चर्चामा चितवन-३ : अब्बल पूर्वमेयर रेनुलाई प्रखर वक्ता सोविताको टक्कर
काठमाडौं । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट पराजय भोगेकी रेनु दाहाल भावी राजनीति ‘करिअर’बारे अलमलमा थिइन् । तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि पहिलो पटक सहभागी भएको निर्वाचनमा दाहाल मात्र होइन, पार्टीले नै शर्मनाक हार व्यहोरेको थियो । २०६४ सालमा २२९ सिट सहित पहिलो नम्बर भएको पार्टी चार वर्षको अन्तरालमै तेस्रो स्थानमा खुम्चिएपछि आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्नेमा उनी द्विविधामा थिइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने अप्रत्यासित निर्णय गर्यो । वैचारिक र सैद्धान्तिक रुपमा ठीक उल्टो रहेको कांग्रेससँग तालमेल गरेर निर्वाचनमा जानु आत्मघाती हुने पार्टीभित्रकै नेताहरूले नेतृत्वलाई सुझाव दिएका थिए । तर रेनुका बुवा तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग चुनावी तालमेल मात्र होइन, गृह जिल्ला भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरे । २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य रहेकी उनी स्थानीय तहको पालिका प्रमुखको उम्मेदवार बनाउने पार्टी निर्णय अप्रिय लागेको थियो ।
कांग्रेस र एमालेको दबदबा रहेको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुन्छु भन्ने रेनुलाई विश्वास लागेको थिएन । तर पार्टीको निर्णय मानेर स्थानीय तहको निर्वाचनमा होमिएकी उनी एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीसँग जम्मा २०३ मतान्तरले विजयी भइन् । रेनुले ४३ हजार १२७ मत ल्याएर विजयी हुँदा ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । तेस्रोमा राप्रपाका बद्रीनाथ तिमिल्सिना ६ हजार ८४२ मत प्राप्त गरे । १९ नम्बर वडाको मतगणना गन्ने क्रममा विवाद हुँदा माओवादीका कार्यकर्ताले मत्रपत्र च्याते । सोही वडामा फेरि भएको निर्वाचनमा उनी झिनो मतले जितेकी थिइन् ।
बुवाको लिगेसीबाट राजनीतिमा स्थापित हुन खोजेको आरोप खेप्दै आएकी रेनुले प्रमुख पदमा निर्वाचित भएको पाँच वर्षमा कामबाट नै विरोधीको मुख बन्द गरिन् ।
नयाँ भरतपुरकी योजनाकार रेनु
महानगरपालिकाको मापदण्ड नै नपुग्ने भरतपुरलाई भौतिक पूर्वाधार, खानेपानी, भूमिगत सिंचाई, नदी किनार तटबन्ध, हरियाली सहर विकासमा देशकै अब्बल महानगरपालिका बनाउन सफल भइन् । रेनुको कामबाट प्रभावित भएका महानगरपालिकावासीले २०७९ को स्थानीय तह निर्वाचनमा अध्याधिक मतले दोस्रो कार्यकाल निर्वाचित गरे ।
अघिल्लो निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीलाई अपेक्षाकृत सहयोग मिलेन । रेनुलाई दोहोर्याएर महानगरपालिका प्रमुखको उम्मेदवार बनाएपछि असन्तुष्ट रहेका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिए । कांग्रेसबाट बागी उम्मेदवार दिँदा समेत उनले ५२ हजार २८ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे । कांग्रेसका बागी उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । बागीले एक तिहाइ भोट क्रस गर्दा समेत उनले १२ हजार ४४६ मतान्तरले विजयी भइन् ।

नयाँ भरतपुर निर्माणको प्रमुख योजनाकार रहेकी रेनुको काम देखेर स्थानीय मात्र होइन, सम्पूर्ण देशवासीले प्रशंसा गरेका छन् । तिनै रेनु आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन–३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । पार्टीले पालिका प्रमुख पदबाट राजीनामा दिएर संघीय संसदको उम्मेदवार बन्न निर्देशन दिएका कारण उनी १५ महिना कार्यकाल कायमै रहँदा पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएकी छिन् । मंगलबार उम्मेदवारी दर्ता गराएकी रेनुको आफू जिम्मेवारीबाट भागेको नभई थप जिम्मेवारी बहन गर्न उम्मेदवारी दिएको बताएकी छन् । महानगर प्रमुखको हैसियतले शतप्रतिशत प्रयत्न नगरेको रेनुले जिकिर गरेकी छन् ।
‘नगर प्रमुखको हिसाबले मैले सय प्रतिशत प्रयत्न गरेको छु । के कति गर्न सकेँ त्यसको जिम्मा आम समुदायलाई दिन्छु । मैले ९ वर्ष काम गरेको छु । जिम्मेवारीलाई पन्छाउन खोजेको होइन, जिम्मेवारीलाई अझ लम्ब्याउन खोजेको हो । यस क्षेत्रमा कानुनी बाधा व्यवधान धेरै भएकालाई त्यसको समाधानका लागि उम्मेदवारी दिन लागेको हो,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन् ।
विकासप्रेमी पालिका प्रमुखको छवि बनाएकी रेनुले देखेको सम्पन्न र समृद्ध चितवनको सपना पूरा गर्न फागुन २१ मा जित्नैपर्ने बाध्यता छ । रेनुलाई यसपटक रास्वपाकी चर्चित नेतृ सोविता गौतमले टक्कर दिने ठानिएको छ । अघिल्लो निर्वाचनमा काठमाडौँ–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरेकी गौतम योपटक रेनुको क्षेत्रमा उम्मेदवार बनेकी छन् ।
रास्वपाले काठमाडौँ–२ मा राप्रपा पृष्ठभूमिका सुनिल केसीलाई उम्मेदवार बनाएको छ । कामबाट बनेकी रेनु र अधिवक्ता समेत रहेकी गौतमबिच नै कडा प्रतिस्पर्धा हुने ठानिएको छ । रास्वपाका सभापति रवि लामिछाने चितवन–२, अघिल्लोपटक जितेका हरि ढकाल चितवन–१ बाट उम्मेदवारी दिएकाले त्यसको प्रभाव यस निर्वाचन क्षेत्रमा पर्न सक्ने चर्चा छ । यसपटक सोही क्षेत्रमा कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । एमालेका उम्मेदवार शंकरराज थपलिया छन् ।

अघिल्लो निर्वाचनमा जितेको राप्रपाले यसपटक दीपक थापामगरलाई उम्मेदवार बनाएको छ । विघटित प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे चुनावी प्रतिस्पर्धाबाट बाहिरिएकाले यसपटक फरक परिणाम आउन सक्ने विश्लेषण भइरहेको छ । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र माडी नगरपालिका पर्छ ।
तीनवटा निर्वाचनको हिसाबकिताब
अघिल्लो पटक पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका डा. भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । त्यतिबेला एमालेले राप्रपा र कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो । रास्वपाको उम्मेदवार जिता बरालले १४ हजार ८४३ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएकाले अघिकारी पराजित भएका थिए । कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेका थिए ।
रास्वपाले प्रत्यक्षतर्फ करिब १५ हजार मत प्राप्त गर्दा समानुपातिक मत २८ हजार ४०१ पाएको छ । यस तथ्यले उम्मेदवारभन्दा पार्टी लोकप्रिय रहेको देखाउँछ । समानुपातिकतर्फ राप्रपाले १६ हजार ७५५ पाएर दोस्रो स्थानमा रहेको छ । चितवन–३ मा माओवादीको राम्रो मत रहेको निर्वाचन परिणामले देखाउँछ । १६ हजार ९० मत ल्याएर माओवादी तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको एमालेको १४ हजार ५२२, पाँचौं स्थानमा कांग्रेसले १० हजार ५२४ र एकीकृत समाजवादीले एक हजार ८५ मत प्राप्त गरेको छ ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा रेनुका बुवा प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिबेला एमाले र माओवादीबिच वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा गएका थिए । प्रचण्डका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए । राप्रपालाई कांग्रेसले समर्थन गरेको थियो ।
२०७० को निर्वाचनमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १५ हजार ६६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमबहादुर श्रेष्ठले १३ हजार २४४ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेको माओवादीका उम्मेदवार नारायणप्रसाद दाहालले ९ हजार ८५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण