बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फेसन जगतको एउटा युगको अन्त्य: प्रख्यात डिजाइनर भ्यालेन्टिनोको निधन

मङ्गलबार, ०६ माघ २०८२, १० : १०
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • प्रसिद्ध इटालियन फेसन डिजाइनर भ्यालेन्टिनो गाराभानीको ९३ वर्षको उमेरमा निधन भयो।
  • उनले हलिउड स्टार र पूर्व प्रथम महिलाहरूको लागि डिजाइन गरेका लुगाहरू निकै चर्चित थिए।
  • भ्यालेन्टिनोको पहिचान 'भ्यालेन्टिनो रेड' रङ र विलासी फेसनका लागि थियो।

रोम । विश्व प्रसिद्ध इटालियन फेसन डिजाइनर भ्यालेन्टिनो गाराभानीको ९३ वर्षको उमेरमा निधन भएको छ । २० औँ शताब्दीका फेसन आइकन मानिने भ्यालेन्टिनोको रोमास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूको उपस्थितिमा निधन भएको भ्यालेन्टिनो गाराभानी एन्ड जियानकार्लो जियामेटी फाउन्डेसनले जनाएको छ ।

सन् १९६० मा ‘भ्यालेन्टिनो फेसन हाउस’ स्थापना गरेका उनी जर्जियो अर्मानी र कार्ल लेगरफेल्ड जस्ता दिग्गज डिजाइनरहरूसँगै विश्व फेसनको शिखरमा रहेका थिए । उनले डिजाइन गरेका पोसाकहरू हलिउड स्टार एलिजाबेथ टेलर, जुलिया रोबर्ट्स, ग्वेनेथ पाल्ट्रो, शेरोन स्टोन र अमेरिकाकी पूर्व प्रथम महिला न्यान्सी रेगन लगायतका चर्चित व्यक्तित्वहरूले पहिरिएका थिए ।

सन् १९३२ मा इटालीको लोम्बार्डीमा जन्मिएका भ्यालेन्टिनो १७ वर्षको उमेरमै फेसन अध्ययनका लागि पेरिस पुगेका थिए । विलासी र भव्य फेसन कलेक्सनका लागि चिनिने उनको पहिचान ‘भ्यालेन्टिनो रेड’ रङसँग जोडिएको थियो ।

 स्पेन भ्रमणका क्रममा प्रभावित भएर उनले सुरु गरेको रातो रङको प्रयोग फेसन दुनियाँमा निकै चर्चित बन्यो । उनको सम्मानमा सन् २००८ को अन्तिम कलेक्सनमा सबै मोडलहरूले रातो पहिरन लगाएर र्‍याम्पमा उत्रिएका थिए ।

भ्यालेन्टिनोले सन् २०१३ मा स्विडेनकी राजकुमारी मेडेलिनको विवाहको पोसाक समेत डिजाइन गरेका थिए । सन् २०२३ मा उनलाई लन्डनको रोयल अल्बर्ट हलमा आयोजित ‘ब्रिटिस फेसन अवार्ड्स’मा ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । 

फाउन्डेसनका अनुसार उनको पार्थिव शरीरलाई जनवरी २१ र २२ मा अन्तिम श्रद्धाञ्जलीका लागि रोमको पियाजा मिग्नानेलीमा राखिनेछ र त्यसको भोलिपल्ट अन्तिम संस्कार गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप