलियो बनाउँछ ।
  • घिमिरेले माघी पर्वको शुभकामना व्यक्त गर्दै यसले सकारात्मक सोच दिने बताए ।

काठमाडौँ। सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले भने, “माघी, माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारु समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’ का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएका छन्, यी विविध परम्पराहरूले हाम्रो साझा राष्ट्रिय पहिचानलाई झल्काउने गरेका छन् ।”

जाडोलाई बिदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश बोकेको माघे सङ्क्रान्ति पर्व नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण प्रतीकका रूपमा स्थापित छ । सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको सम्बन्धलाई स्मरण गराउने गरेको छ । माघे सङ्क्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने, घीउ, चाकु, तिल, तरुल, खिचडीलगायत पोसिलो परिकार सेवन गर्ने परम्परा रहेको छ । यस्ता संस्कार र परम्पराहरूले नेपाली समाजलाई प्रकृति मैत्री र मानवीय मूल्यमा आधारित बनाउन योगदान पुर्‍याएका उनको भनाइ छ ।

सभामुख घिमिरेले भनेका छन्, “माघे सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप