शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

ओस्करमा ‘सिनर्स’ को ऐतिहासिक छलाङ : ‘टाइटानिक’ को रेकर्ड तोडियो

शुक्रबार, ०९ माघ २०८२, १२ : ०४
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • ओस्कर २०२६ को मनोनयनमा 'सिनर्स' ले सर्वाधिक १६ विधामा मनोनयन प्राप्त गरी नयाँ कीर्तिमान बनाएको छ।
  • यसअघि 'टाइटानिक' र 'ला ला ल्याण्ड' ले राखेको कीर्तिमान तोड्दै 'सिनर्स' ले ओस्करमा एकछत्र राज गर्ने संकेत देखाएको छ।
  • भारतीय फिल्म 'होमबाउन्ड' भने अन्तिम मनोनयनको सूचीबाट बाहिरिन पुग्यो, जसले निराशा निम्त्यायो।

न्युयोर्क । ओस्कर २०२६ को अन्तिम मनोनयन सार्वजनिक भएसँगै हलिउडमा लामो समयपछि एउटा नयाँ इतिहास कोरिएको छ । 

रयान कुगलरको निर्देशनमा बनेको फिल्म ‘सिनर्स’ ले ओस्करको इतिहासमै सर्वाधिक मनोनयन पाउने कीर्तिमान कायम गरेको छ । यसअघि सर्वाधिक मनोनयनको रेकर्ड राख्ने हलिउडका चर्चित फिल्महरू ‘टाइटानिक’ र ‘ला ला ल्याण्ड’ लाई पछि पार्दै ‘सिनर्स’ ले यो दुर्लभ उपलब्धि हासिल गरेको हो ।

सन् २०२५ मा प्रदर्शनमा आएर बक्स अफिसमा राम्रो कमाइ गरेको ‘सिनर्स’ ले ओस्करमा कुल १६ विधामा मनोनयन सुरक्षित गरेको छ । यसअघि जेम्स क्यामरुनको ‘टाइटानिक’ र डेमियन चाजेलको ‘ला ला ल्याण्ड’ ले १४–१४ विधामा मनोनयन पाएर रेकर्ड कायम गरेका थिए । 

दर्शकको मन जितेको यो फिल्मले अब ओस्करको दौडमा पनि अन्य फिल्मलाई निकै पछाडि छोड्दै एकछत्र राज गर्ने संकेत देखाएको छ । तर, एकातिर ‘सिनर्स’ ले इतिहास रच्दा अर्कोतिर भारतीय फिल्म क्षेत्रका लागि भने नतिजा निराशाजनक रह्यो । ओस्कर दौडमा रहेको र भारतले निकै आशा गरेको फिल्म ‘होमबाउन्ड’ अन्तिम मनोनयनको सूचीबाट बाहिरिएको छ ।

‘सिनर्स’ ले ओस्करका प्रायः सबै मुख्य विधामा आफ्नो बलियो उपस्थिति जनाएको छ । फिल्म बेस्ट पिक्चरको बलियो दाबेदार बनेको छ भने निर्देशक रयान कुगलर बेस्ट डाइरेक्टरको मनोनयनमा परेका छन् । यस्तै, फिल्मका मुख्य अभिनेता माइकल बी जोर्डनले बेस्ट एक्टरको मनोनयन सुरक्षित गर्दा वुन्मी मोसाकुले बेस्ट सपोर्टिङ एक्ट्रेस र डेल रोय लिन्डोले बेस्ट सपोर्टिङ एक्टरको विधामा स्थान बनाएका छन् । अभिनय र निर्देशनमा मात्र होइन, प्राविधिक पक्षमा पनि फिल्मको दबदबा देखिएको छ ।

फिल्मले बेस्ट कास्टिङ, ओरिजिनल स्क्रिप्ट, प्रोडक्सन डिजाइन, सिनेम्याटोग्राफी तथा बेस्ट ओरिजिनल सङ ‘आई लाइड टु यु’ लगायतका विधामा प्रतिस्पर्धा गर्नेछ । यसका साथै बेस्ट एडिटिङ, साउन्ड, ओरिजिनल स्कोर, मेकअप एण्ड हेयरस्टाइलिङ, कस्ट्युम डिजाइन र भिजुअल इफेक्ट्स गरी कुल १६ विधामा फिल्मले आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । ओस्कर समारोहमा अब ‘सिनर्स’ ले कतिवटा ट्रफी उचाल्छ भन्ने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप