चिकित्सक लाइसेन्स परीक्षा अब सातै प्रदेशबाट, काउन्सिलको निर्वाचन पनि अनलाइन हुने
सारांश
- नेपाल मेडिकल काउन्सिलले अब सातै प्रदेशबाट चिकित्सक लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।
- काउन्सिलले आगामी निर्वाचन अनलाइनमार्फत गर्ने निर्णय गरेको छ, जसले चिकित्सकको सहभागिता बढाउनेछ।
- यस निर्णयले चिकित्सकको समय र खर्च बचत हुनुका साथै परीक्षा प्रणालीमा पारदर्शिता ल्याउने विश्वास छ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अबदेखि सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ। लाइसेन्स परीक्षाका लागि देशभरका चिकित्सक काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य गर्दै काउन्सिलले यस्तो निर्णय गरेको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट हटाउन सातै प्रदेशबाट परीक्षा लिने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार प्रदेशका कुन–कुन स्थानमा परीक्षा केन्द्र राख्ने भन्नेबारे भने निर्णय हुन बाँकी छ। सातै प्रदेशबाट परीक्षा सञ्चालन गर्दा परीक्षार्थीको समय र खर्च बचत हुने मात्र नभई परीक्षा प्रणालीको पारदर्शिता र गुणस्तर समेत वृद्धि हुने काउन्सिलको विश्वास छ।
यसैगरी काउन्सिलले आफ्नो आगामी निर्वाचन पनि अनलाइनमार्फत गर्ने महत्वपूर्ण निर्णय गरेको छ। निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउन तथा सबै चिकित्सकको सहभागिता सुनिश्चित गर्न अनलाइन मतदानको व्यवस्था गर्न लागिएको डा. देवले बताए।
"चिकित्सक जहाँ हुनुहुन्छ, त्यहीँबाट अनलाइन मतदान गर्न सक्नुहुन्छ," डा. देवले भने, "सधैँ बिरामीको उपचारमा खटिने चिकित्सकहरूलाई यो व्यवस्थाले निर्वाचनमा सहभागी हुन सजिलो बनाउनेछ।" यसअघि मतदानका लागि भौतिक रूपमा उपस्थित हुनुपर्दा धेरै चिकित्सक निर्वाचन प्रक्रियाबाट बाहिरिने गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण