शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘मिश्रित निर्वाचन प्रणाली रहेसम्म चुनावी खर्च घट्दैन, एउटै सिट जित्न १५ करोडसम्म खर्च’

शुक्रबार, ०२ माघ २०८२, १९ : २१
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केशव झाले वर्तमान मिश्रित निर्वाचन प्रणाली कायम रहेसम्म चुनावी खर्च कम गर्न असम्भव रहेको बताएका छन्। निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा बोल्दै उनले निर्वाचन प्रणालीकै कारण खर्चको ग्राफ अनियन्त्रित रूपमा बढिरहेको दाबी गरे।

नेता झाले प्रतिनिधि सभाको एउटा सिट जित्नका लागि उम्मेदवारले १५ करोड रुपैयाँसम्म खर्च गरिरहेको सनसनीपूर्ण खुलासा गरे। आयोगले यसपटक निर्वाचन क्षेत्रको भूगोल र जनसंख्याका आधारमा २९ लाखदेखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा तोकेको भए पनि व्यवहारमा त्यो लागू हुन नसक्ने उनको तर्क छ। हरेक निर्वाचनमा खर्चको सीमा बढ्दै गएको उल्लेख गर्दै उनले आयोगले तोकेको मापदण्ड र वास्तविक खर्चबीच ठुलो खाडल रहेको औँल्याए।

निर्वाचन आचारसंहिता निर्माण गर्दा कार्यान्वयन गर्न सकिने खालको मात्र बनाउनुपर्नेमा झाले जोड दिए। "एकातिर हामी चुनावी खर्च घटाउने कुरा गर्छौँ, तर अर्कोतिर जित्ने ठाउँमा उम्मेदवारले ५ देखि १० करोड सजिलै खर्च गरिरहेका छन्," उनले भने, "मिश्रित प्रणाली हुन्जेल जति कोसिस गरे पनि खर्च घटाउन सकिँदैन, यो झन् बढेर जान्छ।"

आयोगले धेरै कडा आचारसंहिता बनाउँदा त्यसको पालना नहुने र कार्यान्वयनमा जटिलता आउने तर्फ उनले ध्यानाकर्षण गराए। उनले अव्यावहारिक नियम बनाउनुभन्दा राजनीतिक दल र उम्मेदवारले पालना गर्न सक्ने गरी प्रणालीमै सुधार गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा अन्य राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचन खर्च र आचारसंहिताका व्यावहारिक कठिनाइबारे आफ्ना धारणा राखेका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप