आज्ञाचक्रः मनुष्य जीवनको नेता
हामीले बाहिर देख्ने शरीरमा कर्मेन्द्रीय, ज्ञानेन्द्रिय र अन्य अङ्गहरू देख्दछौँ । यसलाई पञ्च महाभूतको अंश भनिन्छ । यस पार्थिव शरीर भित्र अर्को अभौतिक अर्थात् सूक्ष्म शरीर पनि रहेको हुन्छ । सूक्ष्म शरीर भित्र मन, बुद्धि, चित्त, अहङ्कार आदि रहेका हुँदारहेछन् भन्ने कुरा हामीले अनुभव गर्दै वा सुन्दै आएका छौँ । यो भौतिक र सूक्ष्म शरीर चलाउन विभिन्न माध्यमबाट ऊर्जाको प्रवाह भइरहेको हुन्छ ।
ऊर्जाका प्रकार
हामी भित्र रहने ऊर्जालाई तीन वर्गमा समेटिएको छ । ती हुन् – जगत ऊर्जा, जीवन ऊर्जा र परम् ऊर्जा । हाम्रो शरीर बाहिर हुने धन, पढाइ, मान, इज्जत, सम्बन्ध, परिवारबाट हुने भरोसा जगत ऊर्जा हुन् । हाम्रो भौतिक र सूक्ष्म शरीर चलाउने ऊर्जा जीवन ऊर्जा हो । बलियो जीवन ऊर्जा भएको व्यक्तिले जगत ऊर्जालाई भरपूर रूपमा आफूमा खिच्न सक्छ । यसैगरी जीवन ऊर्जा चलाउने मूल ऊर्जालाई परम् ऊर्जा भनिन्छ । परम् ऊर्जा जीव हुनुको अस्तित्व हो । यस लेखमा हाम्रो शरीरले ऊर्जा कहाँबाट, कसरी प्राप्त गर्छ, कहाँ रहन्छ र शरीरमा कसरी वितरण हुन्छ भन्ने र आज्ञाचक्रको विषयमा थप चर्चा गरिएको छ ।
शरीरका सात चक्रहरू
हाम्रो सूक्ष्म शरीरमा ऊर्जा वितरणका सात केन्द्रहरू रहेका छन् । यिनलाई चक्र भनिन्छ । यी सात चक्रहरू– मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार हुन् । मूलाधार चक्र मेरुदण्डको पुछारमा रहेको हुन्छ भने यसभन्दा अलिकति माथि स्वाधिष्ठान चक्रको स्थान रहेको छ । यस्तै नाभी क्षेत्रमा मणिपुर, छातीमा अनाहत, कण्ठ क्षेत्रमा विशुद्धि, दुई आँखीभ्रुवाँको बीचमा आज्ञाचक्र र तालु क्षेत्रमा सहस्रार चक्र रहेको हुन्छ । यी सबै चक्रका भिन्न रङ, स्वाद, ध्वनि आदि हुन्छन् । यिनको क्षमता पनि फरक–फरक हुने रहेछ ।
कुण्डलिनी र कुर्मको परिचय
स्वाधिष्ठान चक्रभन्दा माथि र मणिपुर नजिक नाभिमा कुण्डलिनी ऊर्जा रहेको हुन्छ । सर्वप्रथम ब्रह्माण्डबाट ऊर्जा कुण्डलिनी क्षेत्रमा आउँछ भनिन्छ । कुण्डलिनीलाई ऊर्जाको भण्डार भनिएको छ । ब्रह्माण्डबाट आउने ऊर्जा कुण्डलिनीमा एकैपटक आएर बस्न सक्दैन रे । कुण्डलिनी भन्दा अलिकति माथि कुर्म क्षेत्र भन्ने रहेछ । कुर्मलाई ऊर्जा वितरण क्षेत्र भनिएको छ । ब्रह्माण्डीय ऊर्जा सबैलाई समान किसिमले नै प्राप्त हुन्छ । हावा, घाम, पानी प्राप्त गर्ने अवसर सबैलाई हुन्छ । तर व्यक्तिको ऊर्जा ग्रहण गर्ने क्षमता भने फरक हुन्छ ।
हाम्रो शरीरका अङ्ग एवं शरीर भित्र रहेको मन, भावना र चेतनाका लागि ऊर्जाको आवश्यक पर्दछ । यसैगरी शरीरका प्रणालीहरू जस्तै– श्वास प्रणाली, स्नायु प्रणाली र रक्तसञ्चार प्रणाली आदि चलाउन पनि ऊर्जा नै चाहिन्छ । जहाँ–जहाँ जति ऊर्जा चाहिन्छ त्यति प्राप्त गरेर शारीरिक पद्धति चलिरहेको हुन्छ ।
आज्ञाचक्रको परिचय
अब चर्चा गरौँ आज्ञाचक्रको । यो चक्र दुई आँखीभ्रुवाँको बीचमा अर्थात् टीका लगाउने ठाउँमा रहेको हुन्छ । यस चक्रको रङ वैजनी हो भने स्वाद टर्रो हुन्छ । यसको सम्बन्ध सङ्कल्प, अठोट, दृढतासँग रहेको हुन्छ । यसको ध्वनि ॐ हो । यसलाई अतीन्द्रिय पनि भनिन्छ । यस चक्रको अनुभूति हामी जीवन विज्ञानद्वारा सञ्चालित चक्र विज्ञान सप्ताहमा गर्दछौँ । यसलाई जगाउन यस चक्रको स्वर र मन्त्र सहितको क्रिया पश्चात् ध्यान गरिन्छ । सहभागीको पात्रता अर्थात् क्षमता अनुसार तत्काल पूरा अनुभव नहुन पनि सक्दछ । तर एक्काइस दिनको अभ्यास पश्चात प्रायः सबैलाई अनुभूति हुन्छ ।
आज्ञाचक्रको शक्ति
आज्ञाचक्रलाई तेस्रो नेत्र वा शिव नेत्र पनि भनिन्छ । जीवन फक्रन, फुल्न सबै चक्रको भूमिका उत्तिकै रहन्छ र सबैले काम गरिरहेकै हुन्छन् । अरूको तुलनामा यस आज्ञाचक्रमा अथाह शक्ति हुन्छ भनिन्छ । मूलाधारबाट माथि जाँदा यो छैटौँ चक्र हो । मनुष्यको आत्मा, शरीर, मन, इन्द्रियलाई जोड्ने कडी नै आज्ञाचक्र हो । जीवन विज्ञानमा यसलाई आन्तरिक गुफा भनिन्छ । चिकित्सा विज्ञानका अनुसार शरीरमा चाहिने रस निकाल्ने ग्रन्थी यही आज्ञाचक्र अर्थात् (Pituitary gland) भनिएको छ । शरीर स्वस्थ रहन Endorphins नामको रसायन निकाल्ने चक्र पनि यही हो रे ।
यसबाट निस्केको Serotonin रसले नै शान्ति, खुसी र आनन्द दिने रहेछ । व्यक्तिले लिएको लक्ष्यमा स्थिर भएर काम गर्न Dopamine नामक रसायन निकाले पछि मात्र मणिपुरले काम गर्दो रहेछ । यसैगरी निद्राको सन्तुलनको लागि Melatonin निकाल्ने चक्र पनि यही रहेछ । यो चक्र सबल भएमा ध्यान लाग्ने हुनाले र व्यक्तिलाई परम् चैतन्यता प्राप्त हुने कुरा उल्लेख छ । आज्ञाचक्र खुलेपछि मात्र सहस्रारमा पुगिन्छ भनिएको छ । आज्ञाचक्रले म को हुँ भन्ने चिनाउँछ भने सहस्रारले ब्रह्माण्ड चिनाउँछ भनिन्छ । सारा शास्त्रहरू आज्ञाचक्र खुलेकाहरूले लेखेका रहेछन् । यसैले आज्ञाचक्र खुलेकालाई गुरु भनियो ।
आज्ञाचक्र बलियो भएको कसरी थाहा पाउने ?
आज्ञाचक्रले मानिसमा अठोट र निर्णय शक्ति बढाउँदछ । यसको आदेश बिना आँखा पनि झिम्किँदैन । यो चक्र बलियो हुनेहरू आफ्नो बोलीमा दृढ हुन्छन् र बोलेको कुरा पुर्याउँछन् भनिन्छ । जीवनमा लक्ष्य बनाउँछन् र त्यसमा निरन्तर लागिरहन्छन् । यस्ता व्यक्तिले कुनै काम सम्झेमा रातको १–२ बजे उठेर पनि फत्ते गर्छन् । समय पालनलाई ख्याल गर्ने आज्ञाचक्र बलियो हुनेहरू नै हुन् । यस्ता व्यक्तिहरू सामूहिक कार्यमा स्वःस्फूर्त (Proactive) नेतृत्व लिन्छन् । यो चक्र सबल हुनेहरू प्रेमल, करुणावान, दयावान, विद्वान् र विवेकशील हुन्छन् । अर्काको मनोभावना समेत बुझेर काम गर्दछन् । हाम्रा आँखा सीमित ज्ञानेन्द्रिय हुन् तापनि यो चक्र सबल भएमा यी आँखामा समेत तेज बढ्दो रहेछ ।
गुरुदेव भन्नुहुन्छ– आज्ञाचक्रको सबलताले अद्भुत रूपमा आध्यात्मिक जागरण हुन्छ । यो चक्र सक्रिय भएपछि सुषुम्ना नाडी बलियो हुन्छ । इडा नाडी सक्रिय भए भूतकालमा मन अल्झिने र पिङ्गला नाडी सक्रिय भए भविष्यको कल्पनामा डुब्ने हुन्छ । सुषुम्ना नाडी खुलेपछि व्यक्ति वर्तमानमा रहन सक्छ । आज्ञाचक्र खुलेकाहरूको स्मरण शक्ति अद्भुत हुन्छ । कसैले केही दिन वा महिनामा पूरा शास्त्रहरूमा पारंगत भए भन्दा हामीलाई अचम्म लाग्छ । वास्तवमा यस्तो हुनुमा आज्ञाचक्रको जागृति नै हो । त्यसैले आज्ञाचक्रलाई मनुष्य जीवनको नेता भनिएको रहेछ ।
आज्ञाचक्र बिग्रिन्छ कसरी ?
अर्कालाई दुःख दिँदा व्यक्तिको अन्तरआत्माले सहन गरेको हुँदैन । यस अवस्थामा आज्ञाचक्रको वरिपरि पर्दा जस्तै गोलो घेरा बस्छ भनिन्छ । अर्कालाई दुःख दिनु भनेको आज्ञाचक्रलाई साँघुरो बनाउँदै जानु रहेछ । यस्तो घेराले आज्ञाचक्रमा पर्दा लागेपछि जे होइन त्यो सही मान्ने र जे सही हो त्यसलाई गलत देख्ने हुन्छन् । यही गर्छु भन्ने मार्गचित्र, अठोट र सङ्कल्प हुँदैन र केही काममा पनि निरन्तरता दिँदैनन् । यो चक्र कमजोर भएकाहरू आफ्नो स्वभावमा भन्दा प्रभावमा बढी काम गर्छन् । अर्थात् अर्कालाई देखाउन मात्र गर्ने हुन्छन् । अरूप्रति पटक्कै विश्वास गर्दैनन् । अशान्त प्रकृतिका हुन्छन् । यस्ता व्यक्तिले जे काममा हात हाले पनि सफल हुन सक्दैनन् भनिन्छ ।
आज्ञाचक्रलाई सपार्ने कसरी ?
आज्ञाचक्र कत्ति पनि नजागेको मान्छे हुँदैन तापनि पूर्ण क्षमतामा जगाउने लक्ष्य हुनुपर्दछ । आज्ञाचक्र सपार्न सकारात्मक भावले आफ्नो सङ्कल्प र अठोट पूरा गर्नमा जोड दिनुपर्ने रहेछ । त्यसैले हाम्रो सनातनी समाजमा सन्त, माता(पिता, गुरु, मान्यजनलाई ढोग्न सिकाइयो । हावा, पानी, घाम देख्दा झुक्न सिकाइयो । शिर झुकाएर ढोग्दा गोडाबाट निस्कने ऊर्जासमेत आफूमा प्रवाह हुन्छ । ठुलाबाट ऊर्जा लिने यो सरल उपाय रहेछ ।
आज्ञाचक्रलाई जगाउन सर्वप्रथम साना–साना लक्ष्य र उद्देश्य पूरा गर्नुपर्छ । यसका लागि बिहान उठ्ने र बेलुका सुत्ने समय पालनाबाट काम सुरु गर्न सकिन्छ । कम्तीमा २१ दिनसम्म अठोट गरिएकै समयमा सुत्ने र उठ्ने । त्यसपछिका दिनमा आज्ञाचक्रले स्वतः निद्रा खुलाइदिन्छ । त्यसै गरेर यति दिन यो चिज खान्न भन्ने । नखाने ।
यस्तै गरेर यति दिन कसैसँग रिसाउँदिन भन्ने । नरिसाउने । त्यस्तै हरेक दिन कम्तीमा यति पेज पढेर सुत्छु भन्ने । पढेरै सुत्ने । आज दिनभर मुस्कुराएर बोल्छु भन्ने । यी वा यस्तै साना–साना बानीबाट आफूलाई अभ्यस्त पार्न सकिन्छ । त्यसपछि ठूला लक्ष्य लिएर त्यसमा एकाकार भई निरन्तरता दिने बानी पर्दै जान्छ ।
अन्त्यमा, आफ्ना सबै चक्रहरू जगाउन सकारात्मक बनौँ । व्यवहार गर्दा लक्ष्यमा एकाकार भई सङ्कल्प पूरा गर्नमा दृढ बनौँ । योगासन र ध्यान सिकौँ । जीवनमा सर्वाधिक महत्त्व राख्ने आज्ञाचक्रको क्षमता चिनौँ । मनुष्यमा हुने अथाह ऊर्जाको भरपूर उपयोग गरौँ । जीवनलाई समृद्ध र आनन्दमय बनाऊँ ।
पण्डित जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण