बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले नेतृ विन्दा पाण्डेसँग ‘वारपार’

‘अहिले सबैभन्दा धेरै चुनाव नै हाम्रो अध्यक्षलाई लागेको छ’

आइतबार, १८ माघ २०८२, २० : ००
आइतबार, १८ माघ २०८२

सारांश

  • विन्दा पाण्डेले चुनाव नलड्ने तर पार्टीको आवश्यकता परे लड्न सक्ने बताइन्।
  • उनले पार्टी र नेतृत्वसँगको सोच नमिल्दा टाढा भएको र अहिले जिल्ला दौडाहमा रहेको बताइन्।
  • पाण्डेले मतदाताको मनस्थितिमा परिवर्तन आएको र मुद्दामा आधारित मतदान हुने धारणा राखिन्।

नेपाली राजनीतिमा सक्रिय, श्रमिक अधिकारकर्मी र महिला आन्दोलनकी अग्रणी अभियन्ता हुन्, विन्दा पाण्डे  । समावेशी, श्रमिक अधिकार र राजनीतिक सहभागिताका विषयमा गहन अध्ययन र विश्लेषण गरेको अनुभव पाण्डेसँग छ । जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्मको राजनीतिक यात्रामा सडकदेखि संसद्सम्म सक्रिय भूमिका निर्वाह गरेकी पाण्डेका आधा दर्जन पुस्तक प्रकाशित छन् । पछिल्लो समय प्रकाशित पुस्तक ‘भुइँमान्छे’ले निकै नै चर्चा बटुलिरहेको छ । एमाले नेतृ डा. विन्दा पाण्डेसँग निर्वाचनलगायत विषयमा रातोपाटीले कुराकानी गरेको छ, पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश– (कुराकानीको विस्तृत भिडिओमा) 

देश चुनावमय भएको छ । पार्टीलाई पनि चुनाव लागेको छ । तपाईंलाई चाहिँ चुनावले छोएको छैन ? 

–मलाई ठिक–ठिकै लागेको छ । 

किन पार्टीले जिम्मेवारी नदिएर ?

–अर्कोले दिएको काम मात्रै गर्नेलाई जिम्मेवारी छ कि छैन भन्ने हुन्छ, हैन ? जो आफैँ जिम्मेवार हुन्छ, उसलाई जिम्मेवारी दियो र दिएन भन्नेले फरक पार्दैन । 

अहिले गरिरहनुभएको चाहिँ के छ ?

–एउटा हामीले महिलाहरू प्रत्यक्ष निर्वाचनमा जान मन गर्दैनन् भन्ने जुन भाष्य छ, त्यसलाई चिर्नुपर्छ भन्ने हिसाबले कम्तीमा पनि तपाईंहरूले निर्वाचन क्षेत्र दाबी गर्नुस् भनेर अभियान गरिराखेका थियौँ । त्यसको अलिअलि परिणाम पनि निस्कियो । अर्काे निर्वाचनको अभियानमा लाग्दा सबै पार्टीका महिला अलिकति देखिने हिसाबले नेतृत्वदायी भूमिकामा रहनेगरी लाग्नुस् भनिरहेका छौँ । आखिर सवा वर्ष, डेढ वर्ष पछाडि त प्रदेश, स्थानीय निर्वाचन आउँछ । यी साझा काम भयो । अब दोस्रो काम त म काठमाडौँ क्षेत्र नं २ मा बस्छु । क्षेत्र नं–२ मा जति आवश्यक पर्छ, त्योअनुसार अभियानमा पनि जोडिएको छु । 

महाधिवेशनमा पारजित भएको समूह निर्वाचनमा सक्रिय नै भएन भन्ने आरोप छ नि त !

–म त्यसै बसेको छैन । म कार्यक्रममा नै व्यस्त छु । खासगरी महिलाहरूका एजेन्डा र राजनीतिक संस्कारलाई कसरी स्थापित गर्ने भन्नेमा लागेका छौँ । हामीले निर्वाचनमा जाने भनेको अर्कालाई गाली गरेर आफू नेता हुने होइन, हामीले आफ्ना मुद्दाहरू बोकेर जाने हो । नागरिकलाई राम्रोसँग बुझाउन सक्छ, उसैले मत पाउने खालको स्थिति हुन्छ । त्यसले गर्दा यो राजनीतिक संस्कारमा अहिले जुन खालको एउटा गालीगलौजको कुरा छ, त्यसलाई रूपान्तरण गर्न र मुद्दाका आधारमा चाहिँ निर्वाचन लड्नुपर्छ भन्ने हाम्रो कुरा छ । एउटाचाहिँ मुद्दा स्थापित हुने र अर्को सद्भावपूर्ण संस्कारलाई स्थापित गर्ने कुरा गरेर निर्वाचनको अभियान चलाउनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ । 

महिला सशक्तीकरणका कुरा लामो समयदेखि उठाउनुभयो । तर तपाई आबद्ध पार्टीको प्रत्यक्षमा १६५ मध्ये १० सिटमा महिला उम्मेदवार हुनुहुन्छ, अनि तपाईंको मिहिनेत बालुवामा पानी भएन र ? 

–हामी अलिकति माक्र्सवादी विश्लेषणसहित अगाडि बढ्नुपर्छ भन्छौँ । त्यसले संख्यात्मक विकास हुँदैहुँदै गएपछि एउटा स्टेजमा पुगेपछि त्यो गुणात्मक फड्को मार्छ भन्ने कुरा हो । हिजोका दिनमा महिला निर्वाचनमा जान डराउने खालको स्थिति छ भन्ने भाष्य थियो, अहिले महिलाहरू म निर्वाचन लड्न तयार छु भन्ने ठाउँमा त पुग्यौँ नि । 

विकासको गति किन बढेन भन्ने मेरो प्रश्न ।

–२०४८ सालको निर्वाचनमा पाँच प्रतिशत महिला उम्मेदवार उठाउनुपर्छ भन्ने दिमागमा परेको नेतृत्व अहिलेसम्म पनि निर्णय गर्ने ठाउँमा छ । 

अरूलाई प्रतिस्पर्धाबाट पछि हट्नुहुन्न है भन्नुभयो, तर तपाईं आफै निर्वाचनबाट पछि हट्नुभयो नि ? 

–पछाडि हटेको होइन । अब म टिकट माग्दिनँचाहिँ भनेको हो ।

किन ? 

–२०७० सालमा मैले खासै दाबी गरिनँ । ०७४ मा दाबी गरेँ । मलाई भाग पुगेन । ०७९ मा पनि दाबी गरेँ । त्यतिखेर नेतृत्वले दिन चाहेन । पहिला भाग पुगेन, पछि चाहेन । अब एउटै मान्छेले नपाउञ्जेल दाबी गरिराख्नुपर्छ भन्ने मान्यता पनि राख्नु हुँदैन भन्ने मेरो बुझाइ हो । त्यसैले मैले दुइटा कुरा गरेको हो । म आइन्दा समानुपातिकमा जान्नँ । दोस्रो कुरा, म अब मलाई टिकट देऊ भनेर माग्न पनि जान्नँ । 

अब चुनावै नलड्ने ?

–पार्टीको आवश्यकताले निर्वाचन लड्नुपर्‍यो भन्यो भने त्यतिखेर लड्न सक्दिनँ भनेर भाग्दिनँ । 

अब आउने संसद् नेपालको इतिहासमा अलिकति टर्निङ प्वाइन्ट हुन्छजस्तो छ । त्यो अवसरमा म छुट्ने भएँ भन्ने लागेको छैन ?

मलाई त्यस्तो किन लागिरहेको छैन भने म ०६४ मा जाँदा पनि नयाँ नै थिएँ । त्यतिखेरको त्यो टर्निङ प्वाइन्ट पनि थियो र एकदमै महत्त्वपूर्ण जिम्मेवारी पनि थियो । अब अहिले अर्को टर्निङ प्वाइन्ट हो । टर्निङ प्वाइन्ट हेर्ने हो भने एउटा ०४८ साल पनि थियो । अहिले जति अनुभवहरू हासिल गरेको छु, मैले जति कुराहरू जानेको छु, त्यहाँ जाने साथीहरूलाई सेयर गर्न त सक्छु नि त । 

तपाईंलाई पार्टीले राम्रै अवसर दिएको पनि हो । तर नेतृत्वसँग किन टाढा हुनुभयो ? नेतृत्वले किन विश्वास गर्न सकेन होला ? 

–अब त्योचाहिँ नेतृत्वलाई नै सोध्नुपर्छ । अलिकति सोचाइको जोडकोण मिलेन होला । 

तपाईं अहिले जिल्ला जिल्ला गइरहनुभएको छ । दलहरूले गर्नुपर्ने कुराचाहिँ के हो भन्ने लाग्छ ? 

–राजनीतिक दललाई मतदाताहरूले एकदमै राम्रोसँग सुन्न चाहने बेला हो यो । दलको नीति के हो ? दलको सिद्धान्त के हो ? उसको विधि के हो ? उसको कार्ययोजना के हो ? उसको विकासको मोडल के हो ? उसका लक्षित समुदाय को–को हुन् ? त्यो लक्षित समुदायप्रतिको उसको कार्यक्रम के छ ? अहिले उठिरहेको समावेशिताको कुरा छ । नीति, विधि, प्रक्रिया, पद्धति, इस्यु । यो सबैको नेताहरूले यतिखेर आम नागरिकलाई मास एजुकेसन गर्ने बेला हुनुपर्थ्यो । 

तपाईं आबद्ध दल एमालेले त्यो गरेको छ त ? 

–म जुन दलमा छु, त्यो दलको मात्रै कुरा मतदाताले बुझेर हुँदैन । म जुन दलमा छु, मसँग प्रतिस्पर्धा गर्ने अर्को दलको कुरा पनि मेरो मतदाताले बुझ्यो भने उसले तुलना गरेर मुद्दाका आधारमा मतदान गर्ने स्थिति बन्छ । 

अहिलेका मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?

–एकपल्ट मैले फलानो चिह्नमा मत लगाएँ, जिन्दगीभरि त्यो छोड्न सकिँदैन भन्ने जमात अब छैन । अहिल उसको मुद्दा हेरेर, उसको काम हेरेर, उसको बोली हेरेर, उसका अभिव्यक्ति शैली हेरेर र त्यसपछाडि त्यो सम्भव हुने काम गरिराखेको छ कि छैन भन्ने खालका कुरा हेरेर मतदान गर्ने पुस्ता आइसक्यो । 

पहिला पो तपाईंले गरेको अपिल जनताले सुन्थे र भोट दिन्थे त । अहिले त कसले सुन्छ र ?

–त्यसले हामी कहाँ चुक्यौँ भन्ने आत्मसमीक्षा गर्नु र सुध्रिएर जानुभन्दा त अर्को विकल्प केही छैन । 

सच्चिन त पहिला बिग्रिएको कुरा महसुस हुनुपर्ला नि त । बिग्रिएको कुरो नै अनुभूति नगरेपछि सच्याउने ठाउँ हुन्छ र ? 

–अहिलेसम्म हामी बिग्रियौँ भन्ने खालको अनुभूति सिंगो संस्थागत हिसाबले भएको छैन । कहाँ–कहाँ, कसरी सच्याउने भन्ने खालको कुराको त्यो तहको बहस भएको छैन । 

एमालेको निर्वाचन परिणामबारे केही आकलन गर्न सकिन्छ ? 

–एकदमै निराश नै हुनुपर्ने खालको नतिजा आउँछ भन्ने मलाई लाग्दैन । निर्वाचन आउन अझै पनि केही समय बाँकी छ । यही बिचमा पनि नागरिकले अभिव्यक्त गरेका कुराबाट हामीले अलिकति करेक्सन भएर जाने प्रयत्न गर्नुपर्छ भन्ने लाग्छ । अब भएन भने त नतिजा जे आउँछ त्यसपछाडि समीक्षा गरौँला ।

निर्वाचन भाँड्न एमाले किन लागेको नि ?

–कहाँ भाँड्न लागेको छ ? नचाहिने–नचाहिने कुरा नगर्नुस् न तपाईंहरू । अहिले सबैभन्दा धेरै निर्वाचन नै हाम्रो अध्यक्षलाई लागेको छ । सबैभन्दा व्यस्त नै उहाँ हुनुहुन्छ । 

पहिला नै प्रधानमन्त्री घोषणा गरेर जाने अभ्यास ठिक हो ?

–प्रधानमन्त्री घोषणा गरेर जाने कुरालाई सकारात्मक हिसाबले लिन्छु । तर ०५६ सालको जस्तोचाहिँ नहोस् । प्रधानमन्त्रीको क्यान्डिडेट भएर घोषणा भइसकेपछि उहाँहरूले बोल्ने भाषा, उहाँहरूले दिने सन्देश, उहाँहरूले दिने योजना १६५ वटै क्षेत्रलाई प्रभावित गर्नुपर्छ । किनभने उहाँहरू एक्लैले जितेर त सरकार बन्दैन नि । 

रास्वपाबारे तपाईंको प्रतिक्रिया ? तपाईंकै अध्यक्षसँग भिडिराछन् बालेन्द्र शाह ।

–सबैसँग भिड्या छन् नि । हाम्रो पनि १६४ र रास्वपाको पनि १६४ क्षेत्रमै उम्मेदवार छन् । सबै क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा नै छ । नेकपाको कति छ मलाई अहिले एक्ज्याक्टली थाहा भएन । एउटा कुराचाहिँ के हो भने निर्वाचनमा जाँदा कोही कसैलाई पनि कसैले कमजोर ठान्नु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप