शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शाओमीद्वारा ‘रेडमी टाइटन’ मजबुतीसहितको रेडमी नोट १५ सिरिज नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

आइतबार, ११ माघ २०८२, १२ : २५
आइतबार, ११ माघ २०८२

सारांश

  • Xiaomi ले नेपालमा रेडमी नोट १५ सिरिज अन्तर्गतका चार नयाँ मोडेलहरू सार्वजनिक गरेको छ।
  • नयाँ फोनहरूमा शक्तिशाली ब्याट्री, उच्च क्यामेरा क्षमता, र एआई सुविधाहरू रहेका छन्।
  • कम्पनीले फोनको खरिदमा विशेष अफर र मूल्य सार्वजनिक गरेको छ।

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो लोकप्रिय रेडमी नोट सिरिज अन्तर्गतको नयाँ संस्करण 'रेडमी नोट १५ सिरिज' सार्वजनिक गरेको छ। कम्पनीले फ्ल्यागशिप–स्तरको विशेषता र रेडमी टाइटनको मजबुती दाबी गर्दै रेडमी नोट १५ प्रो प्लस ५जी, रेडमी नोट १५ प्रो ५जी, रेडमी नोट १५ ५जी र रेडमी नोट १५ ४जी गरी चारवटा मोडेलहरू एकसाथ बजारमा ल्याएको हो।

सार्वजनिक गरिएका मोडेलहरूमध्ये सिरिजको सबैभन्दा उत्कृष्ट मोडेल मानिएको रेडमी नोट १५ प्रो प्लस ५जीमा ६,५०० एमएएचको सिलिकन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म चार्ज टिकाउने कम्पनीको दाबी छ। यसमा रहेको १०० वाटको हाइपरचार्ज प्रविधिले करिब ४० मिनेटमै ब्याट्री पूर्ण चार्ज गर्न सकिने बताइएको छ। क्वालकमको स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा चल्ने यो फोनमा २० वा सोभन्दा बढी एपहरू एकैपटक चलाउँदा पनि स्मुद पर्फर्मेन्स दिने क्षमता छ। 

साथै, यसमा प्रयोग गरिएको आईपी६६, आईपी६८ र आईपी६९के रेटिङ तथा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ ले फोनलाई धुलो, पानी र खस्दा हुने क्षतिबाट जोगाउने कम्पनीले जनाएको छ। फोटोग्राफीका लागि यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ गुणा अप्टिकल जुम र शाओमीको एआई इमेज प्रोसेसिङ प्रविधि समावेश छ।

त्यस्तै, रेडमी नोट १५ प्रो ५जी मा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। ६,५४० एमएएच ब्याट्री र ४५ वाट चार्जिङ सपोर्ट रहेको यो फोनमा पनि २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ। १.५के एमोलेड कर्भड डिस्प्ले रहेको यस फोनमा पनि प्रो प्लस मोडेल जस्तै उच्च सुरक्षा रेटिङ र एआई फिचरहरू उपलब्ध छन्।

पातलो र स्लिम डिजाइन रुचाउनेहरूका लागि कम्पनीले रेडमी नोट १५ ५जी ल्याएको छ, जुन मात्र ७.३५ मिलिमिटर मोटाइको छ। स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर युक्त यो फोनमा ५,५२० एमएएचको ब्याट्री र १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ।

बजेट सेगमेन्टलाई लक्षित गर्दै ल्याइएको रेडमी नोट १५ ४जी मा भने ६,००० एमएएचको ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा र मिडियाटेक हेलियो जी१०० अल्ट्रा प्रोसेसर रहेको छ।

कम्पनीका अनुसार यो सिरिजका सम्पूर्ण फोनहरूमा गुगल जेमिनी र सर्कल टु सर्च जस्ता आधुनिक एआई फिचरहरू समावेश छन्। साथै, अफलाइन कम्युनिकेसनका लागि 'शाओमी सर्ज टी१एस ट्युनर' जस्ता प्रविधिले नेटवर्क नभएको ठाउँमा पनि सञ्चारमा सहजता थप्ने बताइएको छ।

शाओमीले यो नयाँ सिरिजको खरिदमा २०८१ माघ ६ देखि फागुन २ सम्म विशेष अफर समेत घोषणा गरेको छ। यस अवधिमा शाओमी बड्समा छुट र ९ महिनासम्मको ०% ईएमआई सुविधा प्राप्त गर्न सकिनेछ। नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि. को नेटवर्कमार्फत यी फोनहरू उपलब्ध हुनेछन्।

बजार मूल्यका हिसाबले रेडमी नोट १५ प्रो प्लस ५जी को मूल्य १२/५१२ जीबी भेरियन्टको रु. ६६,९९९ र ८/२५६ जीबीको रु. ५९,९९९ तोकिएको छ। त्यस्तै, रेडमी नोट १५ प्रो ५जी को १२/५१२ जीबीको रु. ५६,९९९ र ८/२५६ जीबीको रु. ४९,९९९ रहेको छ।

रेडमी नोट १५ ५जी को हकमा १२/५१२ जीबीको मूल्य रु. ४६,९९९ र ८/२५६ जीबीको रु. ३९,९९९ कायम गरिएको छ भने रेडमी नोट १५ ४जी मोडेल ८/२५६ जीबीको रु. ३५,९९९ र ६/१२८ जीबीको रु. २९,९९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप