मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

माओवादीको आधार क्षेत्र रुकुम पूर्वमा एक्ला ‘हेभीवेट’ उम्मेदवार प्रचण्ड

मङ्गलबार, ०६ माघ २०८२, १६ : ०३
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । हरेक निर्वाचनमा फरक–फरक क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् । माओवादी आधारभूमि रहेको रुकुम पूर्वमा प्रचण्डले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।

तीन पटक प्रधानमन्त्री बनेका प्रचण्ड निर्वाचन जितेर चौथो पटक सिंहदरबार छिर्ने दाउमा छन् । रुकुम पूर्वमा कांग्रेसले कुशुम थापामगर, एमालेले लीलामणि गौतमलाई उम्मेदवार बनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दिप पुनलाई उम्मेदवार बनाएको छ ।

प्रतिस्पर्धीको तुलनामा प्रचण्ड ‘हेभीवेट’ उम्मेदवार हुन् । २०६४ सालदेखि लगातार माओवादीले निर्वाचन जितेको क्षेत्रलाई यस पटक प्रचण्डले रोजेका हुन् । यहाँ २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला घर्तीमगरलाई कांग्रेसले समर्थन गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश कुमार मल्लले पाँच हजार २११ मत पाएका थिए ।

योपटक माओवादीको विरासत जोगाउने जिम्मा प्रचण्डको काँधमा आएको छ । उनी अघिल्लो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । समग्रमा ३२ सिट जितेर पार्टी तेस्रो स्थानमा रहे पनि प्रचण्डले कांग्रेस र एमालेसँग मिलेर १८ महिना सरकारको नेतृत्व गर्ने मौका पाएका थिए ।

१० वर्षे माओवादी जनयुद्धको सुप्रिमो कमाण्डरसमेत रहेका उनले शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । त्यतिबेला काठमाडौँ–१० र रोल्पा–२ बाट उनी भारी मतले विजयी भए । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौँ–१० र सिराहा–३ बाट उम्मेदवारी दिएका थिए । तर, काठमाडौँ–१० मा पराजित भएका प्रचण्ड सिराहा–३ बाट झिनो मतले विजयी भए ।

२०७४ सालको निर्वाचनमा उनी गृहजिल्ला चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनपछि सत्ताका लागि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेको आरोप खेपेका उनी योपटक एक्लै चुनावी मैदानमा उत्रिएका छन् । रुकुम पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका पर्दछन् । यी सबै पालिका प्रमुख साविक माओवादीले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप