‘पुराना खेलाडी’ फेरि मैदानमा
विराटनगर । कोशी प्रदेशमा आसन्न निर्वाचनको सरगर्मी बढेको छ । यसपटकको निर्वाचनमा पनि कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका विजयकुमार गच्छदारसम्मका पुराना अनुहारहरू पटक–पटक दोहोरिँदै चुनावी मैदानमा उत्रिएका हुन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन् । २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय ओलीले २०४८, २०५१, २०५६ र २०७४ का निर्वाचनमा सानदार जित हासिल गरेका थिए । २०५६ को निर्वाचनमा त उनले दुईवटा निर्वाचन क्षेत्रबाट जित निकालेका थिए । यद्यपि, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनले पराजयको तितो अनुभव पनि सँगालेका छन् । यस पटक उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले कडा टक्कर दिँदैछन् ।
उता, सुनसरी–३ मा नेपाली कांग्रेसले फेरि पनि विजयकुमार गच्छदारलाई नै अघि सारेको छ । २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट चुनाव लड्दै आएका गच्छदारको यो आठौँ चुनावी प्रतिस्पर्धा हो । बिचमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र जसपा हुँदै पुनः कांग्रेसमा फर्किएका उनले २०७९ को निर्वाचनबाहेक अहिलेसम्मका सबै चुनाव जितेका छन् । यसपटक उनी आफ्नो जित निकाल्ने दाउमा छन् । गच्छदारले विगतमा सुनसरी–२ बाट समेत दुईपटक जित दर्ता गराइसकेका छन् । उनलाई २०७९ सालको निर्वाचनमा एमालेकी भगवती चौधरीले पराजित गरेकी थिइन् । यस पटक पनि गच्छदारलाई उनै चौधरीले टक्कर दिँदैछिन् ।
सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले अनुभवी नेता जगदीशप्रसाद कुसियतलाई उम्मेदवार बनाएको छ । उनी पनि आठौँ पटक चुनावी मैदानमा होमिँदैछन् । विद्यार्थी राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा आएका कुसियतको चुनावी यात्रा निकै उतारचढावपूर्ण छ । २०५१ मा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका उनी २०५३ को उपनिर्वाचनमा विजयी भएका थिए । २०७४ मा प्रदेशसभा सदस्य जितेर मन्त्री बनेका कुसियत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपटक उनी सोही पराजयको बदला लिने रणनीतिमा छन् । कुसियतसँग फेरि कांग्रेसका कार्कीले टक्कर दिँदैछन् ।
पूर्वमुख्यमन्त्री एवं एमाले सचिव शेरधन राई भोजपुरबाट छैटौँ पटक चुनावी मैदानमा छन् । २०५६ सालमा मुलुककै कान्छो सांसद बनेर चर्चामा आएका राई २०७० मा पुनः निर्वाचित भएर सञ्चार मन्त्री बनेका थिए । २०७४ मा कोशी प्रदेशको पहिलो मुख्यमन्त्री बनेर इतिहास रचेका राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए । चुनावी नतिजामा धक्का लागे पनि पार्टीको आन्तरिक राजनीतिमा शक्तिशाली बन्दै उनी अहिले एमालेको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । उनलाई राजनीतिमा ल्याउने र पार्टी सदस्यता दिने भूमिकामा रहेका अजम्बर काङ्माङ नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् । एक हिसाबले भन्ने हो भने भोजपुरमा राजनीतिक गुरु र चेलाबिचको यो प्रतिस्पर्धा रोचक हुने भएको छ ।
कोशीको राजधानी विराटनगर समेटिएको मोरङ–६ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार विजय गच्छदारसँग पराजित भएका कोइरालाले २०६५ सालको उपनिर्वाचनमा भने विजयी बनेका थिए । त्यसपछि लगातार उनी निर्वाचन लडिरहेका छन् । २०६५ सालकै उपनिर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका विनोद ढकालले यस पटक डा. कोइरालालाई चुनौती दिँदैछन् । ढकाल यसअघि पटक–पटक पराजित भएका नेता हुन्, जो यसपटक आफ्नो ‘हारको श्रृंखला’ तोड्न चाहन्छन् ।

मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेकपाका नेता शिवकुमार मण्डल २०६३ सालको अन्तरिम संसदका सदस्य पनि हुन् । उनले ६४ सालको पहिलो संविधानसभा निर्वाचन, ६५ सालको उपनिर्वाचनमा पराजय व्यहोरे । ७० साल, ७४ सालमा फेरि विजयी बनेका मण्डल ७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित बनेका थिए । अहिले फेरि दुवै जना चुनावी प्रतिस्पर्धामा छन् ।
कोशी प्रदेशका अन्य क्षेत्रहरूमा पनि पुराना उम्मेदवारहरू मुख्य पार्टीबाट प्रतिस्पर्धामा छन् । मोरङ–१ मा एमालेका घनश्याम खतिवडा पुरानै प्रतिस्पर्धी हुन् । संविधानसभा सदस्य समेत रहेका उनी ७९ सालको निर्वाचनमा पराजित बनेका थिए । यस पटक उनी पनि जितको खोजीमा छन् । यस्तै अन्तरिम संसद् हुँदै संविधानसभा सदस्य बनेकी झापा–२ की धर्मशीला चापागाईं पनि चुनावी प्रतिस्पर्धामा छिन् । झापा-३ बाट उम्मेदवार बनेका हरिबहादुर राजवंशी र झापा-४ बाट उम्मेदवार बनेका एलपी साँवा जस्ता पुराना संविधानसभा सदस्यहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–२ बाट डा. मिनेन्द्र रिजाल, सुनसरी–२ बाट रामकुमारी चौधरी, खोटाङका हरि रोका पनि संविधानसभा सदस्य हुन् ।
हेर्नुहोस् सूची
झापा २ - धर्मशीला चापागाईं (संविधानसभा सदस्य)
झापा ३ - हरिबहादुर राजवंशी (संविधानसभा सदस्य)
झापा ४ - लालप्रसाद (एलपी) साँवा लिम्बू (संविधानसभा सदस्य)
झापा ५ - केपी शर्मा ओली (०४८ सालयता निरन्तर)
भोजपुर १ - शेरधन राई (०५६ सालयता निरन्तर)
सुनसरी २ - रामकुमारी चौधरी (संविधानसभा सदस्य)
सुनसरी ३ - विजय गच्छदार (०४८ सालयता निरन्तर)
सुनसरी ४ - जगदीशप्रसाद कुसियत (०४८ साययता निरन्तर)
मोरङ १ - घनश्याम खतिवडा (संविधानसभा सदस्य)
मोरङ २ - डा. मिनेन्द्र रिजाल (०६४ संविधानसभा सदस्य)
मोरङ ५ - शिवकुमार मण्डल (०६३ को अन्तरिम संसद तथा संविधानसभा सदस्य)
मोरङ ६ - डा. शेखर कोइराला (०६५ उपनिर्वाचनबाट जित)
मोरङ ४ - अमनलाल मोदी (०७० सालमा संविधानसभा सदस्य)
खोटाङ १ - हरि रोका (०७० संविधासभा सदस्य)
उदयपुर १ - सुरेशकुमार राई (०७० संविधानसभा सदस्य)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण