शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीप्रति भावना राउतको आक्रोशः ‘तपाईंको पुस्तानै धोकेबाज रहेछ’

बिहीबार, ०१ माघ २०८२, १३ : २०
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैली र निर्वाचन सुधारप्रति सरकारको उदासीनतामाथि आक्रोश पोखेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्रीसहित सरकारका शीर्ष नेतृत्वले युवालाई मताधिकारबाट वञ्चित गरिरहेको आरोप लगाएकी हुन् ।

राउतका अनुसार नागरिक सरकार बनेको केही समयपछि प्रधानमन्त्री, सञ्चारमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा अन्य सरोकारवालासहित भएको करिब तीन घण्टे बैठकमा उनले बेजिल्ला मतदान, ‘नोटा’ (कुनै पनि होइन) र विदेशबाट मतदानको विषय उठाएकी थिइन् । ती सुधार किन आवश्यक रहेको र आर्थिक कारणले कति युवा मतदानबाट वञ्चित छन् भन्ने कुरा तथ्यांकसहित प्रस्तुत गरिएको उनले उल्लेख गरेकी छन् ।

उक्त बैठकमा प्रधानमन्त्रीले चासो देखाउँदै ‘यी सुधार गर्नैपर्छ, नत्र जेन–जी आन्दोलनका घाइतेले समेत मतदान गर्न नपाउने अवस्था हुन्छ’ भन्ने प्रतिक्रिया दिएको उनको भनाइ छ । त्यसपछि यो विषय कार्यान्वयनमा जान्छ भन्ने विश्वास आफूमा पैदा भएपनि अहिले ठिक विपरीत भएको उनले बताइन् । 

पछि निर्वाचन आयोग, गृहमन्त्री र प्रधानमन्त्रीसहित सरकारका विभिन्न पक्षसँग पटक–पटक छलफल भए पनि ठोस प्रगति नभएको उनको आरोप छ । निर्वाचन आयोगले सम्भव छैन नभनेको तर कानुनी आधार नपुगेको जनाएको र त्यसका लागि अध्यादेश आवश्यक भएको निष्कर्षमा आफूहरू पुगेको राउतले उल्लेख गरेकी छन् । तर अध्यादेश प्रधानमन्त्रीको टेबलमै अड्किएको उनको भनाइ छ ।

फेसबुक स्टाटसमा उनले लेखेकी छन्, 'आज फर्केर हेर्दा स्पष्ट छ, प्रधानमन्त्रीज्यू, तपाई|ले धोका दिनुभयो । तपाईँ गतिशील लोकतन्त्रमा विश्वास गर्नुहुन्न । तपाईँ निर्वाचन सुधारमा विश्वास गर्नुहुन्न । तपाईँ युवाको मताधिकारमा विश्वास गर्नुहुन्न ।'

लोकतन्त्र अधिकार सुनिश्चित गरेरमात्र बलियो हुने उल्लेख गर्दै उनले सरकारको निर्णयले फेरि एकपटक युवालाई राजनीतिक प्रक्रियाबाट बाहिर राखिएको आरोप लगाएकी छन् । राउतले प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै भनेकी छन्, ‘तपाईँको पुस्तानै धोकेबाज रहेछ ।’ भ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप