एमाले–कांग्रेसको ३० वर्षदेखिको चुनावी किल्लामा नेकपा र रास्वपाको चुनौती
सारांश
- दैलेख-२ मा माओवादीले अहिलेसम्म चुनाव जित्न सकेको छैन, तर यसपटक नेकपा र रास्वपाले कांग्रेस-एमालेलाई चुनौती दिने देखिएको छ।
- २०७९ को चुनावमा कांग्रेसका दीक्पालकुमार शाहीले एमालेको गढ भत्काए पनि यसपटक एमाले र कांग्रेस दुवैलाई नेकपा र रास्वपाका उम्मेदवारले तनाव दिएका छन्।
- आगामी चुनावमा एमाले, कांग्रेस र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना छ, भने रास्वपाले पनि पुरानै दलको भोट काट्न सक्ने आकलन गरिएको छ।
सुर्खेत । दैलेख–२, कर्णालीको यस्तो क्षेत्र हो, जहाँ अहिलेसम्म नेकपा माओवादीले कुनै पनि चुनाव (स्थानीय, प्रदेशदेखि प्रतिनिधि) जित्न सकेको छैन । क्षेत्र नम्बर १ मा २०७९ को स्थानीय तहको चुनावमा दुई वटा स्थानीय तह चुनाव जित्दा क्षेत्र नम्बर–२ अहिलेसम्म माओवादीका लागि ‘अन–टेस्टेट’ क्षेत्र हो ।
यहाँ ०५१ सालभन्दा अघि नेमकिपा–कांग्रेस र त्यसपछिका चुनावमा एमाले–कांग्रेसबिच चुनावी भिडन्त हुँदै आएको छ । ६० को दशकपछि यो क्षेत्रलाई एमालेले आफ्नो किल्लाजस्तै बनायो ।
२०७९ को चुनावमा आउँदा गठबन्धनको बलमा प्रतिनिधि सभातर्फ कांग्रेसका दीक्पालकुमार शाहीले एमाले गढ भत्काए । करिब ३० वर्ष कांग्रेस–एमालेले चुनावी मैदान बनाएको यो क्षेत्रमा अहिले यी दुवै दल असुरक्षित महसुस गरिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि ११ जना यहाँ चुनावी मैदानमा छन्, तर प्रतिस्पर्धा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच त्रिपक्षीय हुने देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरानै दलका भोट क्षति गर्न सक्ने आकलन गरिएको छ ।
विशेषगरी नेकपा र रास्वपाका उम्मेदवारका कारण कांग्रेस–एमालेका उम्मेदवारलाई तनाव छ भन्दा फरक नपर्ला । कारण, एमाले–कांग्रेसले पुरानै अनुहारलाई उम्मेदवार बनाउँदा नेकपा र रास्वपाबाट बौद्धिक व्यक्ति र इन्जिनियरहरू मैदानमा उत्रिनु ।
कांग्रेस–एमालेलाई आन्तरिक त्रास, मौकाको खोजीमा नेकपा
यहाँ कांग्रेसबाट शाही पुनः उम्मेदवार बनेका छन् । उनले यसअघि ०७९ को निर्वाचनमा यही क्षेत्रबाट एमालेका लक्ष्मीप्रसाद पोखरेललाई वाम–लोकतान्त्रिक गठबन्धनको बलमा पराजित गरेका थिए ।
एमालेले पनि उनै लक्ष्मी प्रसाद पोखरेललाई पुनः चुनावी मैदानमा उतारको छ ।
नेकपाबाट योगेन्द्रबहादुर शाही र रास्वपाबाट बखतबहादुर शाही उम्मेदवार छन् । तीन जना शाही र एक जना पोखरेलबिच हुने चुनावी भिडन्तलाई दैलेख मात्र होइन्, कर्णालीमै विशेष रूपमा हेरिएको छ । कारण–यो एमाले र कांग्रेसको गढ भएको र धेरै नेताहरू भएको क्षेत्र पनि हो ।
एमालेका पोखरेल पुराना अनुभवी नेता हुन्, पहिलो पटक ०५६ सालमा मालेबाट चुनाव लडेका उनले २ हजार ७१२ मतसहित चौथो स्थान पाएक थिए ।
त्यसपछि एमालेमै फर्किएका उनी ०७० को दोस्रो संविधान सभा चुनावमा १५ हजार ६१९ मतसहित निर्वाचित भए । ०७९ मा पुनः टिकट पाएका उनले १६७ मतान्तरले कांग्रेसका शाहीसँग पराजय भोगे । उनी दैलेखमा संघर्षशील र इमानदार नेताकै रूपमा गनिन्छन्, तर उनलाई यो पटक सबैभन्दा डर बाह्य भन्दा आन्तरिक छ ।
उम्मेदवार छनोटका क्रममा भएको प्रतिस्पर्धाका एक नम्बरमा विष्णु रिजालले भोट पाए पनि दोस्रोमा भएका पोखरेलले यहाँ टिकट पाए । पोखरेल भन्छन्, ‘पहिला चुनावमा झिनो मतान्तरका कारण पराजय भोगेका कारण पार्टीले टिकट दिएको हो ।
सांगठनिक र एकताबद्ध रूपमा नेताहरूको साथ पाएको खण्डमा चुनाव आफूले जित्ने उनको दाबी छ । ‘यसअघि संविधानसभा सदस्य हुँदा धेरै विकासे आयोजना अघि बढाएको थिएँ, व्यक्तिगत रूपमा पनि म निष्कलङ्क नेता हो,’ उनी भन्छन्, ‘संगठन भएको पार्टी भएकाले यही नै मेरो जित्ने आधार हो ।’
यो क्षेत्र एमालेका धेरै नेताहरू भएको क्षेत्र हो, तर उनलाई एमालेभित्रकै नेताहरूको साथ पाउन मुस्किल रहेको एमालेकै नेताहरू बताउँछन् ।
उनीमाथि पनि विगतमा एमालेकै उम्मेदवारलाई साथ नदिएको आरोप अन्य नेताहरूले लगाउने गर्छन् । नेताहरूको पूर्ण साथ नपाए एमालेका भोट क्रस हुने सम्भावना अत्यधिक छ । अर्कातर्फ एमाले पृष्ठभूमिकै नकेपा उम्मेदवार योगेन्द्र शाहीले पनि धेरैजसो भोट तान्ने एमालेकै हो ।
यो अवस्थामा उनलाई चुनावी मैदान महँगो पर्ने विश्लेषण उनीनिकट नेताहरूकै छ ।
कांग्रेसका उम्मेदवार शाही ठेकेदार पृष्ठभूमिका हुन् । यसअघि सांसद हुँदै गर्दा जिम्मा लिएका सडक आयोजना अलपत्र पारेपछि उनी विवादमा तानिएका थिए ।
उक्त क्षेत्रमा कांग्रेसका धेरैजसो आकांक्षी भए पनि विशेष महाधिवेशनमा खुलेपछि कांग्रेस सभापति गगनकुमार थापाले उनैलाई टिकट थमाए । उनी पार्टीको केन्द्रीय सदस्य पनि बने ।
विशेषतर्फ खुल्नुको फाइदा उठाए पनि शाहीलाई आन्तरिक पक्ष मिलाउन निकै हम्मे पर्ने देखिएको छ । यहाँ यसअघि देउवा पक्षकी सीता राना केन्द्रीय सदस्य थिइन्, उनी प्रत्यक्ष चुनाव लड्न चाहन्थिन्, तर उनी विशेषतर्फ खुलिनन् । यस्तै साविक शेखर पक्षधर मानिने अधिकांश नेताहरू विशेषतर्फ खुलेका छैनन्, जसको प्रत्यक्ष प्रभाव चुनावमा पर्ने देखिन्छ ।
दुई पुराना दलहरूबिच आन्तरिक लफडा र विगतका कमजोरीबिचको फाइदा नेकपालाई हुन सक्छ, नेकपा र रास्वपा दुवैले मत काट्ने भनेको कांग्रेस–एमालेकै हो ।
विवादित पृष्ठभूमि, यसअघि सांसद हुँदा संसद्मा खासै नबोलेको जस्ता विषयले उनलाई यो चुनाव सजिलो छैन, तर उनले आफूले यसअघि सांसद हुँदा निर्वाचन क्षेत्रमा करोडौँ बजेटका योजना ल्याएको र तिनलाई पूरा गर्न आफू पुनः मैदानमा आएकाले आफूले नै जित्ने ‘ब्रिफिङ’ गरेका छन् ।
अर्कातर्फ कांग्रेस–एमाले नै सत्तामा हुँदा देशमा जेनजी आन्दोलन भएको र निर्वाचन क्षेत्रमा पनि विकासे आयोजनाहरूको समूचित विकास हुन नसकेको तर्क उनीहरूमाथि छ ।
यता दुई पुराना दलहरूबिच आन्तरिक लफडा र विगतका कमजोरीबिचको फाइदा नेकपालाई हुन सक्छ, नेकपा र रास्वपा दुवैले मत काट्ने भनेको कांग्रेस–एमालेकै हो ।
नेकपाबाट उम्मेदवार रहेका योगेन्द्र बौद्धिक युवा नेता हुन्, उनी यसअघि प्रदेश (१) बाट चुनाव लडेका थिए, तर झिनो मतान्तरले पराजित भए, तर उनी युवामाझ लोकप्रिय छन् ।
जवाहरलाल नेहरू विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका उनी अहिले पनि विद्यावारिधि गर्दैछन् । कर्णाली योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष भएर प्रदेशको रणनीतिक योजना निर्माण गरेको अनुभव उनीसँग छ ।
दैलेख–२ को विगत ४० वर्षको राजनीतिक इतिहास हेर्दा (०४८–०७९ सम्म) ७ वटा चुनावमध्ये ३ वटा प्रतिनिधि सभा चुनाव कांग्रेसले जितेको छ । एमालेले ३ र नेमकिपाले एक पटक चुनाव जितेको छ ।
उनको राजनीतिक पृष्ठभूमि एमाले नै हो । पञ्चायविरोधी आन्दोलनमा सक्रिय उनी १८ वर्षकै उमेरमा सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति (०५१) भएर इतिहास रचेका थिए । एमालेको अर्थ तथा योजना विभाग सचिव भएर काम गरिसकेका उनी ओलीको स्वेच्छाचारी र निरंकुश कार्यशैलीका कारण एमाले परित्याग गरेको बताउँछन् । अन्तर्राष्ट्रिय राजनीतिक पार्टीहरूको सम्मेलनका लागि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकारको भूमिका उनले निर्वाह गरेका थिए भने विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष भएर विश्वका ६० बढी देशमा वक्ताको रूपमा सहभागी छन् ।
विगत लामो समय एमालेमा गरेको संघर्ष, योजना आयोगमा हुँदा गरेको काम र यसअघि पराजयको सहानूभूति यो चुनावमा पाउने उनलाई आशा छ । भन्छन्, ‘अहिलेको अवस्था हेर्दा एमाले–कांग्रेसको विरासत हामी भत्काउँछौँ भन्ने लागेको छ ।’
रास्वपा उम्मेदवार बखतबहादुर शाही नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुख (सीईओ) हुन् । यद्यपि उनी बौद्धिक वर्गमा चिनिए पनि जनतामा भने खासै चिनिएका छैनन् ।
तर अहिले रास्वपाप्रतिको आकर्षणका कारण उनले कांग्रेस–एमालेको केही भोट काट्न सक्ने आकलन गरिएको छ । उनले विगतका पुराना दलहरूले काम गर्न नसकेको र रास्वपा नै अहिलेको परिवर्तित शक्ति भएको बताएका छन् ।
तथ्यांकमा चुनावी विश्लेषण
दैलेख–२ को विगत ४० वर्षको राजनीतिक इतिहास हेर्दा (०४८–०७९ सम्म) ७ वटा चुनावमध्ये ३ वटा प्रतिनिधि सभा चुनाव कांग्रेसले जितेको छ । एमालेले ३ र नेमकिपाले एक पटक चुनाव जितेको छ ।
२०४८ सालमा कांग्रेसका रङ्गबहादुर शाहीले १६ हजार १८२ मत ल्याएर चुनाव जित्दा प्रतिस्पर्धी नेमकिपाका उम्मेदवारले ११ हजार ८४८ मत ल्याएका थिए ।
२०५१ मा नेमकिपाबाट विनोदकुमार शाहले १३ हजार ६४० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रामबहादुर शाहीले ६ हजार ७२५, राप्रपाले ५ हजार १७ मत ल्याएको थियो । नेमकिपाका शाही बिचमै एमाले प्रवेश गरे । नेमकिपाको लालकिल्लाझैं रहेको दैलेख उनीलगायत नेताहरूकै नेतृत्वमा एमालेमा समाहित भएको थियो । त्यसपछि दैलेखमा नेमकिपा कमजोर बन्यो भने ०५६ को चुनावमा कांग्रेसको प्रतिस्पर्धी एमाले बन्यो ।
२०५४ मा एमाले विभाजन हुँदा ०५६ मा एमालेबाट उनै विनोदकुमार शाह पुनः उम्मेदवार बन्दा पराजित भए । कांग्रेसका शिवराज जोशीले १८ हजार ८८२ मत पाएर निर्वाचित हुँदा शाहले १४ हजार मत पाएका थिए भने अहिले एमालेबाट उम्मेदवार बनेका लक्ष्मी पोखरेल त्यो बेला मालेबाट चुनाव लडेका थिए, उनले चौथो स्थानमा २ हजार ७१२ मत पाउँदा नेमकिपा तेस्रोमा थियो ।
६० को दशकपछि कर्णालीका अन्य क्षेत्रमा माओवादीको उदय हुँदा यो क्षेत्रमा भने एमाले पहिलो शक्तिका रूपमा उदायो । कारण, युद्धको समयमा ‘दुल्लु विद्रोह’ भएको थियो, जसको असरस्वरूप अहिलेसम्म पनि माओवादीले आफ्नो स्थान लिन सकेन ।
२०६४ मा एमालेबाट राजबहादुर बुढाले १६ हजार २९२ मत ल्याएर निर्वाचित हुँदा यहाँ कांग्रेसका हिमबहादुर शाहीले १३ हजार ८७७ मत पाए । माओवादीका थिरबहादुर कार्कीले ११ हजार बढी मत पाउँदा नेमकिपाले ६ हजार मत पाएको थियो ।
यो क्षेत्रमा ८१ हजार ५०३ मतदाता संख्या छ । तर अहिले मत विगतभन्दा निकै न्यून खस्ने आकलन छ । सबै दल एक्लाएक्लै चुनावी मैदानमा होमिँदा १५ हजार बढी मत ल्याउनेले चुनाव जित्ने सम्भावना देखिएको छ ।
२०७० मा एमालेबाट पुनः लक्ष्मीप्रसाद पोखरेल चुनाव लडे, उनले १५ हजार ६१९ मत ल्याएर चुनाव जित्दा कांग्रेसका हिमबहादुर शाहीले १३ हजार ९६ मत पाए । यो पटक माओवादीले मत बढाएर ७ हजार ७४७ पुर्यायो । तर ०७४ मा वाम गठबन्धन हुँदा एमालेले टिकट पायो, राजबहादुर बुढाले दोस्रो पटक २३ हजार ३२३ मतसहित चुनाव जिते, कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत पाए ।
२०७९ मा वाम–लोकतान्त्रिक गठबन्धन हुँदा कांग्रेसका दीक्पालकुमार शाहीले टिकट पाए । उनले २० हजार १८३ मत पाएर निर्वाचित हुँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत ल्याए ।
उक्त चुनावमा नेमकिपाले ३ हजार मत ल्याउँदा रास्वपाले ७ सय मत प्राप्त गरेको थियो ।
२०७९ मा दलहरूले पाएको समानुपातिक मत हेर्दा प्रत्यक्षमा पराजित एमालेले सबैभन्दा बढी १७ हजार ३१७, कांग्रेसले १५ हजार ५०४, माओवादीले ६ हजार ३५४ मत पाएको छ ।
हाल माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दा नेकपाको मत झण्डै साढे ७ हजार आउँछ । यो क्षेत्रमा दुल्लु, चामुण्डाबिन्द्रासैनी र आठबिस नगरपालिका तथा भैरवी र ठाटीकाँध गाउँपालिका पर्दछन् ।
२०७९ को चुनावमा यहाँ ३ स्थानीय तह कांग्रेसले जितेको छ भने एउटामा एमालेले ।
यद्यपि अहिलेको चुनावलाई विगतमा दलहरूले पाएको मतलाई आधार मान्न नहुने विश्लेषकहरू बताउने गर्छन् । अहिले यो क्षेत्रमा नेकपा र रास्वपा कांग्रेस–एमालेलाई चुनौती बन्ने देखिएको छ ।
यो क्षेत्रमा ८१ हजार ५०३ मतदाता संख्या छ । तर अहिले मत विगतभन्दा निकै न्यून खस्ने आकलन छ । सबै दल एक्लाएक्लै चुनावी मैदानमा होमिँदा १५ हजार बढी मत ल्याउनेले चुनाव जित्ने सम्भावना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण