शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

शुक्रबार, १६ माघ २०८२, ०५ : ०४
शुक्रबार, १६ माघ २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट बनाउँदैछ।
  • बागबजार र बबरमहलमा कल्भर्ट निर्माण हुनेछ, जसको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ हो।
  • धोवीखोला नदी खण्डमा पनि कल्भर्ट बन्नेछ, जसको लागत २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँ छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।

कामपा सार्वजनिक निर्माण विभागका सब इन्जिनियर दीपकबहादुर शाहीले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने जानकारी दिए । उनका अनुसार यसको सम्झौता रकम रु ५७ लाख ७२ हजार ६९४ हो ।

कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । “अहिले त्यहाँ पानी निकासका लागि ह्युमपाइप राखिएको छ । यसरी राखिएका ह्युमपाइप पुराना भइसकेका छन्”, सब इन्जिनियर शाही भन्छन्, “बर्खाको समयमा पानीका बहाव रोकिने अवस्था भएको छ । बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।”

कल्भर्ट निर्माणको प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले बताए । यसका लागि दुवैतर्फबाट आउने सवारीसाधन कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।

यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम रु दुई करोड २१ लाख २३ हजार ८९९ हो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटरको हुनेछ ।

यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गर्यो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकार भन्छन्, “पुल बनाउने भनेर विभिन्न निकाय आए, कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ, तर कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण हुन लागेको हो”, वडाध्यक्ष तण्डुकारले जानकारी जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप