टोखा–छहरे सुरुङमार्ग निर्माणले गति लिने संकेत, विस्तृत अध्ययनको तयारी हुँदै
सारांश
- टोखा-छहरे सुरुङमार्ग निर्माणको लागि चीनले कार्यान्वयन सम्झौताको मस्यौदा पठाएको छ।
- सुरुङमार्ग निर्माणले काठमाडौँ र नुवाकोटबीचको यात्रालाई छोटो बनाउनेछ, जसले व्यापार र ढुवानीमा सुधार ल्याउनेछ।
- यो सुरुङमार्ग चिनियाँ अनुदानमा बन्ने र यसअघि नै पूर्व-सम्भाव्यता अध्ययन भइसकेको छ।
काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रियाले गति लिने संकेत देखिएको छ । चिनियाँ अनुदान सहयोगमा निर्माण हुने भनिएको यो सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) का लागि चिनियाँ पक्षले नेपाल सरकारलाई ‘कार्यान्वयन सम्झौता’ (इम्प्लिमेन्टेसन एग्रिमेन्ट) को मस्यौदा पठाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख इन्जिनियर सुशीलबाबु ढकालले चिनियाँ पक्षबाट सम्झौताको मस्यौदा प्राप्त भएको पुष्टि गरेका छन् ।
सुरुङमार्ग अध्ययनको चरणमा
सहसचिव ढकालका अनुसार यसअघि नै चिनियाँ सरकारको अनुदानमा आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी स्टडी) सम्पन्न भइसकेको छ । अब विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउन दुई देशबिच कार्यान्वयन सम्झौता हुन बाँकी छ ।
‘चीनले पठाएको इम्प्लिमेन्टेसन एग्रिमेन्टको मस्यौदामा विभिन्न सर्तहरू राखिएका छन्,’ ढकालले रातोपाटीसँग भने, ‘ती सर्तहरूमाथि हामीले आन्तरिक छलफल गरिरहेका छौँ । करको विषयमा अर्थ मन्त्रालय र अन्य कानुनी विषयमा कानुन मन्त्रालय र प्राविधिक विषयमा हाम्रो मन्त्रालयको राय लिएर यसलाई छिट्टै अन्तिम रूप दिने तयारी भइरहेको छ ।’
सरकारले मस्यौदालाई स्वीकृत गरेर सम्झौतामा हस्ताक्षर गरेपछि मात्र चिनियाँ पक्षले आफ्नो कार्यतालिका अनुसार सम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने ढकालले जानकारी दिए ।
काठमाडौँको टोखाबाट नुवाकोटको छहरे जोड्ने यो सुरुङमार्ग करिब ४.२ किलोमिटर लामो बनाउन सकिने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ ।
‘हामीले आफ्नो तर्फबाट राय सुझाव दिइसकेका छौँ, अब अर्थ मन्त्रालय र चीन सरकारबिच सम्झौता भएपछि अनि बल्ल चिनियाँ पक्षले चाहिँ आफ्नो सेड्युलमा विस्तृत सम्भाव्यता अध्ययन गर्छ । यो अध्ययन सकिएपछि मात्रै निर्माण पक्रियामा अघि बढ्ने हो अहिले अध्ययन मात्रै हो ।’
काठमाडौँको टोखाबाट नुवाकोटको छहरे जोड्ने यो सुरुङमार्ग करिब ४.२ किलोमिटर लामो बनाउन सकिने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ ।
यस्तै यही माघ ६ र ७ गते (२०२६ जनजरी २० र २१) चीनमा भएको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एन्ड कर्पोरेशनको तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा पनि यो सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकारले सहमति जनाएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा भएको बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकासलगायत सहकार्यका विषयमा सहमति भएको थियो, जसमा नेपाली प्रतिनिधिमण्डल नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष महामहिम चाओ पेङले गरेका थिए, जसमा यस टोखा–छहरे सुरुङ निर्माण प्रक्रियालार्य तिव्रता दिनेबारे छलफल भएको थियो ।
यसअघि चीन भ्रमणमा क्रमका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लीले २०८२ मंसिर १८ गतेसुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
६ वर्षअघि चर्चासँगै पूर्वसम्भाव्यता अध्ययन
टोखा–छहरे सुरुङमार्ग निर्माणको विषय ६ वर्षदेखि चर्चामा छ । २०७६ मा असोज २५ गते चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो । राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए । सोहीअनुसार २०७६ पुस ११ गतेमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि फिल्डमा खटिएको थियो ।
सुरुङमार्ग निर्माण भएपछि अहिले सञ्चालनमा आइरहेको सडकमार्फत छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुने अनुमान गरिएको छ ।
टोखा–छहरे सुरुङमाग पूर्व सम्भाव्यता अध्ययन सकेपछि २०७६ माघ १ गते चिनियाँ टोलीले सडक विभागमा प्रस्तुतीकरण गरेका थिए, जसमा ३ वटा विकल्प देखाइएको थियो । यसको कुल लम्बाई करिब ४ वा ४.५ किलोमिटर हुने यो सुरुङमार्ग काठमाडौँको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरातर्फ निस्कने छ । विस्तृत अध्ययनपछि नुवाकोटतर्फको विन्दु तय हुने बताइएको थियो ।
यसपछि तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतको पालामा आर्थिक वर्ष २०८०/८१ मा यो सुरुङमार्गको विस्तृत अध्ययनका लागि १ अर्ब बराबर बजेट विनियोजन गरिएको थियो, तर अध्ययन अघि बढ्न सकेको थिएन ।
सुरुङमार्गको फाइदा
यो सुरुङमार्ग निर्माण भएपछि आर्थिक र भौतिक रूपमा फाइदा हुने अपेक्षा गरिएको छ । यो सुरुङ निर्माण भई सञ्चालनमा आएपछि दुई देशको व्यापारमा सुधार, सडकको दूरी छोटिने र समयको सदुपयोग हुने ढुवानी खर्च पनि कम लाग्ने अपेक्षा गरिएको छ ।
सुरुङमार्ग निर्माण भएपछि अहिले सञ्चालनमा आइरहेको सडकमार्फत छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुने अनुमान गरिएको छ ।
टोखाबाट गुज्रेभञ्ज्याङ–छहरे–गंगटे सडक अहिले सञ्चालनमा छ । यो सडकले काठमाडौँबाट स्याफ्रुबेंसी–रसुवागढी हुँदै चीनसँग जोड्नेछ । अर्को सडक काठमाडौँ–थानकोट हुँदै गल्छी–त्रिशुली– स्याफ्रुबेँसी–रसुवागडी सम्मको सडक पनि सञ्चालनमा छ । यी दुवै सडकबाटभन्दा टोखा–छहरे सुरुङ हुँदै छिटो रसुवागढी पुग्न सकिने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण