लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
सारांश
- लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने वा मन्त्री फिर्ता बोलाउने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल कुनै निर्णय नगरी थप छलफल गर्ने भएको छ ।
- कांग्रेस संसदीय दलले बोलाएको बैठकमा सरकारको भविष्यबारे विस्तृत छलफल भए पनि कुनै ठोस निर्णय हुन नसकेको र भोलि बिहान पुनः बैठक बस्ने जानकारी दिइएको छ ।
- अन्य प्रदेशमा विकसित राजनीतिक घटनाक्रम तथा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श भइरहेको र भोलिको बैठकमा मन्त्रीहरूले राजीनामा दिने, समर्थन फिर्ता लिने वा अन्य राजनीतिक विकल्पबारे निर्णय गरिनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल कुनै निर्णय नगरी थप छलफल गर्ने भएको छ ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी कांग्रेसका मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका थिए । बैठकमा सरकारको भविष्यबारे विस्तृत छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेन ।
चौधरीले रातोपाटीसँग कुरा गर्दै आजको बैठक निष्कर्षमा नपुगेकाले भोलि बिहान पुनः बैठक बस्ने जानकारी दिए । उनका अनुसार भोलिको बैठकमा मन्त्रीहरूले राजीनामा दिने, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अन्य राजनीतिक विकल्पबारे निर्णय गरिनेछ । उनले अन्य प्रदेशमा विकसित राजनीतिक घटनाक्रम तथा प्रदेश सभापति अमरसिंह पुन र पार्टीको केन्द्रीय नेतृत्वसँग पनि निरन्तर परामर्श भइरहेको बताए ।
कांग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार आजको बैठकमा प्रमुख सचेतक, सचेतक तथा तीन जना मन्त्री सहभागी भएका थिए । दुई मन्त्री काठमाडौंमा रहेकाले उनीहरू भोलि बिहान बुटवल आइपुग्ने र त्यसपछि मात्रै सामूहिक निर्णय गरिने उनले बताइन् ।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन् । तर सरोज थापा र देवकरण प्रसाद कलवार काठमाडौंमा रहेकाले आजको बैठकमा उपस्थित हुन सकेनन् ।
लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन् । एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सांसद छन् । कांग्रेस र नेकपाको समर्थन जोड्दा ४० सांसद पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत पुर्याउन साना दलहरूको समर्थन निर्णायक बन्ने देखिएको छ । हालको राजनीतिक समीकरणमा कांग्रेसले लिने निर्णयले लुम्बिनी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण