रुकुम पूर्वबाट उम्मेदवार बन्ने प्रचण्डको योजना, अन्य प्रमुख दलको यस्तो छ तयारी
सारांश
- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने योजनामा छन्।
- जनयुद्धको आधार क्षेत्र मानिने रुकुम पूर्वमा प्रचण्डलाई स्थानीयले विकास निर्माणको नेतृत्व लिन आग्रह गरेका कारण उम्मेदवारी दिन लागेको बताइएको छ।
- प्रचण्डले निर्वाचन क्षेत्र फेरिरहने प्रवृत्तिलाई लिएर कतिपयले 'अस्थिर नेता' र 'पराजयको डरले सुरक्षित क्षेत्र खोज्ने नेता' भन्ने गरेका छन्।
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने योजनामा छन् ।
सुरुमा रुकुम पूर्व जिल्लाबाट ९ जनाको नाम सिफारिस भए पनि अहिले प्रचण्ड नै यो जिल्लाबाट निर्वाचन लड्ने निर्णय भएको उक्त पार्टीकी जिल्ला संयोजक कुमारी बरालले रातोपाटीलाई बताइन् ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गर्दा रुकुम, रोल्पा र आसपासका पहाडी जिल्ला आधार थलो बनेका थिए । त्यही आन्दोलनका सर्वोच्च कमान्डर मानिने प्रचण्ड अहिले तुलात्मक रूपमा सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुम पूर्व आइपुगेको चर्चा चलिरहेको छ । जिल्ला संयोजक बराल पनि रुकुम पूर्वमा पार्टीको संगठन बलियो रहेको दाबी गर्छिन् ।
बरालले भनिन्, ‘जनयुद्धको आधार क्षेत्र हो । यहाँ प्रचण्डमात्र होइन, माओवादीबाट जो उठे पनि जित्छ ।’ प्रचण्डलाई सुरक्षित क्षेत्र खोज्नुभन्दा पनि स्थानीयले नै यहाँको विकास निर्माण लगायतका कामको नेतृत्व लिन आग्रह गरे बमोजिम उम्मेदवारी दिने मनस्थितिमा पुगेको उनको भनाइ छ ।
प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बन्ने भएपछि यहाँ कार्यकर्ताहरू उत्साह र जनतामा आश पलाएको बरालले बताइन् ।

रुकुम पूर्व माओवादी आन्दोलनको ‘गढ’ मानिन्छ । प्रतिनिधि सभा अन्तर्गत एउटामात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा माओवादीबाट ०७० मा गणेशमान पुन, ०७४ मा कमला रोका, ०७९ मा पूर्णबहादुर घर्तीले चुनाव जितेका छन् ।
घर्ती १२ हजार ६६२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए । ०७९ को निर्वाचनमा माओवादी र नेपाली कांग्रेसबिच गठबन्धन भएको थियो ।
रुकुम पूर्वका एमाले नेता लीलामणि गौतमका अनुसार अहिले पनि यहाँ नेकपा पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो शक्तिका रूपमा छ । यहाँ वैकल्पिक राजनीतिक शक्ति भनिएका रास्वपा लगायत नयाँ दलको खासै प्रभाव नरहेको स्थानीयको भनाइ छ ।
रास्वपाका जिल्ला अध्यक्ष लखन थापा पनि आफ्नो पार्टी संगठन विस्तारकै क्रममा रहेको बताउँछन् । रुकुम पूर्वमा तीन वटा गाउँपालिका छन्, जसमा माओवादीकै जननिर्वाचित प्रतिनिधि छन् । यद्यपि रास्वपाले निर्वाचनसम्ममा आफ्नो जनाधार बनाइसक्ने थापाको दाबी छ ।
विकास निर्माणको निरन्तरता, पारदर्शिता, बेरोजगारी जस्ता विषयमा स्थानीयहरूको गुनासो रहेको बताउँदै थापाले प्रचण्डलाई अब इतिहास देखाएर राजनीति गर्न यहाँ सजिलो नहुने बताए । उनी प्रचण्डलाई चुनावमा आफूले गतिलो चुनौती दिने दाबी गर्छन् ।
यहाँ एमालेबाट उम्मेदवारका लागि चिन्तामणि दाहाल, खेममान बुढा, गोपाल सुनारको नाम केन्द्रमा सिफारिस भएको छ । कांग्रेसबाट पनि जिल्लाले उम्मेदवार सिफारिस गरिसकेको छ । यद्यपि आन्तरिक विवादका कारण कांग्रेसको प्रभाव रुकुम पूर्वमा खासै नरहने स्थानीय बताउँछन् । ०७९ को निर्वाचनमा माओवादीलाई सघाएको कांग्रेस अहिले आन्तरिक रुपमा विभाजित छ । त्यसैले कांग्रेसका मतदाता कता मोडिन्छन् भन्ने विषयले पनि चुनाव परिणामलाई प्रभावित पार्न सक्छ ।
निर्वाचन क्षेत्र फेरिरहन्छन् प्रचण्ड

प्रचण्ड संसदीय राजनीतिमा आइसकेपछि पटक–पटक निर्वाचन क्षेत्र फेर्ने गरेका छन् । हरेक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्ने भएकाले उनलाई कतिपयले ‘अस्थिर नेता’ भन्ने गरेका छन् भने कतिपयले ‘पराजयको डरबाट सहज निर्वाचन क्षेत्र खोज्दै हिँड्ने नेता’ पनि भन्दै आएका छन् ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट उम्मेदवारी दिएर दुवै क्षेत्रमा विजय हासिल गरेका प्रचण्ड २०७० सालको संविधान सभा निर्वाचनमा काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवार बने । उक्त निर्वाचनमा उनी काठमाडौँ–१० मा पराजित भए भने सिराहाबाट निर्वाचित भए ।
२०७४ सालमा बाम गठबन्धन गर्दैै उनी चितवन–३ बाट निर्वाचित भए । २०७९ सालमा चितवन छाडेर गोरखा–२ मा पुगेर उनी जनयुद्धका सहयात्री डा.बाबुराम भट्टराईको समर्थनमा उनकै निर्वाचन क्षेत्रबाट विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण