दलहरूले कहिले, कस्ता ल्याउँदैछन् घोषणापत्र ?
सारांश
- निर्वाचन आयोगका अनुसार निर्वाचन आउन ३७ दिन मात्र बाँकी छ र दलहरू घोषणापत्र बनाउँदैछन्।
- दलहरूले आगामी निर्वाचनका लागि घोषणापत्र बनाउन सुरु गरेका छन्, जसमा विकास, सुशासन र समृद्धिका मुद्दाहरू समेटिनेछन्।
- कांग्रेस, एमाले, रास्वपा जस्ता दलहरूले पनि घोषणापत्र बनाइरहेका छन्, जसमा देश र जनताका चासोका विषयहरू समेटिनेछन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान गर्ने मिति आउन ३७ दिनमात्र बाँकी छ ।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू नयाँ निर्वाचनमार्फत आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत दिएर निर्वाचित गर्न तम्तयार छन् । राजनीतिक दल र उम्मेदवारहरू पनि उम्मेदवारी दर्तासँगै मतदातासमक्ष पुगेर भेटघाट गर्दै मत माग्न थालिसकेका छन् ।
निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्ने तथा सभा सम्मेलन गर्ने मुख्य समय फागुन ३ गतेदेखि मौन अवधि सुरु हुनुभन्दा अघि सम्मलाई छुट्ट्याएको छ । तर पनि उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र छलफल गर्दै मतदाता रिझाउन/फकाउन व्यस्त बनेका छन् ।
भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका रास्वपाका बालेन शाहदेखि कांग्रेसका गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई आफू र आफ्नो पार्टीका उम्मेदवार जिताउने चुनौती र चटारो देखिन्छ । मौखिक आश्वासन र विकासे नारा बोकेर राजनीतिक पार्टी र उम्मेदवारहरू जनतामाझ पुगे पनि अहिलेसम्म जसपा नेपालबाहेक कुनै पनि राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् ।
उम्मेदवारी मनोनयनकै क्रममा प्रमुख राजनीतिक दलहरूले घोषणापत्र निर्माण गर्न मस्यौदा कमिटी गठन गरी काम सुरु गरिएको बताएका थिए । यस क्रममा सबैजसो दलले विकास, सुशासन र समृद्धिजस्ता मुद्दा समेटेर घोषणापत्र लेख्ने काम भइरहेको बताएका छन् ।
यो निर्वाचनमा नयाँ दलहरू जेनजी आन्दोलनको राप–तापलाई भजाउने प्रयासमा छन् भने पुराना दलहरू आफ्नो वर्चश्व जोगाउन कसरत गर्ने देखिन्छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पुराना राजनीतिक दललाई नयाँ मुद्दा अघि सार्ने चुनौती छ भने नयाँ दललाई पनि पुरानाभन्दा फरक र जनचाहनाअनुसारका मुद्दा समेटेर मतदाता आकर्षित गर्नुपर्ने चुनौती छ ।
विगतका निर्वाचनमा दल र उम्मेदवारहरूले मत माग्न जाँदा घोषणापत्रमा गरेका बाचा कार्यान्वयन नभएकोमा चर्को आलोचना हुँदै आएको अवस्थामा यो निर्वाचनमा पुराना दललाई कार्यान्वयन गर्न सक्ने ठोस कार्यक्रम र योजनामात्र घोषणापत्रमा राख्नुपर्ने दबाब छ ।
अर्कोतर्फ कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलहरूको विकल्पमा अघि बढेका नयाँ दलहरू नयाँ नेपालको सपनासहित नयाँ र कार्यान्वयन गर्न सक्ने घोषणापत्र तयार गर्नुपर्ने बाध्यतामा छन् ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र तयार पार्ने जनाएको छ ।
_fea29IJA1T.jpg)
महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको नेतृत्वमा घोषणापत्र लेख्ने निर्णय गरेको केन्द्रीय सदस्य सुभाष थापाको भनाइ छ ।
विशेष महाधिवेशनमा पारित तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका आधारमा घोषणापत्र लेख्ने तयारी भइरहेको थापा बताउँछन् ।
अर्को दल एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सबैभन्दा पहिला घोषणापत्र लेखन कमिटी गठन गरेको थियो । एमालेले गत निर्वाचनमा जस्तै ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को मूल नारालाई यस पटक पनि निरन्तरता दिने तयारी गरेको छ ।
निर्वाचनमा एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति बनाउने’ सङ्कल्पसहित घोषणापत्र लेख्न थालिएको उपाध्यक्ष विष्णु पौडेलको भनाइ छ ।
_lEIcZpvJiq.jpg)
‘लोकतन्त्रलाई कसरी लयमा फर्काउने र राज्यलाई कसरी बलियो बनाउने भन्ने राजनीतिक विषय घोषणापत्रमा समेटिनेछ,’ अर्का नेता प्रदीप ज्ञवालीले भने, ‘सुशासन, आर्थिक समृद्धि, जलवायु परिवर्तनको सामना, सूचना प्रविधिको विकास र यसको सहयोगले गर्न सक्ने उन्नतिलगायतमा घोषणापत्र केन्द्रित हुन्छ ।’
अध्यक्ष ओलीको संयोजकत्वको गठित एमाले घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाली कम्युनिस्ट पार्टीले यो निर्वाचनमा मुख्य गरी सुशासन, सामाजिक न्याय र समृद्धिको प्रमुख मुद्दा घोषणापत्रमा समेट्ने तयारी गरेको छ । नेकपाको घोषणापत्र लेखन समितिका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार घोषणापत्र मस्यौदा कमिटीले मस्यौदा तयार गरिरहे पनि सार्वजनिक गर्ने मिति तय भइसकेको छैन ।
_3PmtHZRT2E.jpg)
‘माघ १६ गतेभित्र मस्यौदा तयार पार्ने पूर्वतयारी हो । त्यसै अनुसार काम भइरहेको छ’, नेता श्रेष्ठले रातोपाटीसँग भने, ‘तर सार्वजनिक गर्ने मिति तय भइसकेको छैन ।’
नेकपाले घोषणापत्रमा राष्ट्रिय स्वाधीनता, सुशासन सामाजिक न्याय र रोजगारी र समृद्धिलाई जोड दिने तयारी गरेको श्रेष्ठको दाबी छ ।
नेकपाको घोषणापत्र लेखन समितिमा नेता प्रमेश हमाल, भीम रावल, देव गुरुङ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, राजेन्द्र श्रेष्ठ, पम्फा भुसाल, रामचन्द्र झा, हरि चौधरी, हाकिकुल्ला खाँ, अजम्बर काङबाङ लगायत छन् ।
_Hd6sr8PGgB.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र तयार गरिरहेको जनाएको छ । रास्वपाका उपसभापति डीपी अर्यालले रफ्तारमा घोषणापत्र बनिरहेको बताए । यद्यपि उनले पनि घोषणापत्र सार्वजनिक गर्ने मिति तय भइनसकेको भन्दै अझै केही दिन लाग्ने जानकारी दिए । अर्यालले रातोपाटीसँग भने, ‘घोषणापत्रमा हामी देश र जनताले चाहेका विषयहरू समेट्छौँ ।’
सुशासन, रोजगारी र जेनजी आन्दोलनका माग सम्बोधन गर्ने गरी घोषणपत्र बन्ने अर्यालको भनाइ छ । ‘सुशासन कसरी कायम गर्ने, भ्रष्टाचार कसरी अन्त्य गर्ने, रोजगारी कसरी सिर्जना गर्ने र जेनजी आन्दोलनका माग सम्बोधन र कार्यान्वयन हुनेगरी बाचापत्र निर्माण हुन्छ र सोही आधारमा मत माग्छौँ’, अर्यालले रातोपाटीसँग भने, ‘फागुन ४ गते अघि पब्लिकलाई बाँड्न नमिल्ने भनेकाले त्यसै आसपासमा सार्वजनिक गर्छौँ ।’
यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, उज्यालो नेपाल, नेकपा संयुक्तलगायत दलले पनि चुनावी घोषणापत्र बनाइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण