सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदर्शनकारीलाई मृत्युदण्ड दिने इरानको योजना छैन : ट्रम्प

बिहीबार, ०१ माघ २०८२, ११ : ३८
बिहीबार, ०१ माघ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने योजना नरहेको बताएका छन्।
  • इरानमा आर्थिक असन्तुष्टिबाट सुरु भएको प्रदर्शन धार्मिक नेतृत्वविरुद्धको आन्दोलनमा परिणत भयो।
  • अमेरिका र बेलायतले सुरक्षा चिन्ताका कारण कतार र तेहरानमा रहेका आफ्ना कर्मचारी फिर्ता बोलाए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा समातिएका प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कुनै योजना नरहेको दाबी गरेका छन् । प्रदर्शन दबाउन कडा दमन भइरहेको अवस्थामा इरानविरुद्ध अमेरिकी सैन्य कारबाही गरिने कुरालाई पूर्ण रूपमा अस्वीकार नगरेको पनि उनले स्पष्ट पारेका छन् ।

विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा इरानमा हत्या रोकिँदै गएको र मृत्युदण्ड दिने योजना नरहेको थाहा भएको ह्वाइट हाउसमा बुधबार सम्बोधन गर्दै ट्रम्पले बताएका छन् ।

पत्रकारको प्रश्नमा उनले अर्को पक्षका अत्यन्तै महत्त्वपूर्ण स्रोतहरूले यस्तो जानकारी दिएको र ती विवरण सत्य हुने आशा व्यक्त गरे । इरानमा डिसेम्बरको अन्त्यतिर डलरको तुलनामा इरानी रियालको भाउ कीर्तिमानी न्यून स्तरमा झरेपछि प्रदर्शनहरू भएका थिए । सुरुमा आर्थिक असन्तोषका रूपमा देखिएको यो प्रदर्शन केही दिनमै धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठाउने व्यापक आन्दोलनमा परिणत भएको थियो ।

यसअघि ट्रम्पले इरानी सरकारले प्रदर्शनकारीलाई मृत्युदण्ड दिए अत्यन्तै कठोर कदम चालिने चेतावनी दिएका थिए । प्रदर्शनका क्रममा पक्राउ परेका २६ वर्षीय एरफान सोल्तानीलाई मृत्युदण्ड सुनाइएको समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय स्तरमा इरानको आलोचना भएको थियो ।

सोल्तानीलाई बुधबार मृत्युदण्ड दिने तयारी रहेको बीबीसी पर्सियनसँग कुरा गर्दै उनको परिवारले बताएका थिए । तर पछि कुर्द मानवअधिकार समूह हेंगावलाई सोल्तानीको मृत्युदण्ड स्थगित गरिएको जानकारी परिवारले दिएको थियो ।

यसैबिच सुरक्षा चासो बढ्दै गएपछि अमेरिका र बेलायत दुवैले कतारस्थित अल–उदेइद हवाई अड्डामा रहेका आफ्ना केही कर्मचारी फिर्ता बोलाएका छन् । अमेरिकी अधिकारीहरूले यो कदमलाई सावधानी स्वरूप गरिएको आंशिक फिर्ती भनेका छन् । रातभर इरानी हवाई क्षेत्रका अधिकांश उडान झन्डै पाँच घण्टा बन्द गरिएको थियो, जसका कारण धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान मार्ग परिवर्तन गर्नुपरेको थियो ।

बेलायतले पनि तेहरानस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरी टाढाबाट सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । बेलायती विदेश मन्त्रालयका अनुसार कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो ।

इरानको आन्तरिक अवस्थाले मध्यपूर्वमा थप तनाव सिर्जना गर्ने आशङ्का बढिरहेका बेला अमेरिकी र बेलायती कदमलाई कूटनीतिक तथा सुरक्षात्मक सन्देशका रूपमा हेरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप