सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गोरखा–१ बाट उम्मेदवारी नदिने बजगाईंको घोषणा

आइतबार, ०४ माघ २०८२, १९ : ५८
आइतबार, ०४ माघ २०८२

सारांश

  • राजेन्द्र बजगाईंले पार्टीभित्रको संस्थागत अन्योल र नैतिक विचलनप्रति असन्तुष्टि जनाउँदै आगामी निर्वाचन नलड्ने घोषणा गरे।
  • उनले निर्वाचनलाई जनता र सत्ताबीचको नैतिक सम्झौताको रूपमा लिएका छन्, तर अहिलेको अवस्थालाई उनले लोकतन्त्रको क्षयको रूपमा व्याख्या गरे।
  • बजगाईंले पार्टीभित्र नियम शक्तिशालीका लागि लचिलो र इमानदारका लागि कठोर रूपमा लागू हुने गुनासो गर्दै युवा पुस्ता अवसरवादतर्फ ढल्केको आरोप लगाए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीभित्र देखिएको संस्थागत अन्योल, नैतिक उल्टोपन र आन्तरिक लोकतन्त्रको क्षयप्रति असन्तुष्टि जनाउँदै आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

उनले गोरखा–१ बाट टिकट लिने विषयमा आफूलाई विश्वास नरहेको स्पष्ट गर्दै यसलाई “डिस्कोथेक वा एनजिओ क्लाउडलाई बिक्री गर्न” सकिने टिप्पणी गरेका छन् ।

बजगाईंले आइतबार सार्वजनिक गरेको अपिलमा निर्वाचनलाई लोकतन्त्रको औपचारिक मिति मात्र नभई जनता र सत्ताबिचको नैतिक सम्झौता भएको उल्लेख गरेका छन्। तर त्यो सम्झौता अस्पष्ट, नियन्त्रित र कर्मकाण्डमा सीमित बन्दै गएको अवस्थामा निर्वाचनमा सहभागी हुनु लोकतन्त्रको अभ्यास नभई त्यसको क्षयलाई वैधता दिनुजस्तै हुने उनको तर्क छ ।

उनका अनुसार नेपाली कांग्रेसभित्र आज गहिरो संस्थागत अन्योल व्याप्त छ। नियमित र विशेष महाधिवेशनको द्वन्द्व, संसद् पुनर्स्थापनासँग जोडिएको वैधताको अस्पष्टता, र अधिकार कसको भन्ने प्रश्नले पार्टीलाई नै अलमलमा पारेको छ। “पुरानो कार्यसमितिको निर्वाचित वैधता कसको हो? विघटित प्रतिनिधिसभाका वास्तविक प्रतिनिधि को हुन्? यस्ता आधारभूत प्रश्नमै स्पष्टता नहुँदा सहभागितासमेत अर्थहीन बन्छ,” उनले अपिलमा उल्लेख गरेका छन् ।

बजगाईंले पार्टीभित्र नियम शक्तिशालीका लागि लचिलो र इमानदारका लागि कठोर रूपमा लागू हुने अनुभूति बढ्दै गएको बताए। यस्तो अवस्थामा निर्वाचन विचार र क्षमताको प्रतिस्पर्धा नभई पहिल्यै तय गरिएको परिणामको औपचारिक पुष्टि मात्र बन्ने उनको भनाइ छ ।

राजनीतिक संस्कृतिमा आएको नैतिक गिरावटप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्। आन्दोलन, पार्टी निर्माण र सङ्कटका बेला योगदान गर्नेहरू उपेक्षित हुने, त्याग र सेवाको कदर नहुने अवस्थाले राजनीति नैतिक आधारबाट विचलित भएको उनको आरोप छ। “यस्तो राजनीतिमा नेतृत्व सेवा होइन, सौदा बन्छ,” उनले भनेका छन् ।

युवापुस्ताको आन्दोलनसमेत सिद्धान्तभन्दा अवसरवादतर्फ ढल्किएको अनुभूति व्यापक रहेको उल्लेख गर्दै बजगाईंले दिशाहीन र जोखिमपूर्ण प्रक्रियामा गम्भीर नेताहरू आफ्नो नाम जोड्न नचाहने स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप