बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाराष्ट्रले पायो पहिलो महिला उपमुख्यमन्त्री: अजित पवारकी पत्नीले आज साँझ शपथ लिँदै

शनिबार, १७ माघ २०८२, १५ : ०७
शनिबार, १७ माघ २०८२

सारांश

  • अजित पवारको निधनपछि रिक्त रहेको महाराष्ट्रको उपमुख्यमन्त्री पदमा सुनेत्रा पवार नियुक्त हुँदैछिन्।
  • राष्ट्रवादी कांग्रेस पार्टीको विधायक दलको नेता चयन भएपछि उनी उपमुख्यमन्त्री बन्ने पहिलो महिला बन्नेछिन्।
  • राज्यसभा सांसद रहेकी सुनेत्राले शपथ लिनुअघि सांसद पदबाट राजीनामा दिनुपर्नेछ।

मुम्बई । महाराष्ट्रमा दिवंगत नेता अजित पवारकी पत्नी सुनेत्रा पवार नयाँ उपमुख्यमन्त्री बन्ने भएकी छन्। राष्ट्रवादी कांग्रेस पार्टीको विधायक दलको नेतामा चुनिएसँगै उनी महाराष्ट्रको इतिहासमै उपमुख्यमन्त्री बन्ने पहिलो महिला हुनेछिन्।

शनिबार दिउँसो २ बजे बसेको एनसीपी विधायक दल र विधान परिषद सदस्यहरूको बैठकमा सुनेत्रालाई सर्वसम्मत रूपमा नेता चयन गरिएको हो। बैठकमा वरिष्ठ नेता दिलीप वलसे पाटिलले सुनेत्राको नाम प्रस्ताव गरेका थिए। नवनिर्वाचित उपमुख्यमन्त्री पवारले आजै साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

हाल राज्यसभा सांसद रहेकी सुनेत्राले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि सांसद पदबाट राजीनामा दिनुपर्नेछ। भारतीय संविधानको अनुच्छेद १९०(१) अनुसार कोही पनि व्यक्ति एकैपटक संसद र राज्य सरकारको मन्त्री बन्न नपाउने व्यवस्था छ। त्यसैले, उपराष्ट्रपतिसमक्ष राजीनामा बुझाएर स्वीकृत भएपछि मात्र उनले शपथ लिनेछिन्। साथै, मन्त्री बनेको ६ महिनाभित्र उनले विधानसभा वा विधान परिषदको चुनाव जित्नुपर्ने संवैधानिक बाध्यता पनि रहनेछ।

गत जनवरी २८ मा बारामतीमा भएको विमान दुर्घटनामा परेर तत्कालीन उपमुख्यमन्त्री अजित पवारको निधन भएपछि यो पद रिक्त थियो। अजितको चुनावी रणनीतिकार संस्था र पार्टीका नेताहरूको सल्लाहपछि सुनेत्राले यो जिम्मेवारी स्वीकार गरेकी हुन्।

यसैबीच, एनसीपीका संस्थापक शरद पवारले अजितको निधनपछि पहिलो पटक प्रतिक्रिया दिँदै पार्टीका दुवै गुटको विलय अजितको इच्छा रहेको र अब त्यो पूरा हुनुपर्ने बताएका छन्। अर्कोतर्फ, राज्यको बजेट भने मुख्यमन्त्री देवेन्द्र फडणवीसले नै पेश गर्ने सम्भावना रहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप