डोटीमा ९ जनाको उम्मेदवारी दर्ता
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
सहायक निर्वाचन अधिकृत गम्भीर राना मगरका अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिकाबिच उम्मेदवारी दर्ता सम्पन्न भएको हो।
नेपाली कांग्रेसले यसपटक नेता भरतबहादुर खड्कालाई अघि सारेको छ। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित खड्का २०७० सालमा समानुपातिक सांसद थिए भने २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।
प्रतिपक्षी दल नेकपा एमालेले भने यसपटक युवा अनुहारलाई विश्वास गरेको छ। एमालेले विद्यार्थी राजनीतिबाट उदाएका दीपक धामीलाई उम्मेदवार बनाएको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत रहेका धामीको यो पहिलो संसदीय चुनावी अनुभव हो।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानमा उत्रिएका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट डोटी प्रदेशसभा (ख) बाट जितेका भट्टले पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए।
संसदीय राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका उनी यसअघि २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। जतिबेला उनी तत्कालीन एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग पराजित भएका थिए।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले पार्टीका केन्द्रीय महासचिव मनोज भट्टलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट व्यवसायी पृष्ठभूमि भएका खडक अग्रवाल पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट विद्यार्थी नेता प्रकाश कठायतले मनोनयन दर्ता गराएका छन्। कठायत अखिल (क्रान्तिकारी०)का केन्द्रीय सचिवालय सदस्य तथा पार्टीको जिल्ला इन्चार्ज हुन्।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट खगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
डोटीमा महिला उम्मेदवारका रूपमा मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल मल्लको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत राना मगरले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण