आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तोरकीन’का शब्द, शिल्पीलाई सामान्य पाठकको खुला पत्र !

शनिबार, ०३ माघ २०८२, ११ : ०५
शनिबार, ०३ माघ २०८२

प्रिय लेखक क्षितिज समर्पण,

अक्षरसँगै सामीप्यता र असीम माया !

तपाईँको नवीन कृति ‘तोरकीन’ बजारमा आउँदै छ भन्ने खबरले करिब ९–१० महिना अघि नै मेरो मनमा एक प्रकारको कौतुहलता जगाइसकेको थियो । जब पुस्तक विमोचन भयो, देश जेनजी आन्दोलनको रापतापमा थियो । दसैँ–तिहारको अवसर पारेर ‘तोरकीन’ ले देशभरका सहरहरूसँग मितेरी गाँस्दै गर्दा यो पुस्तक मेरो गृह जिल्ला सुर्खेतको आँगनमा पनि पुगिसकेको जानकारी तपाईँबाटै पाएको थिएँ ।

एउटा पाठकका लागि प्रिय लेखकको कृति हातमा पर्दा जति उत्साह हुन्छ, त्यसलाई पढ्न नपाउँदा त्यति नै छटपटी हुँदो रहेछ । इन्टर्नसिपको धपेडी, मिड–टर्म परीक्षाको चाप, रिपोर्ट लेखनको तयारीबिच मेरो अध्ययनको साइत अलि ढिला जुर्न पुग्यो । कसैलाई देखाउनका लागि मात्र पढ्नु हुन्थ्यो भने म यसलाई पहिल्यै सिध्याउन सक्थेँ । 

तर मलाई त एक निष्ठावान् पाठक बनेर ‘तोरकीन’ को शिल्पसँग जीउनु थियो । अन्ततः बीएएलएलबी नवौँ सेमेस्टरको परीक्षा सकेर हिउँदे बिदाको फुर्सदमा, त्यो पनि सुखद संयोगवश तपाईँकै जन्मदिनको अवसर पारेर मैले पुस २८ गते यो उपन्यास सुरु गरेँ र २९ गते बिहान यसको अन्तिम पृष्ठसम्म पुग्दा मभित्र एउटा अर्कै संसार निर्माण भइसकेको थियो ।

प्रिय लेखक,

तपाईँको पहिलो उपन्यास ‘तोरकीन’ मैले सोचेभन्दा धेरै गहिरो, मैले सुनेका प्रतिक्रियाभन्दा धेरै उत्कृष्ट र मैले अपेक्षा गरेभन्दा कयौँ गुणा जीवन्त पाएँ ।

‘तोरकीन’ को भाषा शैली यति सलल बगेको छ कि मलाई लाग्छ, मुस्ताङको कालीगण्डकीको प्रवाह पनि कति ठाउँमा रोकिएला, तर यो उपन्यासको भाव कतै अवरुद्ध छैन । शब्दहरू यसरी भावमा डुबेका छन्, मानौँ छेवाङले छ्याङको बटुकामा ओठ चोपेझैँ पाठकको मन पनि उपन्यासको रसमा चोपलिन्छ । 

‘तोरकीन’ ले मेरा यी आँखालाई माथिल्लो मुस्ताङको त्यो धुलाम्मे हावा, च्याङ्ग्रा र घोडाहरूको टाप, झोपा र चौँरी गोठालाहरूको सुस्केरा, गुम्बाको शान्ति र तिजी मेलाको रौनक प्रत्यक्ष देखाइदियो । पढ्दै जाँदा कतिखेर म आफैँ ‘छेवाङ’ बनेर हिमालका उकाली–ओराली गरिरहेँ, पत्तै पाइनँ । मुखियाको रोहबरमा घर समाजमा हुने ती छलफलहरूमा म पनि एउटा मौन साक्षी बनेर बसेको आभास भयो मलाई ।

चराङ, मराङ, लोमान्थाङदेखि जोमसोम र पोखरासम्मको त्यो पदयात्राले मस्तिष्कमा एउटा सुन्दर वृत्तचित्र कोरिदिएको छ । माथिल्लो मुस्ताङको जन्म, मृत्यु र विवाहका संस्कारहरूलाई तपाईँले समाजशास्त्रीय दृष्टिकोणले यति सूक्ष्म ढङ्गले उत्खनन गर्नुभएको छ, मानौँ यो पुस्तक एउटा जातिका लागि मात्र नभई सिङ्गो हिमाली जीवनको महत्त्वपूर्ण अभिलेख हो ।

राज्यको मूलधारबाट टाढा हुनुको पीडा, पहिचानको सङ्कट, सरकारी कागजात र पञ्जीकरणमा हुने सास्तीदेखि शिक्षाको पहुँच र भाषा सिक्ने तिर्खासम्मका कुराहरूले मन अमिलो बनायो । साथै, तिब्बतसँगको सिमाना र हाम्रो कूटनीतिक सम्बन्धको यथार्थलाई पनि उपन्यासले बडो सटिक रूपमा चित्रण गरेको छ । 

नेपालको जल्दोबल्दो बेरोजगारी समस्या, नक्कली शरणार्थी बनेर अमेरिका पलायन हुने सपना र गाउँहरू रित्तिँदै जाने ‘बसाइसराइ’ को कहालीलाग्दो चित्रले सिङ्गो देशकै ऐना प्रस्तुत गरेको छ ।

छेवाङ र पेम्बाको मित्रताले साथीको परिभाषालाई नयाँ उचाइ दिएको छ । सुख–दुःखमा एउटा साथीले खेल्नुपर्ने भूमिका र अभिभावकले अन्तिम क्षणमा दिएको वचनलाई सन्तानले पूरा गरेको कर्तव्यले भावुक बनाउँछ । कथाभित्रका साना कथानकहरूले सामाजिक सिकाइ र मनोविज्ञानलाई झनै राम्रो गरी उकेरेका छन् ।

म कानुनको विद्यार्थी भएकाले पनि होला, गाउँको मुखियाले गर्ने फैसलादेखि अदालतका न्यायाधीशले सुनाउने आदेशसम्मका ती चुनौती र यथार्थलाई मैले विशेष अभिरुचिका साथ नियालेँ । आर्थिक रूपमा मध्यमवर्गीय जीवनको सङ्घर्षलाई पनि तपाईँले न्यायोचित ढङ्गले प्रस्तुत गर्नुभएको अनुभूत भयो ।

मैले बुझेको ‘तोरकीन’ शब्दहरूको थुप्रो मात्रै होइन; यो त भावनाहरूको पुञ्ज हो । सपनाहरूको लहर हो । र, सम्झनाहरूको सङ्ग्रह हो । यो त सम्बन्धहरूको गहिराइ, सङ्घर्षको पराकाष्ठा, प्रकृतिको सुन्दरता र जीवनको पूर्णताको अर्को नाम हो ।

यदि कसैले मलाई जीवनको परिभाषा के हो ? भनेर सोध्छ भने म निस्सन्देह भन्छु– तोरकीन । यदि कसैले आफूलाई संसारकै अभागी ठान्छ भने उसलाई अरूको दुःख बुझ्न लगाउने कथा हो तोरकीन । कसैले मलाई मुस्ताङको सुगन्ध कस्तो हुन्छ भनेर सोध्छ भने, म त्यहाँ नपुगेरै पनि गौरवका साथ वर्णन गर्न सक्ने आत्मविश्वास हो– तोरकीन । 

कसैले मलाई कुनै एउटा राम्रो पुस्तकको सिफारिस माग्छ भने, मेरो मुखमा आउने पहिलो नाम हुनेछ– तोरकीन ।

प्रकृति, समाज, यौवन, प्रेम, कला–संस्कृति, न्याय र भावनाको यस्तो अनुपम सम्मिश्रण पाठक माझ पस्कनु भएकोमा लेखकप्रति आभार व्यक्त गर्दछु । तोरकीनले नेपाली साहित्यमा निश्चय नै एउटा नयाँ उचाइ कायम गर्ने नै छ । र, यो यात्रा अझै लम्बिँदै जाओस् भन्ने कामना गर्दछु । 

आगामी दिनमा तपाईँको कलमबाट यस्तै थप कालजयी कृतिहरू पढ्न पाइयोस् ।

उही तपाईँको पाठक,

दिपेन्द्र बिसी ‘दिपु’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेन्द्र बि.सी. ‘दिपु’
दिपेन्द्र बि.सी. ‘दिपु’
लेखकबाट थप