बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिन्धुली–२ नेकपाका राजन विरुद्ध महेश्वरको बागी उम्मेदवारी, को–को छन् मैदानमा ?

मङ्गलबार, ०६ माघ २०८२, २० : १६
मङ्गलबार, ०६ माघ २०८२

मकवानपुर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर–२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा एकै पार्टीमा आबद्ध २ जनाले उम्मेदवारी दिएका छन् । 

सिन्धुली–२ तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी–नेकपा) को पकड क्षेत्रको रूपमा व्याख्या गरिन्छ । नेकपाको बलियो उपस्थिति रहेको सो क्षेत्रमा लेखनाथ दाहाल ‘राजन’ आधिकारी उम्मेदवार हुन् । राजन विरुद्ध नेकपाका महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । महेश्वरले टिकट वितरणमा असन्तुष्टि व्यक्त गर्दै नेकपाबाट विद्रोही उम्मेदवार बनेका हुन् । 

टिकट वितरणको असन्तुष्टिका कारण राजनलाई चुनौती दिँदै प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष समेत रहेका महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । राजन गत निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

पार्टीले टिकट वितरणमा कमजोरी गरेको भन्दै महेश्वरले बुधबार सो क्षेत्रमा बागी उम्मेदवार हालेका हुन् । उम्मेदवारी दर्तामा उनी एक्लै छैनन् । नेकपा नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज वसन्त माझी, संयोजक पानीराज बम्जन सहित केन्द्रीय सदस्य र जिल्ला पदाधिकारीहरूको समर्थन रहेको छ । उम्मेदवारी दर्तामा समेत सँगै रहेका उनीहरू मध्ये गजुरेल महेश्वरको प्रस्तावक छन् भने बम्जन समर्थक रहेका छन् । 

को को छन् सो क्षेत्रमा उम्मेदवार ?

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको उम्मेदवारहरूको नामावली अनुसार सो क्षेत्रमा कुल १६ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपाका राजन र बागी उम्मेदवार महेश्वर सहित सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशिष गजुरेल पनि चुनावी मैदानमा छन् । 

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सुशीला थिङको उम्मेदवारी परेको छ भने राप्रपाबाट मुकुन्द प्रसाद गजुरेल र नेमकिपाबाट रामेश्वरी कोजु पनि प्रतिस्पर्धामा छन् ।

सिन्धुली–२ बाट श्रम संस्कृति पार्टीका इन्द्र बहादुर वि.क., प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का निर्मल कुमार स्याङतान, नेकपा माओवादीबाट बर्त्ये बहादुर राई, मितेरी पार्टी नेपालबाट राजन अछामी, एमालेबाट मनोज जंग थापा, मंगोल नेसनल अर्गनाइजेसनबाट शान्त वीर लामा दलका तर्फबाट उम्मेदवार रहेका छन् ।

स्वतन्त्रबाट महेश्वर सहित खड्ग बहादुर वाइबा, नरहरि पौडेल, माधव प्रसाद न्यौपाने, सरोज वि.क. उम्मेदवार रहेका छन् । कुल १६ उम्मेदवार मध्ये २ जना महिला छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप