छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा
सारांश
- पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई छन्द कविता प्रस्तुत गर्दैछ, जसले सात वर्षअघि पनि पलेँटीमा कविता वाचन गरेकी थिइन्।
- भूषिताले नवरसमा आधारित छन्द वाचनमा अग्रज र पछिल्लो पुस्ताका कविहरूका रचना प्रस्तुत गर्नेछिन्, जसमा आफ्नै कविता पनि समावेश हुनेछ।
- छन्द पलेँटीको प्रस्तुति जनवरी ३० र ३१ गते काठमाडौँको नेपालयमा आयोजना हुनेछ, जसमा विभिन्न कविहरूका रचनाहरू समावेश हुनेछन्।
काठमाडौँ । छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झन्डै सात वर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् ।
छन्द कविता लयात्मक माधुर्यमा गुन्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्व कालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सीमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बाँचेको छ ।
स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्त्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायामा पर्दै गएको हो । खासमा यो विधा वाचन परम्परामा जीवित बन्ने विधा हो । भाकामै छन्दको जीवन्तता छ । भाकाले छन्दलाई बचाउने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने दुवै कर्म एकसाथ गर्न सक्छ ।
पलेँटी नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको मञ्च हो । मनग्य प्रचार हुन बाँकी नेपाली छन्द कविता अनेकौँ भाकाहरूले भरिएको सुगन्धको खानी हो ।
यसपालिको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छिन् । उनले विभिन्न कविका भिन्न रसका रचनाहरू छान्दै अभ्यास गरिरहेकी छिन् । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेश पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन् ।
केहीवर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन् । अङ्ग्रेजी भाषाका साथै सँस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाडौँ आइपुगेकी छिन् । नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ ।
छन्द–पलेँटीलाई नेपालयले एउटा उत्सवका रूपमा लिएको जनाएको छ । यसपालिको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेश हुनेछन् ।
भूषिता बाल्यकालदेखिकै छन्दको माहोलमा हुर्किएकी छन्द–अनुरागी हुन् । उनी छन्द कविताको वाचक मात्र होइनन्, छन्द साहित्य भित्र रहेको सैद्धान्तिक र दार्शनिक पक्षलाई पर्गेल्न रुचाउने अध्येयता पनि हुन् ।
‘पलेँटी मेरालागि, आराध्य व्यासासन थियो । त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज । परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो । म जति धन्य भएँ, त्यसको अंशमात्र पनि पोख्न पाए, यो काव्यको वसन्त–स्नान सार्थक हुने थियो’ भूषिता भन्छिन् ।
छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’ शालामा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण