सशस्त्रका पूर्व डीआइजी कोइरालाको रिटमा सक्कल फाइल झिकाउने आदेश
सारांश
- सशस्त्रका पूर्वडीआइजी रञ्जन कोइरालाले थुनामुक्तको माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन्।
- सर्वोच्च अदालतले कोइरालाको कैद छुटसम्बन्धी कारागारको निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको छ।
- श्रीमतीको हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका कोइरालाले ६० प्रतिशत कैद भुक्तान गरिसकेको दाबी गरेका छन्।
काठमाडौँ । सशस्त्रका पूर्वडीआइजी रञ्जन प्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारागार कार्यालयले गरेको निर्णयको कागजात झिकाउने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार कोइरालाले कैद छुटका लागि कारागार कार्यालयलाई दिएको निवेदनमा गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो ।
श्रीमती गीता ढकालको हत्या गरेपछि जन्मकैदको सजाय पाएर हाल कारागारमा जेलजीवन बिताइरहेका कोइरालाले ६० प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै थुनामुक्तको माग गर्दै सर्वोच्च पुगेका हुन् ।
उनले बन्दीप्रत्यक्षीकरण निवेदनमा यसअघि २ हजार ४ सय कैदी बन्दीले छुट पाउँदा आफूले निवेदन दिँदा पनि कैद छुट नपाएको र २०८१ साउन ३० मै ५९ प्रतिशत कैद भुक्तान गरेको दाबी गरेका छन् ।
कानुनको पालना गरेको र आफ्नो असल आचरण भएको कारण देखाएर उनले आफूलाई कैद छुट हुनुपर्ने माग गरेका छन् ।०६८ माघ ८ मा रञ्जनलाई नारायणगढबाट काठमाडौँ फर्कँदै गर्दा थानकोटबाट प्रहरीले पक्रेर मुद्दा चलाएको थियो ।
त्यति बेलादेखि उनी थुनामा थिए । हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला २०७७ असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका थिए ।
‘नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका थिए । सर्वोच्च अदालतको सो फैसला पुनरावलोकन भएसँगै कोइराला पुन कारागार चलान भएका थिए ।
काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण