आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

'प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ'

निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राख्दैनौं  : एसपी रिजाल
बिहीबार, २२ माघ २०८२, ०९ : २१
बिहीबार, २२ माघ २०८२

सारांश

  • रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्ने प्रतिबद्धता जनाए।
  • प्रहरीले निर्वाचनका बेला हुने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष रणनीति बनाउने भएको छ।
  • पत्रकारहरुले उठाएका विभिन्न गुनासोको जवाफ दिँदै एसपी रिजालले सुरक्षा व्यवस्था सुदृढ पार्ने बताए।

रौतहट । रौतहट प्रहरी प्रमुख एसपी  सिताराम रिजालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिने प्रतिबद्धता जनाएका छन्।

प्रहरी संगठन इमान्दार र व्यावसायिक ढंगले जनताको अपेक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै एसपी रिजालले विगतका अनुभवलाई ध्यानमा राख्दै यसपटक विशेष रणनीति अपनाइने बताए। “पहिले निर्वाचनका बेला बाकस बोकेर भाग्ने जस्ता घटना भएका स्थानहरूमा विशेष निगरानी र सुरक्षा सतर्कता बढाइनेछ,” उनले भनेका छन्।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार दुरुपयोग हुन सक्ने आशंकाले यसपटकको निर्वाचन थप चुनौतीपूर्ण बनेको उनको भनाइ थियो। “प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ,” भन्दै उनले गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिहरूलाई जाहेरीका आधारमा नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।

कार्यक्रममा उपस्थित पत्रकारहरूले निर्वाचन सुरक्षासँग जोडिएका विभिन्न विषयमा प्रश्न उठाएका थिए। ट्राफिक व्यवस्थापन कमजोर भएको, भारतीय नम्बर प्लेटका सवारीसाधन निर्वाचनमा प्रयोग हुने गरेको, सीमावर्ती क्षेत्रमा अवैध मदिरा बिक्री खुला रहेको जस्ता गुनासाहरू राखिएका थिए। त्यस्तै, समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, युवाहरूको तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्तिले दुर्घटना बढाएको, ड्युटीमा खटिएका प्रहरी नागरिकभन्दा व्यापारीप्रति बढी केन्द्रित हुने गरेको आरोप पनि उठ्यो।

उजुरी दर्तामा ढिलासुस्ती, आर्थिक चलखेलको आशंका, करणी सम्बन्धी मुद्दामा अनुसन्धान सुस्त भएको, अदालतका आदेश कार्यान्वयनबारे स्पष्ट जानकारी नदिइने जस्ता विषय पनि पत्रकारहरूले उठाएका थिए। सीमाक्षेत्र हुँदै हतियार तथा मदिरा तस्करी, भन्सार जाँच फितलो, डिजे बाजामा अश्लील गीत बजाउने प्रवृत्तिले सामाजिक वातावरण बिगारेको विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।

जवाफमा एसपी रिजालले चुनावविरोधी गतिविधि रोक्न आवश्यक सबै सुरक्षा उपाय अपनाइने बताए। होली पर्वसमेत सुरक्षाका दृष्टिले संवेदनशील हुने भएकाले विशेष निगरानी गरिने उनले जानकारी दिए। सीमा नाकामा चेकजाँच कडा बनाइने, ट्राफिक व्यवस्थापन सुधार गरिने र समुदायसँग सहकार्य बढाइने उनको प्रतिबद्धता थियो।

उनले प्रहरीको कामकारबाहीमा ढिलासुस्ती वा लापरबाही भेटिए सह्य नहुने चेतावनी दिँदै नागरिकलाई कुनै समस्या परे नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेका छन्। कार्यक्रममा एसपी सिताराम रिजाल संगै जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप