बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी सरगर्मी

कोशी : कांग्रेस र एमाले सिट जोगाउन र रास्वपा इतिहास रच्ने दाउमा

बहुमत ल्याउने ठुला दलहरूको दाबी, तर कांग्रेसलाई अन्तर्घातको डर
बिहीबार, १५ माघ २०८२, ०६ : ५५
बिहीबार, १५ माघ २०८२

सारांश

  • २०७९ को निर्वाचनमा एमालेले कोशी प्रदेशमा ९ सिट जितेको थियो, तर अहिले अवस्था फेरिएको छ।
  • कांग्रेसले ८ सिट जितेको थियो र यसपटक पार्टीभित्रको असहयोगको डर छ।
  • अन्य दलहरूले पनि कोशी प्रदेशमा जित्ने दाबी गर्दै एमाले र कांग्रेसको विरासत भत्काउने प्रयास गरिरहेका छन्।

विराटनगर । २०७९ सालको निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले १४ सिटमा विजय हासिल गर्‍यो । एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुईवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्‍यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो ।

यस्तै धनकुटा, सोलुखुम्बु र उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार विजयी भए । एमाले समग्र प्रदेशमा १४ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो ।

यस्तै प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसले झापाको १ नम्बर, संखुवासभा, तेह्रथुम, मोरङको १, ३ र ६ नम्बर क्षेत्र, सुनसरीको ४, उदयपुरको १ नम्बर क्षेत्र र ओखलढुंगामा विजयी हुँदै ८ वटा निर्वाचन क्षेत्र सुरक्षित गर्‍यो ।

तेस्रो स्थानमा रहेको नेकपाले भने कोशी प्रदेशमा जम्मा तीन सिट सुरक्षित गरेको थियो । जसमा मोरङ ४, भोजपुर र खोटाङमा जित निकालेको थियो । त्यसबाहेक मोरङको ५ नम्बर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार योगी मण्डलले जिते भने सुनसरी–१ बाट जसपाबाट अशोक राई तथा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनले निर्वाचन जितेका थिए ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भने परिस्थिति फेरिएको छ । अहिले एमालेको आधार क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता काठमाडौँका बालेन्द्र शाहले ‘हमला’ गरेका छन् । सो हमलाबाट एमालेका लागि कोशी प्रदेशमा विगतमा जितेका सिट सुरक्षित गर्न गाह्रो पर्ने विश्लेषण हुन थालेको छ ।

एमाले आफैं पनि कम्तीमा १० देखि १२ सिटसम्म सुरक्षित गर्न सकिन्छ भन्ने रणनीतिसहित चुनावी मैदानमा छ । ‘हामीले १२ वटा सिटसम्म जित्न सकिन्छ कि भनेर प्रतिस्पर्धा गरिरहेका छौं,’ एमालेका एक नेता भन्छन् । यद्यपि एमालेका केन्द्रीय सचिवसमेत रहेका कोशी प्रदेश इन्चार्ज शेरधन राई उक्त कुरालाई अस्वीकार गर्दै एमालेले कोशीमा बहुमत जित निकाल्ने दाबी गर्छन् ।

उता, २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादीसहित गठबन्धन गरेको नेपाली कांग्रेसले अपेक्षित जित निकाल्न सकेको थिएन । यस पटक भने विशेष महाधिवेशन पक्षधर र अर्को पक्षबिच एक अर्कालाई असहयोग हुने हो कि भन्ने डर नेताहरूमा देखिन्छ ।

‘हाम्रो प्रतिस्पर्धा एमालेसँगै हो, तर अन्तिमसम्म पार्टीभित्र घात अन्तरघात रोकियो भने हामी पहिलो हुन्छौँ,’ कांग्रेसका एक नेताले भने । कांग्रेस स्रोतका अनुसार अहिलेसम्म कांग्रेसले जित निकाल्ने क्षेत्र कुन हो भन्दा मोरङ–३ भन्ने मात्रै देखिएको छ । ‘अहिले कन्फर्म भनिएको मोरङ–३ मात्रै देखिन्छ । झापा, मोरङ र सुनसरीमै हाम्रो कमजोर छ । पहाडमा पनि घण्टी र माटोले अवस्था खराब गरेको छ,’ ती नेताले भने । कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राई भने यस पटक एमालेको जनाधार कमजोर भएको र अरूको जित्ने अवस्था नहुँदा कांग्रेस कोशीमा पहिलो पार्टी हुने बताउँछन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले भने आफ्नो विगतको ३ सिटबाट बढाएर ६–७ वटामा जित निकाल्ने दाबी गरेको छ । नेकपाका नेता इन्द्रबहादुर आङ्बो गएका निर्वाचनहरूको जस्तो अहिले हिसाब ननिस्कने बताउँछन् । उनी भन्छन्, ‘विगतमा जस्तो बलियो भनिएका कांग्रेस र एमालेको सांगठनिक आधार छैन । उनीहरू छिन्नभिन्न भएका छन् । हाम्रो पार्टी एकताबद्ध छ, नयाँ आएकाहरू जित्ने गरी आउने अवस्थामा देखिँदैनन् । हाम्रो अवस्थामा धेरै सुधार हुन्छ ।’

एमाले र कांग्रेसले आ–आफ्ना विगतको विरासत सुरक्षित गर्न कोसिस गरिहरँदा अन्य पार्टीहरू भने उक्त विरासत भत्काएर रेकर्ड बनाउने दाउमा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका तेजलाल कर्ण भने रास्वपाले बहुमत सिट जित्ने दाबी गर्छन् । ‘पुराना दलहरूले कहीँ पनि जित्ने अवस्था छैन । नसोचेको ठाउँबाट हाम्रो पार्टीका उम्मेदवार निर्वाचित हुने अवस्था देखिन्छ,’ उनले भने, ‘झापामा हामीले ५ वटै जित्ने अवस्था छ, मोरङ र सुनसरीमा पनि त्यस्तै छ ।’

उता, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि बहुमत जित्ने दाबी गर्दै आएको छ । सो पार्टीका प्रवक्ता सत्य घलेले पहाडी जिल्लाहरू सबै जित्ने र तराईका पनि दक्षिणी भेगबाहेक अन्य क्षेत्रमा जित निकाल्न सक्ने बताउँछन् ।

यसबाहेक राप्रपाले पनि अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई सुनिश्चित भन्दै आएको छ । यसअघि झापा–३ बाट जित्दै आएका उनलाई एमालेले सघाउने गरेको थियो । यस पटक पनि आफू असुरक्षित हुने भएपछि अन्तिम समयसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच सहमति हुने चर्चा हुँदै आएको छ ।

एमाले र कांग्रेसले आ–आफ्ना विगतको विरासत सुरक्षित गर्न कोसिस गरिहरँदा अन्य पार्टीहरू भने उक्त विरासत भत्काएर रेकर्ड बनाउने दाउमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप