शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा विजेताहरूको पृष्ठभूमि

आइतबार, ११ माघ २०८२, १८ : २७
आइतबार, ११ माघ २०८२

सारांश

  • लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवारहरू विजयी भए।
  • रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
  • निर्वाचित सदस्यहरूको राजनीतिक पृष्ठभूमि र उनीहरूको लामो समयदेखिको राजनीतिक सक्रियताको विवरण दिइएको छ।

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवारहरू विजयी भएका छन् । 

आज राष्ट्रियसभा सदस्य निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गता क्लस्टरतर्फ वासुदेव घिमिरेको राजनीतिक यात्रा आफ्नै किसिमको छ । प्रदेशका तीन सिटका लागि भएको मतदानमा गठबन्धनका तर्फबाट विजयी भएकाहरूको पृष्ठभूमि हेरौँः 

रामकुमारी झाँक्रीः प्रतिनिधि सभा उम्मेदवार बन्न चाहन्थिन्, तर बनिन् राष्ट्रिय सभा

२०३४ सालमा गुल्मीको तत्कालीन मयालपोखरी गाविस वडा नं १ मा रत्नबहादुर र रत्नकुमारीकी छोरीका रूपमा जन्मिएकी रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य बनेकी छन् । 

वामपन्थी युवा नेतृको परिचय बनाएकी झाँक्रीको राजनीतिक यात्रा विद्यार्थीकालबाट सुरु भएको हो । उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष भइसकेकी छन् । 

२०६५ सालमा नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेशनबाट अध्यक्ष भएकी थिइन् । त्यो पदमा निर्वाचित हुने उनी पहिलो महिला हुन् । 

एमाले विभाजन भएसँगै झाँक्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आबद्ध भइन् । त्यो बेला उनले सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत पाएकी थिइन् । झाँक्री नेपाली राजनीतिमा प्रखर वक्ता महिला नेतृको रूपमा पनि चिनिन्छिन् । उनी जनआन्दोलनको अग्र मोर्चामा खटिएकी नेतृ हुन् । अघिल्लो चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा तत्कालीन एकीकृत समाजवादीको तर्फबाट एमालेका नेता गोकर्ण विष्टसँग प्रतिस्पर्धा गरेकी थिइन् । पार्टी टुटफुटसँगै उनको राजनीतिक यात्रामा पनि केही उतारचढाव आए ।

अहिले एमाले फर्किएर हालै सम्पन्न भएको पार्टीको राष्ट्रिय महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी अहिले गुल्मी क्षेत्र नम्बर २ बाट नै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सिफारिससमेत भएकी थिइन् । तर पार्टीले उनलाई राष्ट्रिय सभा सदस्य बनाएर उनको राजनीतिक भविष्य सुनिश्चित गरेको हो । 

चन्द्र केसीः निरन्तर राजनीतिक सक्रियता

गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका ज्ञानबहादुर केसी र सुमित्रा केसीको कोखबाट २०१३ साल चैत २१ गते जन्मिएका चन्द्रबहादुर केसी राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीमा चन्द्र केसी चर्चित नाम हो । तर २०५६ सालमा गुल्मीको साबिक क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा हारेपछि त्यही चन्द्र केसी नाम गुमनामजस्तै बनेको थियो । त्यही गुमनाम बनेको चन्द्र केसीको नामले आज राष्ट्रिय सभा निर्वाचनको परिणामपछि फेरि धेरैको ध्यान खिचेको छ । 

२०६७ सालमा पाँच वर्षका लागि नेपाली कांग्रेस गुल्मीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका र २०४९ सालमा जिविस गुल्मीको सभापतिमा निर्वाचित चन्द्र केसीलाई पार्टीका कार्यकर्ता र स्थानीयहरू निरन्तर राजनीतिमा लाग्ने र सादा जीवनशैली भएका नेताका रूपमा चिन्ने गर्दछन् । गुल्मी कांग्रेसलाई उचाइमा पुर्‍याउन केसीको महत्त्वपूर्ण योगदान रहेको कार्यकर्ताहरू बताउँछन् । 

२०२९ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनले राजनीतिक यात्राका क्रममा जेलनेल र यातना भोगेका छन् । उनी जिविस सभापति हुँदाको कार्यकालमा गुल्मीमा पहिलो पटक डोजर भित्रिएको थियो । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि उत्तिकै योगदान पुर्‍याएका केसीको अनवरत ५० वर्षे राजनीतिक सङ्घर्षलाई पुनः एक पटक मूल्याङ्कन र सम्मान गर्दै उनलाई राष्ट्रिय सभामा पुर्‍याइएको छ । 

को हुन् लुम्बिनीबाट निर्वाचित वासुदेव घिमिरे ? 

लुम्बिनी प्रदेशबाट अपाङ्गता क्लस्टरबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे दाङको लमही नगरपालिका–२ का निवासी हुन् । उनलाई कांग्रेसका पुराना र संघर्षशील नेताका रूपमा हेरिन्छ । उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि सङ्गठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । 

घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । त्यसपछि उनी तरुण दलमा सक्रिय भए । २०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका उनी अञ्चल तहमा समेत पार्टी जिम्मेवारीमा रहेर काम गरेका थिए । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले बनारस क्षेत्रमा नेविसंघ अध्यक्ष बनेर सङ्गठन विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए । उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापति समेत भइसकेका छन् । 

निरन्तर राजनीतिक संघर्ष, सङ्गठन निर्माण र पार्टीप्रतिको प्रतिबद्धताका कारण पार्टीले उनलाई अहिले साझा उम्मेदवारको रूपमा अगाडि सारेको हो । उनले अब २० वर्षपछि राष्ट्रिय सभामा प्रवेश गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप