बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रामेश्वर राय यादवले किन छाडे नेकपा ?

आइतबार, ०४ माघ २०८२, १७ : ०५
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव पार्टी छाडेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्न लागेका छन् । आइतबार जसपा नेपालको कार्यालयमै पुगेर उनले अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरे ।  

नेकपा छाडेका यादवले जसपा नेपालमा जाने निश्चित भइसकेको बताए । ‘त्यसकै छलफलका लागि पार्टी कार्यालय जाँदा फोटो बाहिर आएको हो । तर प्रवेश नै गरेको छैन कुराकानी चलिरहेको छ,’ उनले भने । 

नेकपामा आफूले अपमानित महसुस गरेकाले त्यहाँ बस्न नसकेको बताए । जसपा नेपालमा पुराना नेताहरु पनि फर्किरहेकाले आफू पनि फर्किन लागेको यादवको भनाइ छ । 

नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका नेता यादव मधेस आन्दोलनपछि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । पछि विजयकुमार गच्छदार त्यहाँबाट अलग भएपछि उनकै साथमा नेता यादव पनि अलग भएका थिए । गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।

तर गच्छदारले पार्टीलाई कांग्रेसमा विलय गराएपछि यादव तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) प्रवेश गरे । २०७४ सालमा सर्लाही क्षेत्र नम्बर ३ बाट चुनाव जितेका उनी श्रममन्त्री समेत भए । २०७९ सालको चुनावमा उनी पराजित भएका थिए । सर्लाही–३ बाट उनी चुनाव लड्ने तयारी गरेका थिए, तर नेकपाले नारायणकाजी श्रेष्ठलाई टिकट दिएपछि यादव रुष्ट बनेका छन् । 

सर्लाही-३ मा माओवादीको जनाधार राम्रो देखिएकाले नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको बताइन्छ । यादवले भने, ‘त्यो क्षेत्रबाट माओवादीले कहिल्यै चुनाव जित्दैनथ्यो । म त्यहाँ गएपछि संगठन राम्रो भएको हो, चुनाव लड्छु भनेर तयारी गरिरहेको थिएँ, तर अचानक गोर्खामा चुनाव लड्ने व्यक्तिलाई त्यहाँ गएर टिकट दिँदा म आफूलाई अपमानित महसुस गरें र त्यहाँबाट बिदा भएको हुँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप