इपिसेन्टर झापा–५ : डराए बालेन, सन्तुलित ओली
रञ्जित तामाङ र केपी शर्मा ओलीबिच छेडखानी, रञ्जितले भने, ‘भत्ता खाने उमेरमा आराम गर्नु राम्रो’
सारांश
- बालेन शाहले झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दर्ता गर्दा सुरक्षा चुनौतीको सामना गरे, जसमा उनलाई धम्की दिइएको अडियो सार्वजनिक भयो।
- मनोनयनको समयमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप भयो भने केपी शर्मा ओलीले शान्तिपूर्ण निर्वाचनको आह्वान गरे।
- कांग्रेस नेता प्रकाश प्रसाईंले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरे, जबकि उनकी श्रीमती कांग्रेसबाट निर्वाचित छिन्।
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र ५ का बारेमा केही दिनदेखि सर्वाधिक चर्चामा थियो । दुई दिन यता त यसको चर्चा झनै चुलियो । उम्मेदवारी मनोनयन पत्र दर्ताको दिन मंगलबार सबैको ध्यान त्यतै केन्द्रित थियो ।
यसरी सबैको ध्यान केन्द्रित हुनुको मुख्य कारण थियो– काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले प्रधानमन्त्री बन्ने लक्ष्यका साथ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्न सोही क्षेत्र रोजेका थिए । मंगलबार दिनभर बालेनको मनोनयन दर्ता, उनको मनस्थिति, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको मनोनयन दर्ता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङदेखि कांग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरिया र राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौलाले उम्मेदवारी दर्ता गर्दासम्म विभिन्न परिदृश्य देखिए ।
_61AnRiWv0t.jpg)
बालेन शाहलाई सुरक्षा थ्रेट !
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बालेन शाह उम्मेदवारी दर्ताको समयमा हतास देखिए । उनी सुरक्षाकर्मीसँग मात्रै होइन, मिडियाकर्मीसँग पनि ‘इरिटेड’ देखिए । मनोनयन दर्ताका लागि एक घण्टाभन्दा बढी समय कुर्नु परेपछि उनमा झनै चिडचिडाहट देखिन्थ्यो ।
सर्वाधिक चासोका साथ हेरिएको उनको उम्मेदवारी दर्ताका लागि टिमको व्यवस्थापन लथालिङ्ग देखियो । अघिल्लै दिन मनोनयनको फारम लगिएको भए पनि त्यो फारम भरेर लगिएन । आवश्यक कागजातहरू पनि निर्वाचन कार्यालय पुगेर जुटाउन सुरु गरियो ।
-(1)_aVtSAB4zkl.jpg)
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवारी दिएका अधिवक्ता यज्ञमणि न्यौपानेले अर्को फारम लिएर विवरणहरू भरिदिएका थिए । फारम भरिसकेर दर्ता गर्न लाग्दा १० हजार दस्तुर नभएपछि बाहिरबाट कसैले दिएको पैसा प्रहरीले लगिदिनु परेको थियो । अर्थात् बालेन शाहको उम्मेदवारी दर्ताका लागि जसरी भिड जम्मा भएको थियो, त्यसरी भने प्राविधिक कुरा नमिलाएको देखियो ।
उम्मेदवारी दर्तामा लागेको समयावधिभर बालेन मिडियाकर्मीलाई बाहिर जान आग्रह गरेर एक्लै बसेका थिए ।
रास्वपा झापाका नेता, कार्यकर्ताहरू उत्साहका साथ सहभागी भए पनि बालेनसँग साक्षात्कार गर्न पाएनन् । उम्मेदवारी दर्ताका लागि जानु अगाडि रास्वपाका समर्थकहरू दमक बजार चोकदेखि पश्चिममा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडि जम्मा भएका थिए । त्यहाँबाट ७–८ हजारको जुलुस लिएर उम्मेदवारी दर्ताका लागि बालेन हिँडेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयमा सोमबारको सहमति अनुसार २५ जनाभन्दा बढी मानिस आयोग परिसर नजाने भन्ने थियो । यद्यपि रास्वपाको कार्यकर्ताको भिड दमक–८, किराँत चोक पूर्वमा रहेको निर्वाचन कार्यालयमा सीमित मान्छेमात्रै प्रवेश गर्न दिने गरी प्रहरीले लगाएको ब्यारिकेट तोडेर ढोल झ्याम्टा, पञ्चेबाजासहित कार्यालय परिसर पुगेको थियो ।
_ag1J1omITb.jpg)
बालेनसहित सीमित सहयोगीलाई मात्रै भित्र प्रवेश गर्न दिने तयारीमा रहेको प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । त्यहीबेला एक प्रहरी अधिकारीले ‘भिड कम गर्नुहोस्’ भन्दा बालेनले भनेका थिए, ‘यो व्यवस्थापन गर्ने काम तपाईंहरूको हो ।’
यति भनेर भित्र प्रवेश गरेका बालेन बाहिर निस्कने प्रतीक्षामा समर्थकहरू बेलाबेलामा हुटिङ गर्दै बसेका थिए । सोमबारको जनकपुरको कार्यक्रम सकेर उर्लाबारीस्थित आफ्नै ससुराली घरमा बसेर मंगलबार झापा ओर्लिएका बालेन कालो रङको कारमा थिए, तर निर्वाचन कार्यालयमा मनोनयन दर्तापछि उनलाई लिन सेतो कार पुगेको थियो ।
बालेनले गाडी किन फेरे ?
१२ घण्टा अगाडि अर्थात् बिहान ६ बजेर ३८ मिनेटमा खुम झाँक्री मगर नामको फेसबुक आइडीबाट एउटा भिडियो अपलोड भएको छ, जसमा ‘बालेन शाहलाई गोली हान्नुपर्छ’ भनेर सम्वाद गरिएको छ । टिकटकमा भएको ग्रुप छलफलको स्क्रिनसर्टको रूपमा हालिएको यो भिडियो अहिले भाइरल बनेको छ ।

अडियोमा एक व्यक्तिले निकै आक्रामक शैलीमा भनेका छन्, ‘झापामै गोली ठोक्ने वातावरण बनाउनुपर्छ । जहाँबाट गए पनि झापामै गोल ठोक्ने ।’
संवादमा सहभागी अर्का व्यक्तिले बालेन शाहलाई झापामा छिर्न नदिने र भौतिक आक्रमण गर्ने आश्वासन दिँदै भनेका छन्, ‘त्यसले पिटाइ खान्छ, ढुक्क हुनु ।’
उनले बालेन शाह झापा आएको खण्डमा बाटो छेक्ने र कुटपिट गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।
अडियोमा एमाले र त्यसका भ्रातृ संगठनहरूको नाम समेत मुछिएको छ । ‘एमालेले ठुलो शक्ति प्रयोग गर्नुपर्छ, साम–दाम–दण्ड–भेद भन्छ, त्यो गर्नैपर्छ । अगाडि पंक्तिमा युथ फोर्स, त्यसपछि भोलेन्टियर फोर्स र त्यसभन्दा पछाडि अनेरास्ववियु गरी तीन लेयर (तह) को तयारी छ ।’
बालेन शाहले यो संवादबारे उम्मेदवारी दर्ता गर्नु अगाडि नै थाहा पाएको सुरक्षा स्रोत दाबी गर्छ । शाहलाई अर्को झट्का लाग्यो, ‘एमाले र रास्वपाका कार्यकर्ताबिचको झडप ।’
मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अगाडि बढिसकेपछि रास्वपाका समर्थक र एमाले कार्यकर्ताबिच कुटाकुट र धकेलाधकेल भएको थियो, जुन कुरालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार संरक्षित केही मानिसले शान्तिपूर्ण वातावरण बिथोल्न खोजेको टिप्पणी गरे ।
‘एमालेलाई एउटा पक्षले अस्वस्थ ढंगले जिस्काउन खोजे, अलिकति असभ्यता देखाए त्यहाँ, बाटो छेक्ने, डिस्टर्ब गर्ने जस्ता काम भएका छन्,’ ओलीले भने, ‘यो खालको व्यवहार हुनु हुँदैन । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ र शान्तिपूर्ण ढंगले नै जानुपर्छ । एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको बढी जोखिमको कुरा हुन सक्छ र त्यो काम कसैले नगर्दा नै राम्रो हुन्छ ।’
उक्त झडप हुनु र ‘गोली हान्नुपर्छ’ भनेको भिडियो सार्वजनिक भएपछि बालेन शाहले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेका थिए । ‘बालेन शाहले त्यसपछि आयोजित सभालाई सम्बोधन पनि गरेनन् र आफ्नो बाटो लागेका थिए । केही समय बालेन कहाँ गए भन्ने विषयमा सुरक्षाकर्मीलाई पनि थाहा भएन,’ उक्त स्रोत दाबी गर्छ ।
यद्यपि बालेन दमक–५ स्थित रास्वपा समर्थक लक्की सिटौलाको घरमा पुगेका थिए । त्यहाँ पुगेका सुरक्षाकर्मीहरूलाई बालेन समर्थक र्यापिड एक्सन टिमका सदस्यहरूले तपाईँहरू यहाँबाट जानुहोस् भनेका थिए । बालेनले आफू निकटकाहरूलाई प्रहरी र सुरक्षाकर्मीहरूले केपी शर्मा ओलीको सुरक्षामा बढी ध्यान दिएको तर, आफूलाई नदिएको भन्दै गुनासो गरेका थिए । ‘उनलाई प्रहरीबाटै असुरक्षित भएको फिल भएछ । त्यही भएर उनको सुरक्षाकर्मीहरूलाई पनि झुक्याएर एक्लै हिँडेका रहेछन्,’ स्रोत बताउँछ, ‘विगतमा जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसै गर्दथे ।’
व्यवस्थित र संयमित ओली
रास्वपाको भिडभाडको तुलनामा देशकै सबैभन्दा राम्रो पकड क्षेत्र मानिएको झापा–५ मा एमालेले अध्यक्ष ओलीको मनोनयन दर्ताका क्रममा ठुलो मास भने उतारेन । विगतमा शक्ति प्रदर्शन गर्ने गरेको एमालेले केही सय मानिस ल्याएको थियो ।
बालेन शाहको मनोनयन दर्ताको आधा घण्टापछि पुगेको एमाले अध्यक्षसहितको टोलीले करिब १५ मिनेटमा दर्ता प्रक्रिया टुङ्ग्याएको थियो । त्यसक्रममा ओली संयमित सुनिए । उनले निर्वाचन अधिकृतको कार्यालयभित्रै सञ्चारकर्मीसँग अन्तरक्रिया गरे । त्यसक्रममा उनले अहिले मानिसहरूमा भ्रम बढेको बताए ।
‘अहिले देशमा आगो लगाउनेहरू जागिराख्या छन्, अगाडि बढिराख्या छन् । त्यसले भ्रम पारिराख्या छन्,’ उनले भने, ‘नयाँ पुस्तामा अलिकति भ्रम छ । अहिले पनि भर्खर कतै उफ्रिएको देखियो, भिड पनि देखियो त्यहाँ पनि । यस्तै मान्छे जम्मा भएको देखिन्छ ।’
_ZAo0LcmaUF.jpg)
ओलीले देश बचाउनका लागि पुराना र अनुभवी शक्तिको आवश्यकता औँल्याए । ‘आगो लाउनेहरूबाट, लोकतन्त्र ढाल्नेहरूबाट, संविधान मिच्नेहरूबाट, कार्यालय जलाउनेहरूबाट, व्यक्तिका घर जलाउनेहरूबाट, सरकारी कार्यालय भत्काउनेहरूबाट, मान्छे मार्नेहरूबाट देश बचाउनुपर्छ,’ उनले भने, ‘त्यसकारण देश बचाउनका लागि अनुभवी व्यक्ति र अनुभवी पार्टीको नेतृत्व चाहिन्छ भन्ने कुरा मैले धेरै व्याख्या गरिरहनु पर्दैनजस्तो लाग्छ ।’
रञ्जितले ‘भत्ता खाने उमेर’ भनेपछि ओलीले भने, ‘पञ्जा लड्ने हो ?’
ओलीभन्दा केही समय अगाडिमात्रै मनोनयन दर्ता सकेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङसँग ओलीको केही छेडखानी र हाँसो ठट्टा चल्यो ।
तामाङको उम्मेदवारी दर्ता भइसकेको थियो भने ओलीले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दा उम्मेदवारी दर्ताको कागजात कार्यकर्ताले मिलाइसकेका थिए । त्यसपछि सनाखत गरेर उम्मेदवारी दर्ताको निस्सा लिने क्रममा ओली र तामाङ सँगै भए ।
_n3DYpMr1yd.jpg)
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले तामाङ नेकपाको उम्मेदवार रहेको भन्दै ओलीसँग परिचय गराइदिए । तामाङले नमस्कार गर्दै शुभकामना दिए र आफू पनि चुनावी मैदानमा रहेको बताए ।
ओलीले तामाङलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए । जबाफमा तामाङले पनि ‘भत्ता खाने उमेर भएकोले आराम गर्नु राम्रो हुने’ जबाफ दिए । त्यसपछि अलि आक्रोशित सुनिएका ओलीले भने, ‘पञ्जा लडाइँ खेल्ने हो ?’
तामाङ पनि के कम ! उनले भने, ‘ज्येष्ठ नागरिकसँग कुस्ती खेल्ने संस्कार छैन ।’
त्यसपछि दुवै आफ्नो बाटो लागेका थिए । त्यसअघि परिचय गराउन तम्सिएका चौतारी अध्यक्ष पाण्डेले मन अमिलो पारे । उनले भने, ‘स्थानीय उम्मेदवारको रूपमा सौहार्द्रपूर्ण वातावरण छ है भन्ने सन्देश दिन खोजेको थिएँ, तर संवाद राम्रो भएन । नमिठो लाग्यो ।’
_VDrvhBRfAG.jpg)
श्रीमान् रास्वपामा, श्रीमती कांग्रेसमा
उता, नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँ पार्टी र क्रियाशील सदस्यता परित्याग गर्दै रास्वपामा प्रवेश गरे । बालेन शाहलाई लिएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका उनले कांग्रेसबाट देश अघि बढ्न नसक्ने बताए ।
प्रसाईंले अब आफ्नो यात्रा पद, कुर्सी वा झन्डाको नभई परिवर्तनको भएको उल्लेख गरे । प्रसाईँ एमालेको राजनीति गर्दै कांग्रेसमा प्रवेश गरेका थिए । रोचक पक्ष त यो छ कि उनकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपप्रमुख हुन् । उनी नेपाली कांग्रेसबाट २०७९ सालमा विजयी बनेकी थिइन् । रेगिना भने आफ्नो पार्टी कांग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरियालाई लिएर निर्वाचन कार्यालय पुगेकी थिइन् । उनले श्रीमान् (प्रसाईँ)लाई सम्झाउँदा पनि नसम्झिएको भन्दै गुनासो गरिन् । केही समय अगाडि रास्वपाका उम्मेदवार लिएर श्रीमान् आउने र केही समयपछि कांग्रेसकी उम्मेदवार लिएर श्रीमती आएको दृश्यलाई स्थानीयले चासोका साथ हेरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण