रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा पेसी तोकियो
सारांश
- रवि लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ।
- रिटमा महान्यायाधिवक्ताको निर्णयलाई गैरकानूनी र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ।
- महान्यायाधिवक्ताले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गरेकी थिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।
सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने चेतावनी पनि रिटमा उल्लेख गरिएको छ । मिलापत्र गर्न नमिल्ने सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौँ बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीलाई स्थानान्तरण गर्न जग्गा प्लट मिलान तथा पूर्वाधार अध्ययन समिति गठन
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण