सामाजिक सञ्जालमा जुन किसिमको विकृति देखिन्छ, त्यो डरलाग्दो छ
समाजमा भइरहेका गतिविधि र कलाकारमाथि हुने प्रहार देख्दा मनमा अनेक कुरा खेलिरहन्छन्। अहिले समय यस्तो आएको छ कि, यदि कुनै कलाकारले आफ्नो फरक विचार राख्यो भने उसमाथि तुरुन्तै प्रहार हुन थाल्छ।
धेरैले प्रश्न गर्छन्, ‘के कलाकारले राजनीति गर्नै नहुने हो ?’ मलाई लाग्छ, नेपालजस्तो मुलुकमा हामी कोही पनि राजनीतिबाट टाढा रहनै सक्दैनौँ। मानौँ, भोलि मलाई मेरो क्षमताले भ्याएर चलचित्र विकास बोर्डको अध्यक्ष बन्न मन लाग्यो रे ! म जतिसुकै तटस्थ व्यक्ति भए पनि त्यहाँ पुग्नका लागि कुनै न कुनै पार्टीको आड लाग्नैपर्ने बाध्यता छ।
यहाँ तपाईँको अनुभव र क्षमताभन्दा पनि तपाईँ ‘कुन पार्टीको हो’ भन्ने कुराले बढी अर्थ राख्छ। त्यसैले, तपाईँले ‘म राजनीति गर्दिनँ’ भने पनि अप्रत्यक्ष रूपमा तपाईँ राजनीतिमै हुनुहुन्छ। घर सम्हाल्ने आमादेखि समाजको हरेक वर्ग राजनीतिबाट अछुतो छैन।
हामी परिवर्तन चाहन्छौँ, तर मान्छे तटस्थ हुन पाउनुपर्छ भन्ने कुरा बिर्सन्छौँ। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै आफ्नो विचार राख्न पाउनु हो। तर विडम्बना, नेपालमा आफ्नै स्पष्ट दृष्टिकोण भएका मान्छे कम र अरूको लहैलहैमा लाग्नेहरू धेरै छन्। प्रकाश सपुतजीकै उदाहरण हेरौँ, उहाँको एउटा अभिव्यक्तिपछि कस्तो प्रतिक्रिया आयो ? आजकल ‘बहिष्कार’ भन्ने शब्दलाई यति सस्तो बनाइएको छ कि कुरै नगरौँ।
हामी कलाकार हौँ, सिनेमा बनाउँछौँ, तर त्योभन्दा अगाडि हामी यही समाजका हिस्सा हौँ। कुनै कलाकारले एमालेको गीत गाउला, कसैले रास्वपा वा बालेनको पक्षमा बोल्ला; त्यो उसको व्यक्तिगत अधिकार हो। तर, यसो गर्ने बित्तिकै सामाजिक सञ्जालमा जुन किसिमको विकृति देखिन्छ, त्यो डरलाग्दो छ। म त त्यस्ता नकारात्मक टिप्पणी गर्नेहरूको ‘स्क्रिनसट’ नै गरेर राखिदिन्छु। चुप लागेर बस्नु भनेको यस्तो प्रवृत्तिलाई प्रश्रय दिनु हो।
मैले केही समयअघि झापाको ‘मासुभात’ र शाकाहारी भोजनको विषयमा एउटा व्यङ्ग्यात्मक स्ट्याटस लेखेकी थिएँ। त्यो कुनै एउटा पार्टी वा एमालेलाई मात्र लक्षित थिएन। जसले आफूलाई ‘मासुभातमा बिक्ने’ ठान्छ, उसैलाई रिस उठ्छ। म भन्छु– आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नुस्, नडराई लेख्नुस्। कतिपय कलाकार बहिनीहरूले सामाजिक सञ्जालमा माफी मागेको देख्दा मलाई दुःख लाग्छ। तपाईँ कसको अगाडि माफी मागिरहनुभएको छ ? ती मान्छेहरू, जसले तपाईँको चलचित्रसम्म हेरेका छैनन् र जो केवल सामाजिक सञ्जालमा हल्ला फैलाउन बसेका छन् ?
गाली गर्नेहरूको प्रोफाइल हेर्नुभयो भने धेरैजसो नक्कली वा भर्खरै गाली गर्नकै लागि खोलिएका परिचयविहीन (फेसलेस) एकाउन्टहरू हुन्छन्। उनीहरूको जीवनमा कति धेरै कुण्ठा, बेरोजगारी र दुःख होला, जसको रिस उनीहरू हामीमाथि पोख्छन्। त्यस्ता मान्छेहरूसँग आफ्नो ऊर्जा खेर फाल्नु बेकार छ। यदि कसैलाई मेरो विचारसँग असहमति छ भने आफ्नो वास्तविक परिचयसहित आएर सभ्य बहस गरोस् न, परिचय लुकाएर त जो पनि भुक्न सक्छ नि !
(अभिनेत्री ऋचा शर्मासँग कुबेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण