कांग्रेस र माओवादीको ‘गढ’मा नयाँको इन्ट्रीपछि कोही छैनन् ढुक्क
सारांश
- गोरखामा आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता सकियो, र विभिन्न दलका नेताहरू चुनावी तयारीमा जुटेका छन्।
- जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोरखा-१ बाट उम्मेदवार, पुराना दलहरूले उनलाई प्रतिस्पर्धी मान्न तयार छैनन्।
- कांग्रेस, माओवादी र एमालेका पुराना नेताहरू र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
पोखरा । सुशासन पक्षमा र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनपछि देश नयाँ निर्वाचनमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सकिएको छ । देशैभर उम्मेदवारहरू मतदाता भेट्ने लगायतका आन्तरिक गृहकार्यमा व्यस्त छन् ।
जुन आन्दोलनको बलमा अहिलेको निर्वाचन हुँदैछ, त्यही आन्दोलनका अगुवामध्ये एक सुदन गुरुङ गोरखा १ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् । सुदन गुरुङले रास्वपाबाट उम्मेदवारी दिँदा परम्परागत दलहरूलाई मनमा चिसो त पसेको छ नै, तर उनीहरू सुदनलाई प्रतिस्पर्धी नै ठान्न तयार छैनन् ।
विगतलाई हेर्ने हो भने यो क्षेत्र कांग्रेस र कम्युनिस्टहरूको परम्परागत गढ हो । तर, भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ ले जन्माएको नयाँ राजनीतिक तरङ्गले यस पटक गोरखाको ‘ग्राउण्ड ब्याटल’ अनिश्चित र रोचक बनेको छ । गणतन्त्र अघि गोरखा क्षेत्र नम्बर १ को चुनावमा नेपाली कांग्रेसले आफ्नो पक्षमा एकछत्र नतिजा निकाल्दै आएको थियो । पञ्चायतपछिका तीन वटै चुनावमा कांग्रेसका नेता चिरञ्जीवी वाग्लेले जिते । २०६४ मा सम्पन्न संविधान सभा निर्वाचनदेखि कांग्रेसको विजय यात्रामा ब्रेक लाग्यो । त्यसबेला तत्कालीन माओवादीकी पार्वती थापा अत्यधिक मतसहित निर्वाचित भइन् ।
२०७० मा डा. बाबुराम भट्टराईले यही क्षेत्र रोजे र जिते । यद्यपि माओवादीको मत केही खस्कियो । २०६४ मा करिब ४१ हजार मत ल्याएको माओवादी ०७० मा पुग्दा झन्डै आधा अर्थात् २२ हजार मतमा खुम्चियो । २०७४ मा वाम गठबन्धनको बलमा माओवादी केन्द्रका हरिराज अधिकारी यो क्षेत्रबाट विजयी भए । माओवादी र एमालेको २९ हजार भोट उनले पाए । २०७९ को चुनावमा भने सत्ता गठबन्धनको फाइदा उठाउँदै कांग्रेसका राजेन्द्र बजगाईंले बाजी मारे ।
माथिका तथ्याङ्क यसपालिको निर्वाचनमा समाचार लेख्न र इतिहास थाहा पाउनका लागिमात्रै हो । किनकि, अहिलेको निर्वाचनले पूराना तथ्याङ्कलाई खासै वास्ता गर्ने छाँटकाँट छैन ।
गोरखा क्षेत्र नम्बर १ (१) का कांग्रेस सभापति खुनप्रसाद रेग्मी विशेष महाधिवेशनपछि नेता र कार्यकर्ता तहमा उत्साह भरिएको भन्दै त्यसलाई जनस्तरमा पु¥याउन सके आफूहरूको जित पक्का भएको बताउँछन् । ‘कांग्रेसमा उत्साह छ । महाविधेशनपछि एकजुट पनि भएको छ,’ उनले भने, ‘यही उत्साह जनतासम्म पु-याउने चुनौती छ । पुराना दलले केही गरेनन् भन्ने भाष्य फेर्न ग्राउण्ड लेवलमा झर्नुपर्छ ।’
कांग्रेसले यसअघि टेष्ट नभएका प्रेमकुमार खत्रीलाई गोरखा क्षेत्र नम्बर १ को मैदानमा उतारेको छ । नेकपा एमालेबाट अघिल्लो पटक प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका पूर्वमन्त्री रामशरण बस्नेत अहिलेको अवस्था तरल देख्छन् । ‘अहिले मतदाताहरू कता ढल्किन्छन् भनेर यकिन गर्न सकिने अवस्था छैन । स्थिति अत्यन्तै तरल छ,’ उनले भने, ‘गोरखामा संगठनका हिसाबले माओवादी, कांग्रेस र एमाले पुराना शक्ति हुन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ ।’
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारी बाहेक तीनै जना उम्मेदवार गोरखा १ का लागि नयाँ हुन् । ‘केही बाहेक मैदानमा रहेका सबै उम्मेदवार नयाँ र युवा भएकाले पनि नतिजा कसको पक्षमा जान्छ भनेर अहिले नै भन्न सकिँदैन, प्रतिस्पर्धा निकै रोचक हुनेवाला छ,’ बस्नेतले भने ।
एमालेले विगतमा ल्याएको मत जोगाउन सके आफ्नै पार्टीले जित्ने उनको दाबी छ । उनले २०७९ मा १६ हजार ७ सय ८५ मत ल्याएका थिए । तर, समानुपातिकमा भने उनको पार्टीले यो क्षेत्रबाट १२ हजारमात्रै मत ल्याएको थियो ।
गोरखा–१ मा यसपटकको चुनावमा मुख्य चार प्रतिस्पर्धी देखिएका छन् । कांग्रेसका प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी, एमालेका आरसी लामिछाने र रास्वपाका सुदन गुरुङबिचको प्रतिस्पर्धा रोचक हुनेवाला छ ।
‘दाता’ प्रेमलाई विरासत जोगाउने चुनौती
प्रेमकुमार खत्री चुनावी राजनीतिमा नयाँ भए पनि व्यापार, व्यवसाय र समाजसेवीका रूपमा परिचित हुन् । सम्भव नेपाल नाम संस्थाबाट उनले दर्जनौँ एम्बुलेन्स बाँडेका छन् भने विपन्नहरूलाई घर बनाएर राखिदिएका छन् । दर्जनभन्दा बढी विद्यालयमा उनले शैक्षिक सामग्री र छात्रवृत्ति कोष स्थापना गरिदिएका छन् । विगत १५ वर्षदेखि गरेको अनवरत समाजसेवा र कांग्रेसको बलियो जनाधार उनको साथमा छ । उनी विकासप्रेमी र सहयोगी व्यक्तिको रूपमा स्थापित छन् । व्यवसायमार्फत पनि सयौँलाई रोजगारी दिएका प्रेम एक सफल व्यवसायी हुन् ।
व्यवसायबाट कमाएको रकम नै उनले समाजसेवामा लगाउँदै आएका छन् । तर, पुराना दलले केही पनि गरेनन् भन्ने भाष्यलाई चिर्नु उनीमामु मुख्य चुनौती छ । नयाँहरूको खोजी गरिरहेको समाजलाई आफू पनि नयाँ हुँ भन्ने चिनाउन हर मतदातासम्म पुग्नुपर्ने उनको चुनौती हो ।
संगठनका खेलाडी हरिलाई ‘पूरानो’को ट्याग
२०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित हरिराज अधिकारी २०७९ मा भने कांग्रेससँग तालमेल भएका कारण त्यहाँबाट उम्मेदवार भएनन् । माओवादी जनयुद्धदेखिका कमाण्डर उनी अनुभवी खेलाडी हुन् । इमानदार नेताको छवि बनाएका उनी संगठन निर्माणमा दख्खल राख्छन् । तर, माओवादीको आधार भूमि जोगाउने चुनौती उनलाई छ । वडा तहसम्म फैलिएको पार्टी संयन्त्र र क्याडर बेस पार्टीको उम्मेदवार भएकाले उनलाई केही सहज छ । पुराना र प्रतिबद्ध मतदाताहरू उनको मुख्य शक्ति हुन् । तर विगतका जस अपजसको भारी अरुलाई भन्दा उनीमाथि बढी छ । प्रमुख प्रतिस्पर्धीहरूमध्ये उनी नै टेस्टेड नेता हुन् । पुरानाप्रतिको वितृष्णा र पार्टीको खस्कँदो शक्ति उनका लागि तगारो बन्न सक्छ ।
‘किङमेकर’ सुदनको ‘ब्यालेट’ परीक्षा
हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङ जेनजी आन्दोलनमा सबैभन्दा बढी चर्चा कमाएका व्यक्ति हुन् । संस्थागत रुपमा आन्दोलनकारीलाई पानी बाँड्न निस्किएका उनी आन्दोलनको अन्तिम समयमा आफैँ नायक बने । भूकम्प र कोभिडमा सयौँ स्वयंसेवक परिचालन गरेर चर्चा कमाएका उनको परिचय जेनजी आन्दोलनपछि एकाएक फेरियो । सरकार ढाल्ने र नयाँ अन्तरिम सरकार बनाउने भूमिकामा उनलाई धेरैले बहादुर भने । उनीसँग युवा क्रेज छ । चुनावमा टेस्टेड नभएका व्यक्ति हुन् उनी । सामाजिक सञ्जाल र सहरी युवामा उनको पकड लोभलाग्दो छ, तर उनको पार्टीगत संगठन अरुभन्दा कमजोर छ । कांग्रेस र माओवादीको परम्परागत भोट बैंक भत्काउनु र भर्चुअल समर्थनलाई मतपेटिकामा रूपान्तरण गर्नु उनका लागि सहज छैन ।
विद्यार्थीका कमाण्डर आरसी नजितेको ठाउँका उम्मेदवार
विद्यार्थी राजनीतिमा राम्रो प्रभाव भएका नेता हुन् रामचन्द्र लामिछाने (आरसी) । अधिवक्ता र पीएचडी अध्ययनरत उनी गोरखामा यसअघि हुन नसकेका कामलाई एजेण्डा बनाएर चुनावी मैदानमा छन् । बौद्धिक छवि र एमालेको संगठित मत उनीसँग छ । उनी युवा र पाका दुवै पुस्तासँग संवाद गर्न सक्ने खुबी राख्छन् । तर गोरखा–१ मा एमालेले जितेको इतिहास छैन । २०७४ मा बाम एकताका कारण माओवादीसँग मिलेर रामशरण बस्नेत प्रदेश सभा सदस्यमा निर्वाचित हुनुबाहेक एमालेका लागि गोरखा कहिलै सुखद बनेन । संगठनलाई आक्रामक रूपमा परिचालन गरेर इतिहास फेर्ने चुनौती आरसीलाई छ ।
पुराना दलले नयाँलाई प्रतिस्पर्धी नमानिरहेको अवस्थामा नयाँ भने असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम पनि असामान्य नै आउनेमा ढुक्क छन् । एउटा रोचक विषय के छ भने आगामी चुनावका अधिकांश उम्मेदवार समाजसेवालाई देखाएर प्रतिस्पर्धामा छन् । उनीहरू सबैको एजेण्डा धार्चे र चुमनुब्रीमा विकास लैजाने र माथिल्लो नाका खोल्नेदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन दबाब दिनेसम्मका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण