शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

गण्डकीका ५ क्षेत्रमा पुरानै प्रतिस्पर्धी, नयाँलाई काँडेतार

बिहीबार, ०८ माघ २०८२, ११ : ३०
बिहीबार, ०८ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

पोखरा । गण्डकीका ५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले पुरानै प्रतिस्पर्धी पाएका छन्। सबैभन्दा पुरानो प्रतिस्पर्धीका रूपमा पर्वतमा अर्जुन जोशीविरुद्ध पदम गिरी छन्। उनीहरू २०७० देखिका निरन्तर प्रतिस्पर्धी हुन्। 

यस्तै, मनाङमा पोल्देन छोपाङ गुरुङविरुद्ध टेकबहादुर गुरुङ छन्। तनहुँ २ मा शंकर भण्डारी विरुद्ध केदार सिग्देलको प्रतिस्पर्धा पनि पुरानो हो। २०७४ सालमा केदारसँग हारेका शंकरले २०७९ मा किरण गुरुङलाई हराएका थिए। अहिले शंकरलाई पुरानो हारको बदला लिने अवसर छ भने केदारलाई पनि जितको निरन्तरताको सुविधा छ।

तनहुँ १ को चुनाव अझै रोचक हुने पक्का छ। २०८० को उपनिर्वाचनमा कांग्रेसको गढ भत्काएर निर्वाचित भएका स्वर्णिम वाग्लेविरुद्ध लड्न कांग्रेसले पुरानै प्रतिस्पर्धी गोविन्द भट्टराई उठाएको छ। उनीहरूले दोस्रो पटक प्रतिस्पर्धी भेट पक्का गरेका हुन्। 

लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धा गर्न रास्वपाका धर्म केसी पुनः मैदानमा उत्रिएका छन्।

  • ४० वर्षदेखि लड्दै छन् पीएस, २५ वर्षदेखि अर्जुन

लमजुङमा एमालेले दिएको उम्मेदवार संसदीय राजनीतिका सबैभन्दा पाका व्यक्ति हुन्। २०४३ सालदेखि चुनाव लडेका पृथ्वीसुब्बा गुरुङ ४० वर्षसम्म पनि प्रतिस्पर्धा गरिरहेका छन्। 

उनी २०४३ मा जनपक्षीय तर्फबाट प्रतिस्पर्धी थिए। त्यसयता भएको सबै चुनावमा उनी उम्मेदवार छन्। २०६४ मा चुनाव जितेका उनी २०७४ मा प्रदेश सभा र २०७९ मा प्रतिनिधि सभामा निर्वाचित भए। बाँकी चुनाव उनले गुमाएका थिए।

सबैभन्दा बढी चुनाव लड्नेमा कांग्रेस पर्वतका अर्जुन जोशी पनि गनिन्छन्। उनी २०५६ सालदेखि लगातार पर्वतमा टिकट पाउने व्यक्ति हुन्। २०५६, २०६४ र २०७० मा विजयी हुँदा २०७४ र २०७९ को चुनावमा पराजित भए। 

मुस्ताङमा एकछत्र राज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले पछिल्लो चुनावदेखि काँध फेरेका छन्। २०५६ बाट आम निर्वाचनमा उम्मेदवार बनेका उनले २०७९ मा आफ्नै छोरा योगेश गौचनलाई प्रतिस्पर्धामा उतारे। २९ वर्षको उमेरमा योगेशले निर्वाचन जितेका हुन्। रोमीले २०६४ मा भने उम्मेदवारी दिएनन्। अहिले उनकै छोरा योगेश ३ वर्षपछि चुनावी मैदानमा छन्।

मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ पनि चुनावमा धेरै टिकट पाउने अनुहार हुन्। २०७० देखि लगातार उनी उम्मेदवार छन्। पहिलो प्रयासमा उनी सफल भए पनि २०७४ मा पराजित र २०७९ मा विजयी भए। एमाले नेता पोल्देन पनि २०७४ देखि निरन्तर उम्मेदवार छन्। २०७४ मा विजयी उनी २०७९ मा पराजित भए।

तनहुँ कांग्रेसका नेता शंकर भण्डारी २०७० सालदेखिका नियमित उम्मेदवार हुन्। २०७० मा तनहुँ १ बाट निर्वाचित उनी २०७४ मा क्षेत्र फेरेर २ तिर लागेका हुन्। त्यस वर्ष पराजित भए पनि २०७९ मा सोही क्षेत्रबाट उनी निर्वाचित भएका थिए। 

२०७४ मा पहिलो पटक उम्मेदवार बनेका एमाले पर्वतका पदम गिरीले निरन्तर जित निकालेका छन्। उनी अहिले ह्याट्रिक गर्ने योजनामा छन् भने जोशी उनको ह्याट्रिक तोड्न प्रयासरत छन्।

नेकपाका नेता गोरखा १ का उम्मेदवार हरिराज अधिकारी २०७४ मा पहिलो पटक उम्मेदवार बनेका थिए। २०७९ मा कांग्रेससँग गठबन्धन गरेका कारण उनी चुनावबाट बाहिरिएका थिए। अहिले उनै अधिकारी दोहोर्‍याएर उम्मेदवार बनेका छन्। स्याङ्जा १ का शैलेन्द्र घिमिरे २०७० मा संसदीय निर्वाचनमा उम्मेदवार थिए तर पराजित भए।

गोरखा २ बाट उम्मेदवार बनेका बाबुराम भट्टराई २०६४ देखिका उम्मेदवार हुन्। २०७० मा गोरखा १ बाट चुनाव लडेका उनी २०७४ मा गोरखा २ बाटै विजयी भए। माओवादीसँगको एकताका कारण उनले २०७९ को चुनावमा प्रचण्डलाई आफ्नो क्षेत्र छोडे। अहिले उनीहरूको एकता छैन, पुनः मतदाताको माग भन्दै उम्मेदवार बनेर मैदानमा होमिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप