‘लालकिल्ला’ सिन्धुली–२ भित्र झर्न सक्छ विद्रोहको पहिरो
सारांश
- सिन्धुली-२ मा आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ, जहाँ कम्युनिस्टको वर्चस्व रहेको छ।
- यस क्षेत्रमा नेकपाका उम्मेदवारलाई बागी र अन्य दलहरूले चुनौती दिने सम्भावना रहेको छ।
- विभिन्न दलहरू र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले चुनावी नतिजा थ्रिलर बन्ने अनुमान गरिएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको चहलपहल सिन्धुली क्षेत्र नम्बर २ मा पनि बढेको छ । सिन्धुली–२ लाई कम्युनिस्टको ‘आधार इलाका’समेत भन्ने गरिन्छ ।
२०४८ सालदेखि २०७९ सम्मको संसदीय निर्वाचनको इतिहास हेर्दा सिन्धुली–२ वामपन्थीको वर्चस्व देखिन्छ, तर यस पटकको समीकरण विगतभन्दा भिन्न र रोचक छ ।
आगामी निर्वाचन सिन्धुली–२ मा दशकौँदेखि कायम रहेको राजनीतिक विरासत, नयाँ शक्तिको उदयले थप रोचक र प्रतिस्पर्धी बन्ने निश्चितजस्तै देखिएको छ ।
यहाँ १ लाख ४ हजार ६ सय २८ मतदाता रहेका छन् । यस क्षेत्रमा यसपटक ठुला दल, तिनका बागी र नयाँ शक्तिहरूको उदयले चुनावी परिणामलाई थ्रिलर चलचित्र जस्तै बनाइदिएको छ ।
सिन्धुलीमा २ वटा नगरपालिका र सात गाउँपालिका गरी जम्मा ९ स्थानीय तह छन् । सिन्धुली जिल्ला भित्री तराई तथा पहाडी भू–भागबाट बनेको छ । यहाँ सिन्धुली–२ मा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाका १–८ र १०–१२ वडाहरू पर्छन् ।
२०४८ सालदेखि २०७९ सालसम्मका निर्वाचन नतिजाहरूलाई नियाल्दा यहाँ कहिले नेपाली कांग्रेस र कहिले वामपन्थी दलहरू (एमाले र माओवादी) पालैपालो हाबी भएका देखिन्छन् ।
पछिल्लो समय वामपन्थी शक्तिहरू विशेषगरी माओवादी केन्द्रको बलियो पकड देखिएको छ । २०६४ यता भएका चार ठुला निर्वाचनमध्ये तीन पटक (२०६४, २०७४, र २०७९) माओवादीले जित हासिल गरेको छ भने २०७० मा मात्र कांग्रेसले बाजी मारेको थियो ।
पछिल्ला दुई निर्वाचनको परिणामलाई हेर्दा सिन्धुली–२ माओवादी केन्द्रका लागि सुरक्षित क्षेत्रजस्तै देखिन्छ, तर आगामी निर्वाचनमा भने नेकपालाई बागीले थप चुनौती थपेको छ ।
२०७९ को निर्वाचनमा माओवादीका लेखनाथ दाहाल (राजन), २०७४ को निर्वाचनमा माओवादीबाटै हरिबोल गजुरेल, २०७० मा कांग्रेसका मोहनप्रसाद बराल, २०६४ मा माओवादीका चन्द्रप्रसाद गजुरेल, २०५६ मा एमालेका शङ्करनाथ शर्मा अधिकारी, २०५१ मा कांग्रेसका हेमराज दाहाल र २०४८ मा कांग्रेसका प्रकाश कोइराला विजयी भएका थिए ।
पछिल्ला दुई निर्वाचनको परिणामलाई हेर्दा सिन्धुली–२ माओवादी केन्द्रका लागि सुरक्षित क्षेत्रजस्तै देखिन्छ, तर आगामी निर्वाचनमा भने नेकपाका दाहाललाई बागीले थप चुनौती थपेको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का दाहालले २७ हजार ५१७ मत प्राप्त गर्दै एमालेका मनोज जंग थापालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए ।
थापाले २१ हजार ६८७ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनोजकुमार दाहालले १ हजार ५५३ मत ल्याएर तेस्रो स्थान सुरक्षित गरेका थिए ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यस क्षेत्रमा माओवादी केन्द्रकै हरिबोल गजुरेल विजयी भएका थिए । उनले ३० हजार १७९ मत प्राप्त गर्दा कांग्रेसका नरेन्द्र जंग थापा १८ हजार १२७ मतमा खुम्चिएका थिए ।
सिन्धुली–२ को चुनावी इतिहास सधैँ एकनासको छैन । २०४८ र २०५१ को आम निर्वाचनमा यहाँ कांग्रेसले लगातार जित निकालेको थियो । २०४८ मा प्रकाश कोइराला र २०५१ मा हेमराज दाहाल यहाँबाट सांसद चुनिएका थिए । तर २०५६ मा एमालेका शङ्करनाथ शर्मा अधिकारीले कांग्रेसको विरासत तोड्दै जित निकाले । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रप्रसाद गजुरेलले भारी मतका साथ जित हासिल गरेका थिए ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा फेरि समीकरण बदलियो । त्यतिबेला कांग्रेसका मोहनप्रसाद बरालले माओवादीका गङ्गानारायण श्रेष्ठलाई पराजित गर्दै कांग्रेसलाई पुनरागमन गराएका थिए ।
गठबन्धनको अन्त्य र एकल प्रतिस्पर्धा
२०७९ सालको आम निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच बलियो चुनावी गठबन्धन थियो । सोही समीकरणका कारण माओवादीका दाहालले सहजै जित हासिल गरेका थिए । तर यसपटक परिस्थिति फेरिएको छ । प्रमुख दलहरू कांग्रेस, एमाले र नेकपा सबै एकल रूपमा चुनावी मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा ५ हजार मतान्तरले पराजित भएका एमालेका मनोज जंग थापा यसपटक पुरानो साख फर्काउने दाउमा पुनः उम्मेदवार बनेका छन् । माओवादी आफ्नो लालकिल्ला जोगाउन संघर्षरत छ । तर पुराना दलले पुराना अनुहारलाई नै दोहोर्याएर उम्मेद्वार बनाएको छ ।
यता माओवादी केन्द्र (नेकपा) बाट पनि अघिल्लै उम्मेदवार दोहोरिएका छन् । कांग्रेसले समेत नयाँ अनुहारभन्दा स्थापित नेतामै भरोसा गरेको छ । यद्यपि दलहरू एकल रूपमा भिड्दा यहाँ परम्परागत मत विभाजन हुने निश्चित छ, जसले साना र स्वतन्त्र उम्मेदवारहरूलाई निर्णायक बनाउन सक्छ ।
नेकपाभित्रको आन्तरिक विद्रोह
सिन्धुली–२ लाई ऐतिहासिक रूपमा माओवादीको पकड क्षेत्र मानिन्छ । बागी उम्मेदवारका कारण यसपटक नेकपा अफ्ठ्यारोमा छ । २०७९ को निर्वाचनमा विजय भएका राजनलाई नयाँ पार्टीसँगै आफ्नै दलको बागीले समस्या बनाएको छ ।
आधिकारिक उम्मेदवार राजनविरुद्ध उनकै सहयात्री महेश्वरले बागी उम्मेदवारी दर्ता गराएपछि नेकपाको आन्तरिक विवाद सतहमा आएको हो ।
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्षसमेत रहेका महेश्वरलाई पार्टीको एउटा प्रभावशाली तप्काको समर्थन छ । विशेषगरी सोही क्षेत्रबाट दुई पटक निर्वाचन जितेका र पूर्वमन्त्री भइसकेका हेभिवेट नेता हरिबोल गजुरेलले महेश्वरको प्रस्तावक बनेर राजनलाई ठुलो चुनौती दिएका छन् ।

जिल्ला इन्चार्ज वसन्त माझी र संयोजक पानीराज बम्जनको समेत साथ पाउनुले महेश्वर केवल विद्रोही नभई संस्थापन पक्षकै विकल्पका रूपमा देखिएका छन् ।
२०६४ को निर्वाचनमा लिलामणि पोखरेलविरुद्ध निरु दर्लामीले बागी उठेर जितेको इतिहास सिन्धुलीमा छ । यदि त्यही इतिहास दोहोरिए आधिकारिक उम्मेदवार राजनका लागि यो निर्वाचन निकै कष्टकर हुने देखिन्छ ।
गत स्थानीय तहमा पनि सुनकोशी गाउँपालिकामा माओवादीबाट दीपा बोहोरा दाहालले ५ हजार ३७६ मत ल्याएर जितेकी थिइन् । त्यस्तै मरिण गाउँपालिकामा पनि माओवादीका विमर्स मुक्तानले ५ हजार १९४ मत ल्याएर जितेका थिए ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा पनि माओवादीका बज्र ध्वज वाइवाले ४ हजार ७ २९ मत ल्याएर जितेका थिए । यसरी तीन गाउँपालिका नै माओवादीले जितेको क्षेत्र भएकाले बलियो दाबेदारी मानिएको छ ।
एमालेको रणनीतिक दाउ र मनोज जंग थापाको व्यक्तित्व
एमालेले यसपटक दोहोर्याएर मनोजजंग थापालाई नै मैदानमा उतारेको छ । कूटनीतिक अनुभव, बौद्धिक छवि र इन्जिनियरिङ पृष्ठभूमि भएका थापाले अघिल्लो निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै लड्दा पनि २१ हजार ६ सय ७८ मत प्राप्त गरेका थिए ।
आगामी निर्वाचनमा नेकपा बागी उम्मेदवारी परेकाले भोट काटिने आकलन छ । त्यसकै फाइदा एमालेका थापालाई हुन सक्छ ।
२०७९ को समानुपातिक मत परिणाममा एमाले १७ हजार १ सय ४९ मतका साथ पहिलो स्थानमा थियो । यस तथ्यांकले एमालेको सांगठनिक मत सिन्धुली–२ मा सबैभन्दा बलियो भएको देखाउँछ । नेकपाको मत विभाजित हुँदा त्यसको प्रत्यक्ष फाइदा थापालाई पुग्न सक्छ । थापाले यसपटक केवल राजनीतिक नारा होइन, नीतिगत सोच र प्रगतिशील रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका छन्, जसले शिक्षित र तटस्थ मतदातालाई आकर्षित गर्न सक्ने देखिएको छ ।
२०४० सालमा कमला मावि ढुङ्ग्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट वामपन्थी राजनीति यात्रा सुरु गरेका थापा अखिल भारत नेपाल विद्यार्थी संघको महासचिव हुँदै राजनीतिमा अगाडि आएका थिए । थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्छन् ।
कांग्रेसको उपस्थिति र सुशीला थिङको चुनौती
नेपाली कांग्रेसकी सुशीला थिङ पनि यसपटकको प्रतिस्पर्धामा त्रिकोणात्मक भिडन्त बनाउने प्रयासमा छिन् । अघिल्लो निर्वाचनमा गठबन्धनका कारण माओवादीलाई सघाएको कांग्रेसले यसपटक आफ्नै उम्मेदवार उठाएको छ ।
अघिल्लो चुनावमा समानुपातिक सांसद थिङ यसपटक प्रत्यक्ष तर्फको चुनावी मैदानमा होमिएकी छन् । विघटित प्रतिनिधि सभामा उनी कांग्रेसको सचेतकसमेत थिइन् ।
समानुपातिकतर्फ १३ हजार ३ सय ४९ मत प्राप्त गरेको कांग्रेसको मत यसपटक कता जान्छ भन्ने कुराले पनि निर्णायक भूमिका खेल्नेछ । थिङका लागि पार्टीभित्रको एकता कायम राख्दै वामपन्थी मत विभाजनको फाइदा उठाउनु मुख्य चुनौती हुनेछ ।
रास्वपाबाट पूर्वाधारविज्ञ गजुरेल
आगामी निर्वाचनमा सबैभन्दा बढी सरप्राइज रास्वपाका आशिष गजुरेलले दिन सक्ने आकलन गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा सफल कार्यकाल बिताएका गजुरेलले निर्वाचनका लागि पदबाट राजीनामा दिए चुनावी मैदानमा होमिएका छन् ।
पूर्वाधार तथा प्राविधिक विज्ञता र युवा जोश बोकेका गजुरेल नेता हरिबोल गजुरेलका भतिजा हुन् । उनले विशेषगरी सहरी क्षेत्र र परिवर्तन चाहने युवा मतदाताको मत काट्ने निश्चित छ । नेपालको यातायात क्षेत्र सुधारमा उनी सक्रिय रहँदै आएका छन् । उनको कार्यकालमा चोभारको सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
विशेषगरी प्रलोपाका उम्मेदवार पूर्वमाओवादी नै भएकाले उनले पनि नेकपाकै आधारभूत मतमा धक्का पुर्याउने देखिन्छ । स्वतन्त्र उम्मेदवारहरू खड्ग बहादुर वाइबा र नरहरि पौडेल लगायतको उपस्थितिले पनि यहाँ ठुला दलको गणित बिगार्न सक्छ ।
२० वर्षदेखि रोकिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य उनकै पहलमा सुरु भएको छ । उनले कार्यभार सम्हाल्नुअघि वार्षिक ८० करोड रुपैयाँ आम्दानी गर्ने गरेको समितिलाई आफ्नो कार्यकालमा १८० करोड रुपैयाँ आम्दानी गर्ने स्तरमा पुर्याएका छन् ।
अघिल्लो निर्वाचनमा रास्वपाले करिब ४ हजार समानुपातिक मत ल्याएको थियो । २०७९ को निर्वाचनमा रास्वपाका अनोज कुमार दाहालले १ हजार ५५३ ल्याएका थिए, जुन यसपटक निकै बढ्ने अनुमान छ । यदि उनले उल्लेख्य मत ल्याएमा त्यसको प्रत्यक्ष नोक्सान कांग्रेस र नेकपालाई हुने देखिन्छ ।
यहाँ कुल १६ जना उम्मेदवार छन् । राप्रपाका मुकुन्द प्रसाद गजुरेल, नेमकिपाकी रामेश्वरी कोजु र प्रलोपाका निर्मल कुमार स्याङतानले पनि आ–आफ्नो प्रभाव क्षेत्रमा मत काट्नेछन् ।
विशेषगरी प्रलोपाका उम्मेदवार पूर्वमाओवादी नै भएकाले उनले पनि नेकपाकै आधारभूत मतमा धक्का पुर्याउने देखिन्छ । स्वतन्त्र उम्मेदवारहरू खड्ग बहादुर वाइबा र नरहरि पौडेल लगायतको उपस्थितिले पनि यहाँ ठुला दलको गणित बिगार्न सक्छ ।
विगतको मत परिणाम विश्लेषण
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली–२ मा नेकपा माओवादीका राजन पाँचदलीय गठबन्धनबाट निर्वाचित भएका थिए, उनले २७ हजार ५१७ मत ल्याएर विजया भएका थिए ।
समानुपातिकतर्फ भने यहाँ एमाले पहिलो पार्टी बनेको थियो, एमालले समानुपातिकतर्फ १७ हजार १४९, माओवादी १५ हजार ८२६ र तेस्रोमा कांग्रेसले १३ हजार ३४९ मत ल्याएको थियो । चौथोमा रास्वपा थियो । रास्वपाले ३ हजार ९५४ मत ल्याएको थियो ।
एमालेका मनोज जंग थापाले २१ हजार ६७८ मत ल्याएर दोस्रो भएका थिए । त्यस्तै रास्वपाले अनोज कुमार दाहालले १ हजार ५५३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले १३४० मत ल्याएका थिए ।
त्यस्तै समानुपातिकतर्फ भने यहाँ एमाले पहिलो पार्टी बनेको थियो, एमालले समानुपातिकतर्फ १७ हजार १४९, माओवादी १५ हजार ८२६ र तेस्रोमा कांग्रेसले १३ हजार ३४९ मत ल्याएको थियो । चौथोमा रास्वपा थियो । रास्वपाले ३ हजार ९५४ मत ल्याएको थियो ।
उक्त मतका आधारमा आगामी निर्वाचनमा तत्कालीन माओवादी र हाल नेकपाका उम्मेदवार राजन दाहाललाई थप चुनौती देखिएको छ ।
विगतको परिणामले के स्पष्ट पार्छ भने सिन्धुली–२ मा एमाले सांगठनिक रूपमा बलियो छ, तर माओवादी र कांग्रेसको मत जोडिँदा एमाले पछि पर्छ । तर अहिले कांग्रेस र माओवादी अलग छन् र माओवादी आफैँभित्र विभाजित छ । यस्तो अवस्थामा १७ हजारको बेस मत भएको एमाले र विद्रोहको राप बोकेको माओवादीको बागी पक्षबिचको प्रतिस्पर्धाले नयाँ मोड लिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण