बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

बिहीबार, १५ माघ २०८२, १३ : ०३
बिहीबार, १५ माघ २०८२

सारांश

  • नेपाल विश्वविद्यालय र आईआईएस्सी बैंगलोरबीच प्राज्ञिक सहकार्यका लागि समझदारी भएको छ।
  • सम्झौताले विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र शैक्षिक गतिविधिमा सहयोग गर्नेछ।
  • यस सहकार्यले अध्ययन, क्षमता अभिवृद्धि र अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास छ।

काठमाडौँ । नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। 

नेपाल विश्वविद्यालयको स्वायत्त शासकीय स्वरूप र उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्ने योजनामा आईआईएस्सी जस्तो विश्वस्तरको संस्थासँगको साझेदारीलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। सम्झौताका क्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले विश्वविद्यालयको समग्र संरचना र भावी योजनाबारे प्रस्तुति दिएका थिए। 

आईआईएस्सीका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयले स्नातक तहमा सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’ को पाठ्यक्रम आफ्नो संस्थासँग मिल्दोजुल्दो रहेको भन्दै सहयोगका लागि तत्परता व्यक्त गरे। 

यस सहकार्यले विद्यार्थीको अध्ययन-अध्यापन, प्राध्यापकहरूको क्षमता अभिवृद्धि र उच्चस्तरीय अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास नेपाल विश्वविद्यालय कार्यकारी समितिका अध्यक्ष लालकृष्ण केसीले व्यक्त गरे।

आइआईएस्सीको निमन्त्रणामा बैंगलोर पुगेको नेपाल विश्वविद्यालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले त्यहाँका विभिन्न संकायका डीन, विभाग प्रमुख र प्राध्यापकहरूसँग छलफल गरेको थियो। सो क्रममा नेपाली टोलीले विज्ञान शिक्षक तालिम, जलवायु परिवर्तन, दिगो प्रविधि र सीप विकासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न चल्लाकेरस्थित आइआईएस्सीको नयाँ क्याम्पसको समेत भ्रमण गरेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप