शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार फेरी डुब्यो, कम्तीमा १५ जनाको मृत्यु

सोमबार, १२ माघ २०८२, १० : ४८
सोमबार, १२ माघ २०८२

सारांश

  • फिलिपिन्समा एउटा यात्रुवाहक फेरी डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएका छन्।
  • ३५० भन्दा बढी मानिस सवार रहेको एमभी त्रिशा केस्र्टिन ३ नामक फेरी जाम्बोआङ्गाबाट जोलो टापुतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
  • कोस्टगार्डले ३१६ जनालाई उद्धार गरेको छ र २८ जना अझै सम्पर्कमा छैनन्, उद्धार कार्य जारी छ।

मनिला । फिलिपिन्सको दक्षिणी प्रान्त बासिलान नजिक आइतबार मध्यरातपछि एक यात्रुवाहक फेरी डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार ३५० भन्दा बढी मानिस सवार रहेको एमभी त्रिशा केस्र्टिन ३ नाम गरेको फेरी दुर्घटनामा परेको हो ।

फेरी जाम्बोआङ्गा सहरबाट दक्षिणी सुलुस्थित जोलो टापुतर्फ जाँदै गर्दा सोमबार बिहान करि/ब १ः ५० बजे आपतकालीन सन्देश पठाएको फिलिपिन्स कोस्टगार्डले जनाएको छ । अभिलेखअनुसार फेरीमा ३३२ जना यात्रु र २७ जना चालक दलका सदस्य थिए । जहाज जाम्बोआङ्गाबाट छुटेको करिब चार घण्टापछि दुर्घटना भएको हो ।

कोस्टगार्डका अनुसार मौसम राम्रो भएकै समयमा फेरी बासिलान प्रान्तको बालुक–बालुक टापु नजिक, करिब एक नटिकल माइल टाढा समुद्रमा डुबेको हो । हालसम्म कम्तीमा ३१६ जनालाई उद्धार गरिएको छ । १५ जनाको मृत्यु पुष्टि भएको छ । अरू २८ जना सम्पर्कविहीन रहेको कोस्टगार्डका कमान्डर रोमेल दुआले एएफपी समाचार एजेन्सीलाई बताएका छन् ।

उद्धार कार्यका लागि कोस्टगार्डको विमान पठाइएको छ भने नौसेना र वायुसेनाले पनि आफ्ना साधन परिचालन गरेका छन् । उद्धार गरिएका र उपचार आवश्यक परेका यात्रुहरूलाई बासिलानको राजधानी इसाबेला सहरस्थित अस्पतालमा लगिएको छ ।

अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव चुनौती बनेको आपतकालीन स्वास्थ्यकर्मी रोनालिन पेरेजले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप